काठमाडौंः गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा कार्यरत पदाधिकारी तथा कर्मचारीले आफ्नो पदीय मर्यादा र जिम्मेवारी भुलेर गोप्य तथा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्तिप्रति गम्भीर चासो व्यक्त गरेका छन्।
गृहमन्त्री गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत राज्यका संवेदनशील सूचना व्यक्तिगत सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको स्पष्ट गर्दै सूचना चुहावटमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याइने चेतावनी दिएका हुन्।
उनले लामो समयदेखि गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका केही पदाधिकारी तथा कर्मचारीबाट पदीय हैसियतको दुरुपयोग गरी गोप्य सूचना अनधिकृत रूपमा बाहिर पुर्याउने प्रवृत्ति नियालिरहेको उल्लेख गरेका छन्।
“राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो। पदले सूचनामा पहुँच दिन्छ, तर दुरुपयोग गर्ने अधिकार दिँदैन,” गृहमन्त्री गुरुङले लेखेका छन्।
उनका अनुसार राज्यका निकायमा प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीसमेत अपराध रोकथाम, अनुसन्धान अघि बढाउन तथा भविष्यमा हुन सक्ने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक बन्न सक्छ।
गृहमन्त्री गुरुङले राज्यले सुम्पिएको गोपनीयताको जिम्मेवारीलाई गम्भीर रूपमा लिन सम्बन्धित सबैलाई सचेत गराउँदै जानाजान गोपनीयता भंग गर्ने र राज्य तथा संगठनप्रति विश्वासघात गर्ने व्यक्तिमाथि कडा कानुनी कारबाही हुने बताएका छन्।
“राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकै होस्, कुनै उन्मुक्ति पाउने छैन, कानूनको कठघरामा ल्याइनेछ,” उनले फेसबुकमा लेखेका छन्।
गृहमन्त्रीको यो अभिव्यक्तिलाई गृह प्रशासनभित्रको सूचना सुरक्षा, गोपनीयता र पदीय अनुशासनलाई थप कडाइका साथ कार्यान्वयन गर्ने संकेतका रूपमा हेरिएको छ। विशेषगरी सुरक्षा निकाय तथा गृह प्रशासनसँग सम्बन्धित संवेदनशील सूचना अनधिकृत रूपमा बाहिरिँदा त्यसले अपराध अनुसन्धान, सुरक्षा व्यवस्थापन र राज्यको समग्र गोपनीयतामा गम्भीर असर पार्न सक्ने भएकाले मन्त्रालयले सूचना चुहावटप्रति कडा नीति लिन खोजेको देखिन्छ।
गृह मन्त्रालय र मातहतका सुरक्षा निकायमा रहेका कर्मचारी तथा पदाधिकारीले आफ्नो पहुँचमा आउने संवेदनशील सूचना व्यक्तिगत स्वार्थ, राजनीतिक वा अन्य कुनै प्रयोजनका लागि प्रयोग गर्न नहुने भन्दै गृहमन्त्री गुरुङले पदीय जिम्मेवारीप्रति सचेत रहनसमेत आग्रह गरेका छन्।




















