इटहरीः सुदूरपश्चिम प्रदेशबाट प्रवेश गरेको पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण फेरि मुलुकभर वर्षा र हिमपात शुरु भएको छ ।
जम्मु काश्मिर हुँदै नेपाल प्रवेश गरेको मौसमको यो प्रणालीले पश्चिमबाट पूर्वतिर प्रभाव पार्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबारसम्म मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा तथा हिमपात र केही स्थानमा भारी वर्षा तथा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् बरुण पौडेलले मौसमको यो प्रणालीले पश्चिममा हिजो दिउँसोदेखि नै प्रभाव पारेको र आज बिहान काठमाडौंमा प्रवेश गरेको बताए । काठमाडौंभन्दा पश्चिमका क्षेत्रमा पानी परिरहेको र यो क्रम क्रमशः पूर्वतर्फ सरेको बताइएको छ । मौसमको यो अवस्था ३ दिनसम्म रहने सम्भावना देखेको उनको भनाइ छ ।
हिमाली क्षेत्रमा पनि व्यापक हिमपातको सम्भावना देखिएको छ । देशभरको मौसम भने आइतबार मात्रै सफा हुने महाशाखाले जनाएको छ ।