काठमाडौंः पक्राउ पर्नु, अदालत पुग्नु, आदेशबाट छुट्नु र फेरि पक्राउ पर्नु मेडिकल व्यवसायीबाट अभियन्ता बनेका दुर्गा प्रसाईंको पछिल्लो दुई वर्ष यही चक्रमा बितेको छ । दुई वर्षमा उनी १६ पटक पक्राउ परिसकेका छन् । प्रसाईंका लागि पक्राउ अब असामान्य घटना होइन, सार्वजनिक जीवनकै नियमित हिस्साजस्तो बनेको छ ।
१ माघ ०७६ मा सुरु भएको उनको हिरासत यात्रा रोकिएको छैन । कहिले शान्ति सुरक्षामा खलल पुर्याएको आरोपमा त कहिले साइबर अपराधको मुद्दालगायतका विभिन्न कसुरमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । तर, पक्राउको शृंखला जति दोहोरिएको छ, अदालतबाट रिहा हुने क्रम पनि उत्तिकै तीव्र छ ।
जुनसुकै सरकार आए पनि प्रसाईं प्रहरीका ‘पाहुना’ बन्दै आएका छन् । प्रहरीको विवरणअनुसार प्रसाईं ०७६ मा एक, ०८१ मा आठ, ०८२ मा पाँच र ०८३ मा तीनपटक पक्राउ परेका छन् । विवरणअनुसार उनी ओलीको कार्यकालमा नौ, सुशीला कार्कीको कार्यकालमा पाँच र वर्तमान सरकारको कार्यकालमा पनि तीनपटक पक्राउ परिसकेका छन् ।
पछिल्लोपटक १२ असोजमा भक्तपुरबाट पक्राउ परेका उनीविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार काठामाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
उनीविरुद्ध विद्युतीय कारोबार कसुर ऐन, २०६३ को दफा ५८क र ७६ अनुसार मागदाबी लिइएको छ । जसमा पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । उनी साइबर अपराधमा पटके भएकाले थप ५० प्रतिशत सजायको मागदाबी लिइएको छ।
रास्वपा सांसद रचना खतिवडाको जाहेरीका आधारमा विद्युतीय कारोबार ऐन (साइबर अपराध)को कसुरमा उनी यसपटक पक्राउ परेका हुन् । ‘छोराको शवसँग सांसद पद साटेको’ भनेर चरित्रहत्या गरेको भन्दै सांसद खतिवडाले उनीविरुद्ध उजुरी गरेका थिइन् ।
प्रहरीको तथ्यांकअनुसार पछिल्लो दुई वर्षमा विभिन्न कसुरमा उनी १६ पटक पक्राउ परेका छन् । जसअनुसार औसतमा हरेक डेढ महिनामा उनी पक्राउ परेको देखिन्छ । प्रहरीको विवरणअनुसार प्रसाईं पहिलोपटक भने १ माघ ०७६ मा पक्राउ परेका थिए । यसलाई पनि जोड्दा समग्रमा १७ पटक पक्राउ परेका छन् ।
चिकित्सा शिक्षा आयोगका तत्कालीन उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको उजुरीमा पहिलोपटक प्रसाईं पक्राउ परेका हुन् । २० करोड घुस मागेको आरोप लगाएपछि गिरीले प्रहरीमा उजुरी दिएर उनलाई पक्राउ गराएका थिए । त्यतिवेला प्रसाईंविरुद्ध अभद्र व्यवहारमा मुद्दा चल्यो । त्यतिवेला केपी ओली प्रधानमन्त्री थिए । प्रसाईं त्यतिवेलासम्म ओलीकै निकट थिए ।
त्यसको पाँच वर्षपछि ०८१ को भदौमा उनी दोस्रोपटक पक्राउ परेका थिए । त्यतिवेला उनी साइबर अपराधमा पक्राउ परेका हुन् । रोशन सुवेदी र टीका संग्रौलाको छुट्टाछुट्टै उजुरीमा उनलाई त्यसवेला साइबर ब्युरोले पक्राउ गरेको थियो । सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको भन्दै सुवेदी र संग्रौलाले उनीविरुद्ध त्यसवेला उजुरी गरेका थिए ।
त्यसपछि उनको पक्राउको श्रृंखला अलि तीव्र चलिरहेको छ । ०८१ मा उनी आठपटक पक्राउ परे । ४ मंसिर ०८१ मा साइबर अपराधकै अभियोगमा प्रहरीले पक्राउ गरेको थियो । तत्कालीन प्रधानमन्त्री ओलीको कम्बोडियाको टेलिकममा लगानी रहेको भनेर आरोप लगाएको अभियोगमा त्यसवेला साइबर ब्युरोले नै पक्राउ गरेको थियो । यतिवेला ओली र प्रसाईंको सम्बन्ध बिग्रिसकेको थियो ।
ओलीको कार्यकालमा मात्रै उनी नौपटक पक्राउ परेको तथ्यांक छ । सोही वर्ष अर्थात् १४ मंसिर ०८१ मा व्यवसायी पवन गोल्यानकै ठगीसम्बन्धी उजुरीमा उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको हो ।
