इटहरीः मोरङको कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न भएको छ। मोरङ तथा आसपासका जिल्लाको बढ्दो विद्युत् माग सम्बोधन गर्दै विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले सबस्टेसन निर्माण गरिएको हो।
सबस्टेसनलाई कात्तिक १४ गते शनिबार र १५ गते आइतबार चार्ज गर्ने तयारी गरिएको छ। त्यसका लागि पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनअन्तर्गत दुहवी–दमक खण्डमा पर्ने केरौन सबस्टेसनमा प्रसारण लाइनलाई भित्र्याउने (लुप इन) र बाहिर निकाल्ने (लुप आउट) कार्य गरिनेछ। यसपछि दुहवी–दमक १३२ केभी प्रसारण लाइनमार्फत सबस्टेसनमा विद्युत् आपूर्ति हुनेछ।
लुप इन र लुप आउटको काम गर्न शनिबार र आइतबार बिहान ४ बजेदेखि मध्याह्न १२ बजेसम्म दुहवी–दमक प्रसारण लाइन बन्द गरिनेछ। यस अवधिमा झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्रमा तथा मोरङको उर्लाबारी र पथरी आसपासका क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुने जनाइएको छ।
१४८.५ एमभिए क्षमताको सबस्टेसन
केरौन सबस्टेसनमा १३२/३३ केभी, ६३ एमभिए क्षमताका दुईवटा र ३३.११ केभी, २२.५ एमभिए क्षमताको एउटा पावर ट्रान्सफर्मर जडान गरिएको छ। तीनवटा ट्रान्सफर्मरको कुल क्षमता १४८.५ एमभिए रहेको छ।
हालसम्म यस क्षेत्रमा दुहवी–रानी–रङ्गेली ३३ केभीको करिब ५० किलोमिटर लामो प्रसारण लाइनमार्फत विद्युत् आपूर्ति हुँदै आएको थियो। केरौन सबस्टेसन सञ्चालनमा आएपछि विद्युत् आपूर्तिका लागि प्रयोग हुने लाइनको लम्बाइ घट्ने भएकाले आपूर्ति प्रणाली थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
सबस्टेसनबाट स्थानीय क्षेत्रमा विद्युत् वितरण गर्न ११ केभीका पाँचवटा फिडर लाइन निकालिएका छन्। यसका साथै केरौन–रङ्गेली र केरौन–विराटचोक ३३ केभी डबल सर्किट प्रसारण लाइनसमेत निर्माण गरिएको छ।
एक अर्ब रुपैयाँ लागतमा निर्माण
केरौन सबस्टेसन निर्माणका लागि २०७८ असारमा ठेक्का सम्झौता भएको थियो। करिब एक अर्ब रुपैयाँ अनुमानित लागत रहेको आयोजना नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको लगानी तथा एसियाली विकास बैंक (एडीबी)को सहुलियतपूर्ण ऋणमा निर्माण गरिएको हो।
सबस्टेसन सञ्चालनमा आएपछि मोरङ तथा आसपासका क्षेत्रमा विद्युत् आपूर्तिको क्षमता र विश्वसनीयता बढ्ने अपेक्षा गरिएको छ। साथै, लामो दूरीको ३३ केभी लाइनमा निर्भरता घट्दा प्राविधिक समस्या न्यूनीकरण गर्न र उपभोक्तालाई गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन सहयोग पुग्नेछ।




















