विराटनगरः भाषाशास्त्री बालकृष्ण पोखरेलको विराटनगरस्थित परोपकार घाटमा दाहसंस्कार गरिएको छ ।

दाहसंस्कार स्थलमा पुगेर विराटनगर महानगरपालिकाका मेयर भीमप्रसाद पराजुलीले पोखरेलको मृत्युले नेपाली भाषा र साहित्यको क्षेत्रमा अपुरणीय क्षति पुगेको बताए । भाषासेवी पोखरेलको निधनमा शोक व्यक्त गर्दै महानगरपालिकाले पर्सि मङ्गलबार सार्वजनिक बिदा दिने उनले बताए ।

त्यस्तै, सामाजिक विकास मन्त्री जीवन घिमिरेले पोखरेलको शवमा राष्ट्रिय झण्डा ओढाएका थिए । साहित्यकार खेम नेपाली र दधिराज सुवेदी तथा भाषाशास्त्री टङ्क न्यौपानेले पोखरेलले नेपाली भाषा र साहित्यको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।

पोखरेलको शवमा एकमात्र छोरा मुनाल पोखरेलले दागबत्ती दिएका थिए । स्वर्गीय पोखरेलका १ जना छोरा र ३ जना छोरी रहेका छन् । पोखरेलको उपचारको क्रममा आज बिहान १ बजे निधन भएको थियो ।

१ सय १५ कृति प्रकाशित
पोखरेलका १ सय १५ कृति प्रकाशित भएका छन् । खस जातिको इतिहास, ५ सय वर्ष र नेपाली वृहत् शब्दकोष आदि उनका चर्चित कृति हुन् ।

बाबु सुब्बा शारदा पोखरेल र आमा कृष्ण छायाँदेवीका सुपुत्रका रूपमा मकवानपुरको चिसापानीगढीमा वि.सं १९९० भाद्र कृष्णाष्टमीका दिन पोखरेलको जन्म भएको थियो । रूपावासी, वसन्त, वत्सल, इसावापुर, लक्ष्मीविलास, पोखरेल, गढतिरे साँहिलो, हिमालपाने बराल आदिजस्ता उपनामबाट पनि उनले नेपाली साहित्यमा कलम चलाएका थिए ।

स्व पोखरेल कलकत्ता विश्वविद्यालयबाट भाषाशास्त्रमा स्नातकोत्तर उपाधि प्राप्त गरी वि. सं २०१९ देखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन कार्यमा संलग्न थिए । विसं २०२७ देखि २०३६ सम्म महेन्द्र मोरङ र पछि स्नातकोत्तर क्याम्पसमा प्राध्यापन गरेका पोखरेलले विसं २०४६ मा अवकाश लिएका थिए ।

वि. सं २०३६ देखि २०४१ सम्म तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य रहेका पोखरेल विभिन्न भाषिक तथा साहित्यिक संस्थामा आबद्ध थिए ।

balkrishana pokhrel dahsanskar (1)