इटहरीः होटल गरिमा प्रालिको नाममा सोल्टीको व्यवस्थापनमा इटहरीमा सञ्चालित सोल्टी होटलमा खसीको मासु भन्दै बाख्राको मासु पठाउन लागेको आरोप लागेको इटहरी मिट सेन्टरका सञ्चालकलाई इटहरी नगर प्रहरीले कारबाही नगरी कागज गराएर छाडेको छ।
इटहरी–१७ पकलीमा बाख्राको मासु काटेर इटहरीको बसपार्क प्रवेश मार्गको मुखमा रहेको इटहरी मिट सेन्टरमा ल्याउँदै गरेको सूचना पाएपछि नेपाल प्रहरीले मासु नियन्त्रणमा लिएको थियो। स्थानीय प्रत्यक्षदर्शीका अनुसार ‘सोल्टीको अर्डर धेरै छ’ भन्दै बाख्राको मासु ल्याइएको थियो।
प्रहरीका अनुसार ९१०३ नम्बरको निलो एफजेड मोटरसाइकलमा ल्याइएको मासु सेतो बोरामा राखेर सिटी सफारीमा हाल्दै सोल्टी होटलतर्फ लैजान लागिएको अवस्थामा नियन्त्रणमा लिइएको थियो। नेपाल प्रहरीले मासु नियन्त्रणमा लिएको केही समयपछि इटहरी उपमहानगरपालिकाको नगर प्रहरीको टोलीसमेत घटनास्थल पुगेको थियो।

मासुसँगै होटल गरिमा लिमिटेडको नाममा काटिएको पान बिलसमेत फेला परेको जनाइएको छ। उक्त बिलमा २१ किलो खसीको मासु उल्लेख गरिएको छ। बिलअनुसार प्रतिकिलो १ हजार २५० रुपैयाँका दरले मासुको मूल्य कायम गरिएको देखिन्छ।
घटनाको अनुगमनका क्रममा नेपाल प्रहरी र नगर प्रहरीले आसपासका अन्य मासु पसलमा समेत अनुगमन गर्ने तयारी गरे पनि त्यसअघि पसलमा राखिएका केही मासु एकाएक हटाइएको स्थानीयको भनाइ छ।
२० मिनेटमै कागज गराएर छाडियो
नगर प्रहरीले मासु नियन्त्रणमा लिएपछि करिब २० मिनेटभित्रै इटहरी मिट सेन्टरका सञ्चालकलाई बोलाएर अबदेखि बाख्राको मासु बिक्री नगर्ने प्रतिबद्धतासहित कागज गराएको थियो। त्यसपछि उनलाई कारबाही नगरी छाडिएको नगर प्रहरीले जनाएको छ।
तर, कागज गराएर ‘मासु घर लैजानु’ भन्दै छाडिएपछि पनि सञ्चालकले सोही मासु पुनः सोल्टी होटलतर्फ लैजान लागेको सूचना पाएपछि सोल्टी होटलको गेटनजिकबाट पुनः नियन्त्रणमा लिइएको नगर प्रहरी प्रमुख जेबी राईले बताए।

राईका अनुसार दोस्रोपटक नियन्त्रणमा लिएपछि समेत मासु घर लैजान भनिएको थियो।
नगर प्रहरी प्रमुख राईले घटनामा आफूबाट समेत कमजोरी भएको स्वीकार गरेका छन्।
उनले भने, “अबदेखि यस्तो काम नगर्ने भन्दै इटहरी मिट सेन्टरका सञ्चालक इटहरी–१७ पकली निवासी अब्दुल खानले रोइकराइ गर्नुभयो। मैले पनि कागज गरेर छाडिदिएँ। सबै कुरा बुझेर मात्र छाड्नुपर्दथ्यो। अझ घर लैजानु भन्दा–भन्दै सोल्टीमै लैजाँदै गरेको सूचना आएपछि पुनः नियन्त्रणमा लिइएको थियो। त्यसपछि सो मासु खाल्डो खनेर पुर्नुपर्दथ्यो। त्यसो नगर्नु मेरो गल्ती भयो। दोस्रोपटक पनि गल्ती गर्ने मिट सेन्टरका सञ्चालकलाई कारबाही गर्नुपर्दथ्यो, तर गरिएन। अब फेरि त्यस्तो गरेमा पक्राउ गरी कारबाही गरौँला। मबाट पनि गल्ती भइहाल्यो।”
‘बाख्रा र खसी छुट्याउने प्रविधि छैन’
राईले इटहरी उपमहानगरपालिकाको बजार अनुगमन शाखासँग समन्वय गर्दा खसी र बाख्राको मासु छुट्याएर परीक्षण गर्ने आवश्यक मेसिन तथा प्रविधि उपलब्ध नभएको जानकारी पाएपछि तत्काल कारबाही गर्न नसकिएको बताए।
उनका अनुसार बाख्रा काटिएको स्थान, घटनाका प्रत्यक्षदर्शी तथा अन्य पक्षसँग थप अनुसन्धान गरेर मात्र निर्णय लिनुपर्नेमा आफूले हतारमा कागज गराएर सञ्चालकलाई छाडेको स्वीकार गरेका छन्।

