विराटनगरः विराटनगरको सुशीला कोइराला नाटकघर आरोहण गुरुकुलमा बुधबारदेखि अन्तर्राष्ट्रिय नाटक महोत्सव शुरु भएको छ ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले एक औपचारिक कार्यक्रमबीच महोत्सवको उद्घाटन गरेका छन् । महोत्सवमा ६ देशको सहभागिता रहेको छ । महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री राईले भने, ‘समाज र संस्कृतिलाई जोड्ने एक प्रमुख आधार नाटक पनि हो । अन्तर्राष्ट्रिय रूपमा कलाकारहरू एकै ठाउँमा भेला भई कला प्रदर्शन गर्नु गर्वको विषय हो ।’ मुख्यमन्त्री राईले सांस्कृतिक विकासका लागि प्रदेश सरकारले निरन्तर सहयोग गर्ने बताए ।
प्रदेशको अस्थायी राजधानीमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको महोत्सव आयोजना भएको हो । फागुन १४ गतेदेखि १० दिनसम्म चल्ने महोत्सवमा नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान र इटालीका कलाकारले नाटक प्रदर्शन गर्नेछन् । महोत्सवमा दैनिक एक–एकवटा नाटक मञ्चन गरिने आरोहण गुरुकुलले जनाएको छ । नेपालका भने ५ वटा नाटक मञ्चन गरिने भएको छ ।
उद्घाटन कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले भाषा, कला र साहित्यलाई संरक्षण गर्न महानगरको सदैव सहयोग रहने बताउँदै विराटनगरमा पहिलो पटक आयोजना भएको महोत्सवले अन्तर्राष्ट्रिय रूपमा पनि प्रभाव राख्ने बताए ।
विराटनगर महानगरपालिका र प्रदेश सरकारको समेत सहयोगमा आयोजना गरिएको महोत्सवमा करिब ४५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । गुरुकुलका महासचिव विवश पोखरेलका अनुसार महोत्सवमा एक सय जति विदेशी र त्यत्ति नै सङ्ख्यामा नेपाली कलाकार, नाट्य निर्देशक र लेखक सहभागी हुनेछन् ।
इटालीका कलाकारले तीन दिने नाट्य कार्यशालासमेत सञ्चालन गर्ने तयारी छ । पुस्तक र चित्रकला प्रदर्शनी, रङ्गकर्मी र रङ्गमञ्चबारे अन्तरक्रिया पनि हुनेछ ।
पहिलो दिन बुधबार ‘विराट पर्व’ नाटक मञ्चन गरेर महोत्सव शुभारम्भ गरिएको छ । फागुन १६ गते बङ्गलादेशको ‘मातब्रिङ’, १७ गते इटालीको ‘डिसापारासिड ओएस ४३’ फागुन १८ गते भारतको ‘चम्पावती’ फागुन १९ गते श्रीलङ्काको ‘लभ एन्ड लाइफ’ फागुन २० गते झोराहाट नाट्य समूहको घरभित्रको अर्को घर, २१ गते परिवर्तन थिएटर काकरभिट्टाको बिटुलो आख्यान, फागुन २२ गते अफगानिस्तानको ता राहाये, फागुन २३ गते परिवर्तन थिएटर उदयपुरको देश बनाउँछु भन्नेहरू र फागुन २४ गते कदम थिएटर दमकको गैंडा टाइम्स मञ्चन गरिने भएको छ ।
महोत्सव उद्घाटन कार्यक्रममा प्राज्ञ दधिराज सुवेदीले बीपी कोइरालाकी श्रीमती सुशीला कोइरालाले राणाकालका प्रतिबन्धित समयमा पनि आफू भारतको पटनामा गई नाटक सिकेर आई महिलाले बाहिरी रूपमा नाटक खेल्न नपाउने समयमा शहीद रंगशालामा प्रदर्शन गरेको जानकारी दिए ।
भने, ‘नाटकको विकासमा उसबेला सुशीला कोइरालको ठूला भूमिका थियो । त्यही भएर विराटनगरमा उनको नाममा नाटक घर निर्माण भएको हो ।’ नेकपाका केन्द्रीय सदस्य विनोद ढकालले विराटनगर नाटक र कलाको विकासमा अग्रणी रहेको चर्चा गरे ।