इनरुवाः सप्तकोसी नदीमा आवश्यक कानुनी व्यवस्था, सञ्चालन अनुमति र चालकको अनुमतिपत्रबिनै मोटरबोट सञ्चालन हुँदै आएको पाइएको छ। नदीमा मोटरबोट पल्टिँदा तीन जनाको मृत्यु भएपछि सुनसरी प्रशासनले सप्तकोसीमा सञ्चालन भइरहेका सबै मोटरबोटमाथि तत्कालका लागि रोक लगाएको छ।
मोटरबोट सञ्चालनको नियमन, प्राविधिक अवस्था, चालकको योग्यता र यात्रुको सुरक्षासम्बन्धी विषयमा अध्ययन गर्न प्रशासनले यस्तो निर्णय गरेको हो। पटक–पटक दुर्घटना भइरहँदा पनि जलयातायात सञ्चालनलाई व्यवस्थित गर्न आवश्यक कानुनी र नियामकीय व्यवस्था प्रभावकारी बन्न नसकेको विषय पछिल्लो दुर्घटनापछि पुनः सतहमा आएको छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले मोटरबोट सञ्चालनलाई व्यवस्थित र नियमन गर्न तत्कालका लागि प्रतिबन्ध लगाइएको जानकारी दिए। उनका अनुसार नदीमा सञ्चालन भइरहेका बोटहरूको अवस्था, प्राविधिक पक्ष र सञ्चालन प्रक्रियाबारे अध्ययन गर्न आवश्यक देखिएको छ।
‘नदीमा सञ्चालन भइरहेका बोटहरूको नियमन गर्ने उद्देश्यले तत्कालका लागि सञ्चालनमा प्रतिबन्ध लगाइएको हो। मोटरबोटको अवस्था, प्राविधिक पक्ष र अन्य विषयमा अध्ययन गर्न आवश्यक छ,’ प्रमुख जिल्ला अधिकारी अर्यालले भने।
प्रशासनको यो निर्णयसँगै सप्तकोसीमा यात्रु तथा पर्यटक ओसारपसार गर्दै आएका मोटरबोटको सञ्चालन प्रक्रिया, व्यवसायीको दर्ता, चालकको योग्यता र सुरक्षा मापदण्डबारे बहस सुरु भएको छ।
तीन जनाको मृत्यु, बेपत्ताको खोजी जारी
गत आइतबार धनकुटा, उदयपुर र सुनसरीको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोसी नदीमा मोटरबोट पल्टिँदा तीन जनाको मृत्यु भएको थियो भने तीन जना बेपत्ता भएका थिए।
दुर्घटनापछि बेपत्ताको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका गोताखोर परिचालन गरिएको छ। तर, समाचार तयार पार्दासम्म बेपत्ता व्यक्तिहरूको अवस्था पत्ता लाग्न सकेको थिएन।
दुर्घटनाले सप्तकोसीमा सञ्चालन भइरहेका मोटरबोटको सुरक्षा अवस्था, यात्रु बोक्ने क्षमताको पालना, चालकको दक्षता तथा आकस्मिक उद्धारको तयारीबारे गम्भीर प्रश्न उठाएको छ।
घटनाको तीन दिनपछि कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले दुर्घटनाको छानबिन गर्न प्रदेश सचिव आशमान तामाङको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको थियो।

छानबिन समितिले दुर्घटनाको कारण, सञ्चालनमा रहेका मोटरबोटको प्राविधिक अवस्था र सुरक्षा व्यवस्थाबारे अध्ययन गर्ने अपेक्षा गरिएको छ। यद्यपि, दुर्घटनाको वास्तविक कारण भने अनुसन्धानबाट पुष्टि हुन बाँकी छ।
मोटरबोट सञ्चालन कसको अधिकार क्षेत्रमा ?