राईले कानुनअनुसार बाख्राको मासु बिक्री गर्न प्रतिबन्ध नभए पनि बाख्राको मासुलाई खसीको मासु भन्दै खसीकै मूल्यमा बिक्री गर्न नपाइने बताए।
उनले भने, “कानुनअनुसार बोर्ड राखेर बाख्राको मासु बिक्री गर्न छुट छ। तर बाख्राको मासुमा खसीको मूल्य लगाएर खसीकै मासु भन्दै बिक्री गर्न पाइँदैन।”
सोल्टीका जीएम अनुगमन शाखामा पुगे
खसीको मूल्यमा बाख्राको मासु सोल्टी होटलतर्फ लैजान लागेको अवस्थामा नियन्त्रणमा लिइएको विषय सार्वजनिक भएपछि सोल्टी होटलका महाप्रबन्धक (जीएम) इटहरी उपमहानगरपालिकाको बजार अनुगमन शाखामा पुगेका थिए।
उनले आफूहरूले लामो समयदेखि विश्वासका आधारमा सोही मिट सेन्टरसँग कारोबार गर्दै आएको भए पनि खसीको भन्दै बाख्राको मासु पठाउने गरेको विषयमा आफूहरूलाई जानकारी नभएको बताएका छन्।
जीएमका अनुसार मिट सेन्टरका सञ्चालक खानले खसीको मासु भन्दै बिलसमेत पठाएका थिए। उनले बिलमा खसीको मासु उल्लेख गरेर कर्मचारीलाई पठाइएको जानकारी दिए।

उनले बुधबार अर्डर गरिएको २१ किलो मासु सोही दिन सोल्टी होटलमा पकाउनका लागि प्रयोग नगरिने दाबीसमेत गरेका छन्। साथै, सोल्टी होटलमा युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा बुधबारदेखि सुरु भएको कोशी प्रदेशस्तरीय सातदिने सीप तथा रोजगार मेलामा सहभागीहरूका लागि उक्त मासुको अर्डर नगरिएको पनि उनले स्पष्ट पारे।
‘सोल्टीलाई बदनाम गर्न नाम जोडियो’
होटल गरिमा प्रालिका सञ्चालक विनोद पौडेलले भने सोल्टी होटलले विश्वासका आधारमा लामो समयदेखि सोही मिट सेन्टरबाट मासु खरिद गर्दै आएको बताएका छन्।
उनले मिट सेन्टरले खसीको भन्दै बाख्राको मासु पठाएको विषयमा सोल्टी होटललाई जानकारी नभएको दाबी गरे। घटनामा सोल्टी होटलको प्रत्यक्ष संलग्नता नरहेको दाबी गर्दै उनले सञ्चारमाध्यमले सोल्टीको नाम जोडेर अनावश्यक प्रचार गरेको आरोपसमेत लगाए।
पौडेलले भने, “हामीले विश्वासका आधारमा लामो समयदेखि मिट सेन्टरसँग कारोबार गर्दै आएका छौँ। खसीको भन्दै बाख्राको मासु पठाउने गरेको कुरा हामीलाई थाहा थिएन। सोल्टी होटलका पाहुना, उपभोक्ताको अधिकार र स्वच्छताप्रति होटल सधैँ सचेत छ।”
घटनामा मासुको वास्तविक स्रोत, बिलमा उल्लेख गरिएको खसीको मासु र नियन्त्रणमा लिइएको मासु एउटै हो वा होइन भन्ने विषयमा थप अनुसन्धान आवश्यक देखिएको छ। नगर प्रहरीले भने आगामी दिनमा पुनः यस्तै घटना दोहोरिए कारबाही गर्ने जनाएको छ।




