यसरी हरेकपटक पक्राउ पर्दा उनी धरौटीमा छुटेका थिए । ०८१ को चैतमा भने उनीमाथि गम्भीर अभियोग लाग्यो । १५ चैतमा राजतन्त्रको पक्षमा तीनकुनेमा आयोजना गरिएको आन्दोलनलाई हिंसात्मक बनाएको अभियोगमा उनलाई दुई सातापछि प्रहरीले भारतबाट पक्राउ गर्यो । नेपाल ल्याएर उनीविरुद्ध आपराधिक उपद्रव, राज्यविरुद्धको अपराध तथा कर्तव्य ज्यान मुद्दा चलाइयो । जुन मुद्दामा उनी सुरुमा कारागार चलान भएकोमा पछि उच्च अदालतको आदेशमा १९ साउन ०८२ मा कारागारमुक्त भए । यही समयमा उनीमाथि बैंकिङ कसुरको मुद्दामा पनि सिआइबीले अनुसन्धान गर्यो । बैंकबाट लिएको १८ करोड कर्जा दुरुपयोग गरेको तथा आपराधिक समूहसँग मिलेर व्यवसायीलाई धम्क्याएर पैसा असुलेको अभियोगमा सिआइबीले पनि दुई मुद्दा दायर गरेको थियो ।
जेलबाट छुटेपछि ०८२ मा उनी पाँचपटक पक्राउ परे । सुशीला कार्की नेतृत्वको सरकारका पाला पाँचपटक पक्राउ परेका थिए । २ मंसिर ०८२ मा पक्राउ गरी सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा चलाइएको थियो । उनी तीनपटक चुनावको आसपास थुनामा परेका हुन् । तीनैपटक निर्वाचन आयोगको पत्रका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी विवरण छ ।
४ माघ ०८२ मा सार्वजनिक शान्तिविरुद्धको कसुरमा उनी पक्राउ परे । त्यसको २३ दिनपछि निर्वाचन आयोगसम्बन्धी भ्रम फैलाएको अभियोगमा साइबर अपराध मुद्दा चलाइएको थियो । त्यस्तै, ५ फागुनमा सार्वजनिक शान्तिविरुद्धको कसुरको मुद्दा दर्ता भएको विवरण छ । त्यस्तै, १७ फागुनमा पक्राउ गरी प्रहरीले फेरि सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाएको थियो ।
वर्तमान सरकार आएपछि उनी पहिलोपटक ४ जेठ ०८३ मा पक्राउ परेको विवरण छ । पर्सा प्रहरीले उनलाई विद्युतीय कारोबारसम्बन्धी कसुरमा पक्राउ गरेको थियो । पछि अदालतले थुनामा राख्न म्याद नदिएपछि उनी छुटे । जुन मुद्दा अझै अनुसन्धानकै क्रममा छ । सामाजिक सद्भाव बिग्रने अभिव्यक्ति दिएको आधारमा उनी त्यहाँ पक्राउ परेका थिए ।
त्यस्तै, गत १८ साउन ०८३ मा भक्तपुर प्रहरीले उनलाई राज्यविरुद्धको कसुरमा पक्राउ गरेको थियो । यसपटक पनि अदालतले थुनामा नराखी उनीमाथि अनुसन्धान गर्न भनेको थियो । यसपटक पनि सद्भाव भड्काउने अभिव्यक्ति दिएको अभियोग उनीमाथि थियो । यो कसुरमा अनुसन्धान जारी छ ।
गत आइतबार उनी यो वर्ष तेस्रोपटक पक्राउ परेका हुन् । यसपटक भने अदालतले थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ ।
प्रसाईंविरुद्धका कतिपय मुद्दाको फैसला भइसकेको छ भने केही अदालतमा विचाराधीन छन्, केही अनुसन्धानकै क्रममा छन् । उनका धेरैजसो मुद्दा अभिव्यक्तिसँग सम्बन्धित साइबर अपराधका छन् ।
१७ मुद्दामध्ये ६ वटा साइबर अपराध, चारवटा सार्वजनिक शान्तिविरुद्धको कसुरका छन् । त्यस्तै, अभद्र व्यवहार, ठगी, आपराधिक उपद्रव, बैंकिङ कसुर, संगठित अपराध, ज्यानसम्बन्धी कसुर र राज्यविरुद्धको अपराध एक–एकवटा छन् ।
अप्रमाणित विषयलाई सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेर मानहानि गरेको तथा शान्ति सुरक्षा भड्काउने गतिविधि गरेकोसम्बन्धी छन् । उस्तै प्रकृतिका कसुरमा बारम्बार पक्राउ गरिएपछि कतिपय अवस्थामा अदालतले उनलाई थुनामा राख्न अनुमति दिने गरेको छैन ।
प्रहरी प्रवक्ता डिआइजी अविनारायण काफ्ले अभिव्यक्ति स्वतन्त्रताको नाममा अरूको चरित्रहत्या हुने तथा मानहानि हुने गरी बोल्न नपाइने बताउँछन् । ‘दुर्गा प्रसाईंलाई हामीले पीडितहरूको उजुरीकै आधारमा पक्राउ गरेका छौँ,’ उनी भन्छन्, ‘हरेकपटक अदालतबाट पक्राउ अनुमति लिएर मात्र पक्राउ गरेका छौँ ।’ तर, जति मुद्दा परे पनि अराजक अभिव्यक्ति दिन उनले नछाडेको प्रहरी अधिकारी बताउँछन् ।
कतिपयले भने बोलेकै आधारमा बारम्बार पक्राउ गरिएको भन्दै गृह प्रशासनको आलोचना पनि गर्दै आएका छन् । प्रहरीको हिरासत र अदालतको आदेशबिच घुमिरहने प्रसाईंको यात्राले उनको सार्वजनिक गतिविधि र राज्य संयन्त्रबिचको टकराव सतहमा ल्याएको छ । यो खबर आज प्रकाशित नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।




