सप्तकोसीमा मोटरबोट सञ्चालनको सबैभन्दा जटिल पक्ष यसको नियमन गर्ने निकाय र कानुनी अधिकार क्षेत्रको अस्पष्टता देखिएको छ।
प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार मोटरबोट सञ्चालनको नियमन सङ्घीय सरकार वा प्रदेश सरकारमध्ये कसको अधिकार क्षेत्रमा पर्ने भन्ने विषय स्पष्ट छैन। पानीजहाजसम्बन्धी कानुनबाट यसलाई नियमन गर्नुपर्ने भए पनि नदीमा सञ्चालन भइरहेका यस्ता बोटलाई प्रभावकारी रूपमा नियमन गर्ने स्पष्ट व्यवस्था नरहेको उनको भनाइ छ।
‘यो विषय पानीजहाजसम्बन्धी कानुनबाट नियमन हुनुपर्ने हो। तर, हामीसँग यसलाई स्पष्ट रूपमा नियमन गर्ने कानुनी व्यवस्था छैन। यसको नियमन सङ्घले गर्ने हो कि प्रदेशले भन्ने विषयमा पनि अन्योल छ,’ अर्यालले भने।
कानुनी स्पष्टताको अभावमा व्यवसायीहरूले आ–आफ्नै तरिकाले मोटरबोट सञ्चालन गर्दै आएको प्रशासनको बुझाइ छ। केही कम्पनीले स्थानीय तहमा दर्ता भएर करसमेत तिर्दै आएको आफूले सुनेको अर्यालले बताए।

त्यस्तै, पर्यटन कार्यालयमा समेत दर्ता हुने गरेको सुनिए पनि दर्ता प्रक्रिया र करसम्बन्धी व्यवस्थाबारे स्पष्ट जानकारी नरहेको उनले उल्लेख गरे।
यसले कम्पनी दर्ता वा स्थानीय तहमा व्यवसाय दर्ता हुनु र नदीमा यात्रु बोक्ने मोटरबोट सञ्चालनका लागि आवश्यक अनुमति प्राप्त गर्नु एउटै विषय नभएको देखाउँछ। व्यवसाय दर्ता, सञ्चालन अनुमति, प्राविधिक परीक्षण, चालकको योग्यता र यात्रुको सुरक्षासम्बन्धी जिम्मेवारी स्पष्ट नहुँदा नियमन प्रभावकारी बनाउन कठिनाइ भइरहेको छ।
सप्तकोसीमा २० भन्दा बढी मोटरबोट
व्यवसायीहरूका अनुसार सप्तकोसी नदीमा २० वटाभन्दा बढी मोटरबोट सञ्चालनमा छन्। चतरादेखि भोजपुरको सिम्लेसम्म करिब १० किलोमिटर क्षेत्रमा यात्रु तथा पर्यटक ओसारपसार गर्न मोटरबोट प्रयोग हुँदै आएका छन्।
त्यस्तै, नदीको दक्षिणी क्षेत्रमा पर्ने बोरा वनतर्फ करिब पाँच किलोमिटर दूरीमा पनि जलयातायात सञ्चालन हुने गरेको व्यवसायीहरूको भनाइ छ।
यसबाहेक सप्तकोसीका विभिन्न क्षेत्रमा पर्यटक घुमाउनसमेत मोटरबोट प्रयोग हुँदै आएका छन्। सप्तकोसीमा मात्र नभई नारायणी नदीलगायत अन्य नदीमा पनि यस्ता बोट सञ्चालन हुँदै आएका छन्।
नदीमा जलयातायात तथा पर्यटन गतिविधि विस्तार भइरहे पनि सञ्चालनमा रहेका बोटको सङ्ख्या, प्राविधिक अवस्था, यात्रु बोक्ने क्षमता, सुरक्षा उपकरण र चालकको योग्यतासम्बन्धी एकीकृत अभिलेख तथा नियमन कति प्रभावकारी छ भन्ने प्रश्न उठेको छ।
अनुभवका भरमा चालक, अनुमतिपत्रको व्यवस्था अस्पष्ट
मोटरबोट सञ्चालनमा चालकको योग्यता अर्को गम्भीर सवाल बनेको छ। सप्तकोसीमा मोटरबोट चलाउने चालकका लागि अनुमतिपत्र जारी गर्ने स्पष्ट व्यवस्था नरहेको व्यवसायीहरूले बताएका छन्।
केही चालकसँग विदेशमा काम गरेको अनुभव भए पनि अधिकांशले सहचालकका रूपमा काम गर्दै प्राप्त गरेको अनुभवका आधारमा चालकको जिम्मेवारी सम्हाल्ने गरेको उनीहरूको भनाइ छ।
