८० प्रतिशत मतदान भइसकेपछि रोकिएको निर्वाचन पुनः नगराई, सहमतिका नाममा प्रतिनिधि चयन गर्न खोजिएको कटुवालको आरोप

इटहरीः नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नं. २ को क्षेत्रीय समिति तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनको विषयलाई लिएर उत्पन्न विवाद केन्द्रीय निर्वाचन समितिसम्म पुगेको छ। निर्वाचन प्रक्रियामा असहमति जनाउँदै युवा नेता तथा ३५ वर्षमुनिको युवा क्लस्टरतर्फबाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार नवीन कटुवालले आवश्यक कारबाहीको माग गर्दै केन्द्रीय निर्वाचन समितिमा निवेदन दर्ता गराएका छन्।

कटुवालले २०७८ साल मंसिर १५ गते दर्ता गराएको निवेदनमा सुनसरी क्षेत्र नं. २ मा मतदान भइरहेकै अवस्थामा विवाद उत्पन्न भएपछि निर्वाचन स्थगित गरिएको उल्लेख गरेका छन्। उनका अनुसार निर्वाचन स्थगित हुँदा करिब ८० प्रतिशत मतदान सम्पन्न भइसकेको थियो।

nabin 1

nabain 2

तर, स्थगित मतदानलाई पुनः सञ्चालन गरी निर्वाचन सम्पन्न गराउनुको सट्टा जिल्ला नेतृत्वले आपसी सहमतिका नाममा आफूखुसी महाधिवेशन प्रतिनिधिको नाम सिफारिस गर्न खोजेको आरोप कटुवालले निवेदनमार्फत लगाएका छन्।

मतदान पुनः गराउन उम्मेदवारको हस्ताक्षर संकलन

कटुवालले स्थगित मतदान पुनः सञ्चालन गर्न जिल्ला नेतृत्वले उम्मेदवारहरूको हस्ताक्षर संकलन गरेको जानकारी आफूले पाएको निवेदनमा उल्लेख गरेका छन्।

तर, सम्पूर्ण उम्मेदवारको पूर्ण सहमति तथा क्षेत्रीय प्रतिनिधिहरूको भावना र लोकतान्त्रिक प्रक्रियालाई बेवास्ता गर्दै निर्णय अघि बढाउन खोजिएको उनको दाबी छ।

उनले निर्वाचनमा सहभागी उम्मेदवार तथा क्षेत्रीय प्रतिनिधिहरूको मताधिकारलाई सम्मान गर्दै स्थगित निर्वाचनलाई पारदर्शी र वैधानिक प्रक्रियाबाट पुनः सञ्चालन गर्नुपर्ने माग गरेका छन्।

‘क्षेत्रीय समितिको लेटरप्याड र छाप दुरुपयोग भयो’

निवेदनमा कटुवालले सुनसरी क्षेत्रीय समितिको लेटरप्याड तथा छापसमेत दुरुपयोग गरी केही व्यक्तिको नाम मात्रै ‘केन्द्रीय महाधिवेशन प्रतिनिधि’का रूपमा केन्द्रमा पठाइएको आरोप लगाएका छन्।

WhatsApp Image 2026-10-04 at 13.51.32

उनका अनुसार निर्वाचनबाट प्रतिनिधि छनोट गर्ने प्रक्रिया पूरा नगरी सहमतिको नाममा तयार पारिएको सूचीले क्षेत्रीय प्रतिनिधिहरूको मताधिकारलाई कमजोर बनाएको छ।

कटुवालले प्रक्रिया मिचेर केन्द्रमा पठाइएका नामहरू बदर गरी आम कांग्रेस कार्यकर्ता तथा क्षेत्रीय प्रतिनिधिहरूको भावनाको सम्मान गर्न केन्द्रीय निर्वाचन समितिसमक्ष माग गरेका छन्।

‘निर्वाचित पदाधिकारीलाई मात्रै मान्यता दिइयोस्’

कटुवालले धाँधलीरहित, पारदर्शी र वैधानिक ढंगले निर्वाचन प्रक्रिया अघि बढाउन माग गरेका छन्।

उनले निर्वाचन प्रक्रियाबाट निर्वाचित भएका पदाधिकारी तथा महाधिवेशन प्रतिनिधिलाई मात्रै मान्यता दिन र स्थगित निर्वाचनलाई पुनः सञ्चालन गरी बाँकी प्रक्रिया पूरा गर्न केन्द्रीय निर्वाचन समितिलाई आग्रह गरेका छन्।

निवेदनको अन्त्यमा उनले कांग्रेसको आन्तरिक लोकतन्त्र र विधि तथा पद्धतिको संरक्षणका लागि केन्द्रीय निर्वाचन समितिबाट आवश्यक निर्णय लिन अनुरोध गरेका छन्।

सहमतिका नाममा आफ्नो नामसमेत हटाइएको कटुवालको दाबी

कटुवाल नेपाली कांग्रेसको इटहरी क्षेत्रका युवा नेताका रूपमा सक्रिय रहँदै आएका छन्। उनले आफू सुरुदेखि नै गगन थापाको पक्षमा खुलेर राजनीतिक गतिविधिमा सहभागी हुँदै आएको बताउँदै आएका छन्। कटुवालले सुनसरी २ नम्बर क्षेत्रमै रहेर २० औ बर्षदेखि योगदान गरिरहेको मलाई पाखा लगाएर केन्द्रका नेताहरुले सुनसरी १ नम्बर क्षेत्रको सहदेव काफ्लेलाई केही समय अघि मात्र २ नम्बर क्षेत्रमा पार्टी सदस्यता सार्न लगाएर महाधिवेशन प्रतिनिधि बनाएको दावी गरेका छन् । 

महाधिवेशन प्रतिनिधि चयनका क्रममा सहमतिको प्रक्रिया अघि बढाउँदा आफ्नो नामसमेत हटाइएको उनको दाबी छ।

निर्वाचनबाट प्रतिनिधि छनोट गर्ने प्रक्रिया अघि बढिसकेको अवस्थामा मतदानमार्फत टुंगो लगाउनुपर्ने विषयलाई सहमतिका नाममा अन्य ढंगले टुंग्याउन खोजिएको भन्दै कटुवालले आपत्ति जनाएका हुन्।

अब सुनसरी क्षेत्र नं. २ बाट केन्द्रमा पठाइएको महाधिवेशन प्रतिनिधिको नामावली तथा स्थगित निर्वाचनको विषयमा केन्द्रीय निर्वाचन समितिले कस्तो निर्णय लिन्छ भन्ने विषय महत्वपूर्ण बनेको छ।

सुनसरी–२ को विवादले कांग्रेसको महाधिवेशन प्रक्रियामा निर्वाचन, सहमति र क्षेत्रीय प्रतिनिधिको मताधिकारबीचको सम्बन्धबारे समेत प्रश्न उठाएको छ। यस विषयमा सम्बन्धित जिल्ला नेतृत्व तथा अन्य पक्षको धारणा सार्वजनिक भएपछि विवादका थप पक्ष स्पष्ट हुने देखिन्छ।