विराटचोक/ खाउँखाउँ र लाउँलाउँको उमेरमा मृगौलापीडित भएर जीवन बिताइरहेकी युवतीलाई एक सामाजिक संस्थाले उपचारको लागि आर्थिक सहयोग गरेको छ । झापाको बिर्तामोडमा रहेको बच्छलादेवी सोसियल फाउण्डेसनले मृगौलापीडित रञ्जना निरौलाको उपचारको सहयोगको लागि आइतबार १५ हजार रुपैयाँ सहयोग गरेको छ ।

भोजपुर माइती भएकी उनको उमेर भर्खर २० वर्ष पूरा भएको छ । २ वर्षअघि मोरङको सुन्दरहरैंचा–११ निवासी इन्द्रबहादुर निरौलासँग भागी विवाह गरेकी उनका दुवै मृगौला खराब भएपछि निरौला परिवारले कष्टपूर्वक जीवन बिताइरहेको छ । इन्द्रबहादुर ट्याक्टर चलाउँछन् । तर श्रीमती बिरामी भएपछि उनलाई पनि काममा जान समस्या भएको छ । रञ्जनाको पेटदेखि खुट्टासम्म सुन्निएको छ । ‘खुट्टा सबै सुन्निएर हिँड्न र चप्पल लगाउन नै गाह्रो हुन्छ,’ आइतबार बिहान सुन्निएको खुट्टामा औंलाले थिचेर देखाउँदै उनले भनिन्, ‘मेरो रोगको बारेमा थाहा नपाउनेले मेरो पेट देखेर मलाई गर्भवती भन्ने ठान्छन् ।’

mrigaua pidit (1)

३ लाख सकियो, उपचारमा समस्या
निरौलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डायलोसिस हुने गरेको छ । हालसम्म ३ लाख रुपैयाँ खर्च भइसकेको इन्द्रले बताए । सहयोगी दातासँग सहयोग माग्दै उपचार गरिरहेको उनले बताए । आफ्ना साहु (ट्याक्टर मालिक) तेजप्रसाद सिटौलाले बेलाबेलामा आर्थिक सहयोग गर्ने गरेको उनले बताए । सलकपुरका स्थानीयले सहयोग सङ्कलन गरेर यसअघि ८ हजार रुपैयाँ दिएको र अझै पनि सहयोग गर्ने आश्वासन दिएको निरौला बताउँछन् । निरौलाको उपचारको लागि वडा कार्यालय र नगरपालिकाले ५÷५ हजार रुपैयाँ सहयोग गरेको बताउँदै उनले भने, ‘कोसँग सहयोग माग्ने के गर्ने भन्ने केही थाहा छैन ।’

१५÷२० दिनमा डायलोसिसको लागि पालो आउने गरेको रञ्जनाले बताइन् । ‘डायलोसिस गरेको ५÷६ दिनसम्म खुब भोक लाग्छ । के खाउँ के खाउँ हुन्छ, त्यसपछि भने खान मन लाग्दैन’, आइतबार फाउण्डेसनको सहयोग रकम लिइसकेपछि रुँदै उनले भनिन्, ‘म बाँच्न चाहन्छु । तर आर्थिक समस्याले गाह्रो परेको छ ।’ आफूलाई आमाले र दिदीले एउटा मृगौला दिने भनेर वचन दिइसके पनि रक्तसमूहलगायतका अन्य परीक्षण गर्न भने बाँकी रहेको उनले बताइन् ।

mrigaua pidit (4)

कार्यक्रमस्थलमै सुरज बिष्ट, कृष्ण लामिछाने, राजकुमार राउत लगायतले आर्थिक सहयोग गरेका थिए । कार्यक्रममा उपस्थित सांसद लोकप्रसाद सङ्ग्रौलाले आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्ने र पीडित युवतीको ज्यान बचाउने जनाए । ‘मुख्य कुरा त मृगौला पाउनुप¥यो’ रञ्जनातर्फ सङ्केत गर्दै उनले भने, ‘मृगौला दिने मान्छे तयार पार्नुहोस् । बाँकी आर्थिक सहयोग जुटाउन म पनि लागि पर्नेछु । टोलवासीले एउटा समूह बनाएर आर्थिक सहयोग जुटाउनुपर्छ ।’

स्थानीय भजन कीर्तन समूहले पनि उनलाई सहयोग गरेको अनिता ज्ञवालीले बताइन् । ‘मैले पहिलो पटक देख्दा उनलाई डोहो¥याइँदै लगिँदै थियो । पेट ठूलो देखेर डेलिभरीको लागि लगेको हो, ढिलो भइसकेजस्तो छ भनेँ,’ उनले भनिन्, ‘त्यसपछि त यी बहिनी रोइन् । दिदी मेरो दुइटै मृगौला खराब छ । गर्भवती छैन भनेपछि म त छक्क परेँ ।’ त्यसपछि भजनकीर्तनमा सङ्कलनमा भएको रकम उनको उपचारको लागि दिइएको ज्ञवालीले बताइन् ।

mrigaua pidit (6)

थापालाई पनि सहयोग
फाउण्डेसनले कष्टकर जीवन बिताइरहेकी सुन्दरहरैंचाकी ६९ वर्षीया कमला थापालाई पनि आइतबार नै ३ हजार रुपैयाँ सहयोग गरेको छ । फाउण्डेसनकी सदस्य निशा देउजाले दुवै जनालाई सहयोग रकम प्रदान गरेकी थिइन् । यसअघि फाउण्डेसनले मेचीनगर–११ धाइजन झापाका मृगौलापीडित नरेन्द्र मेचेलाई ९० हजार रुपैयाँ सहयोग गरेको उनले बताइन् । अष्ट्रेलिया बस्ने सुमन देउजाले सहयोग रकम सङ्कलन गरी पठाउने गरेको उनले बताइन् । फाउण्डेसनले यसअघि इटहरीका बाढीपीडित, रसुवा र नुवाकोटका भूकम्पपीडित तथा विभिन्न ठाउँका आगलागीपीडितलाई सहयोग गरेको देउजाले जानकारी दिइन् ।

mrigaua pidit (3)

mrigaua pidit (2)