नदी तथा पोखरीमा मोटरबोट चलाउने चालकको अनुमतिपत्र कहाँबाट र कसरी प्राप्त गर्ने भन्ने विषयमै अन्योल रहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए।
मोटरबोट सञ्चालनमा नदीको बहाव, पानीको गहिराइ, मौसम, बोटको क्षमता र आकस्मिक परिस्थितिको व्यवस्थापनसम्बन्धी ज्ञान आवश्यक हुन्छ। अनुभव मात्र पर्याप्त नहुने भएकाले चालकको दक्षता परीक्षण, तालिम र अनुमतिपत्रको व्यवस्था महत्त्वपूर्ण मानिन्छ।
तर, स्पष्ट कानुनी व्यवस्था र जिम्मेवार नियामक निकायको अभावमा चालकको योग्यता कसले परीक्षण गर्ने, अनुमतिपत्र कसले जारी गर्ने र सुरक्षा मापदण्डको अनुगमन कसले गर्ने भन्ने विषय अनिश्चित देखिएको छ।
यसले दुर्घटना रोकथाम, यात्रुको सुरक्षा र व्यवसायलाई व्यवस्थित बनाउने काममा चुनौती थपेको छ।
सप्तकोसीमा यसअघि पनि भएका छन् दुर्घटना
सप्तकोसी नदीमा मोटरबोट दुर्घटना भएको यो पहिलो घटना होइन। यसअघि पनि नदीमा भएका दुर्घटनाले मानवीय क्षति र सुरक्षासम्बन्धी चिन्ता बढाउँदै आएका छन्।

२०६७ साल भदौ २७ गते ‘सुन्नीमा’ जेटबोट दुर्घटना हुँदा बेपत्ता भएका रमेश कार्कीको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन।
त्यस्तै, २०८० साल कात्तिक १६ गते मोटरबोट पल्टिएको घटनामा सशस्त्र प्रहरीका गोताखोरको प्रदर्शनको रिपोर्टिङ गर्न पुगेका पाँच जना पत्रकार घाइते भएका थिए।
पटक–पटक दुर्घटना भए पनि मोटरबोट सञ्चालनको प्रभावकारी नियमन, चालकको अनुमतिपत्र, प्राविधिक परीक्षण र यात्रुको सुरक्षासम्बन्धी मापदण्ड सुनिश्चित हुन नसकेको विषय पछिल्लो दुर्घटनापछि फेरि चर्चामा आएको छ।
प्रतिबन्धसँगै दीर्घकालीन नियमनको आवश्यकता
सप्तकोसीमा मोटरबोट सञ्चालनमाथि लगाइएको तत्कालीन प्रतिबन्धले जलयातायातको सुरक्षा र नियमनसम्बन्धी विद्यमान कमजोरीलाई उजागर गरेको छ। तर, सञ्चालन रोक्नु मात्रै दीर्घकालीन समाधान होइन। यसको प्रभावकारी व्यवस्थापनका लागि स्पष्ट कानुनी आधार, जिम्मेवार नियामक निकाय र अनिवार्य सुरक्षा मापदण्ड आवश्यक देखिन्छ।
नदीमा सञ्चालन हुने प्रत्येक मोटरबोटको दर्ता तथा प्राविधिक परीक्षण, चालकको योग्यता र अनुमतिपत्र, यात्रुको सङ्ख्या निर्धारण, जीवनरक्षक ज्याकेटको अनिवार्य प्रयोग, मौसम तथा नदीको बहावसम्बन्धी पूर्वसूचना र आकस्मिक उद्धारको व्यवस्था सुनिश्चित गर्नुपर्ने देखिन्छ।
त्यस्तै, व्यवसायीलाई स्पष्ट कानुनी प्रक्रियाभित्र ल्याउँदै नियमित अनुगमन र सुरक्षा मापदण्ड उल्लङ्घन गर्नेमाथि कारबाहीको व्यवस्था गर्नुपर्ने आवश्यकता छ।
सप्तकोसीमा मोटरबोट सञ्चालनले पर्यटन र स्थानीय आवागमनमा सहयोग पुर्याउँदै आएको भए पनि यात्रुको जीवनभन्दा ठूलो व्यावसायिक हित हुन सक्दैन। त्यसैले पछिल्लो दुर्घटनाको निष्पक्ष छानबिनसँगै मोटरबोट सञ्चालनको कानुनी अन्योल अन्त्य गरी सुरक्षित र व्यवस्थित जलयातायातको आधार तयार गर्नु सरकार तथा सम्बन्धित निकायका लागि प्रमुख चुनौती बनेको छ।




















