उदयपुरः उदयपुरको बेलका नगरपालिकामा सडक पिच गर्ने भन्दै राप्रपाका नेता प्रकाश पौडेल क्षेत्री र उनका छोरा रितेशले पाँच सयभन्दा बढीको नागरिकताको प्रतिलिपि र फोटो संकलन गरी बैंक र इसेवा खाता खोलेर २० करोडभन्दा बढीको अवैध कारोबार गरेको पाइएको छ । बेलका नगरपालिका वडा नम्बर ३, ४, ५ र ९ लगायतका क्षेत्रका सर्वसाधारणको नागरिकताको प्रतिलिपि र फोटो दुरुपयोग गर्ने पौडेलका बाबुछोरामाथि अनुसन्धान भइरहेको छ । संकलन गरिएको देखिएको छ ।
उनीहरूले कसैलाई सडक पिच गर्ने ठेक्का ल्याइदिने, कसैलाई राप्रपाको सदस्यता नवीकरण गर्ने, कसैलाई जागिर लगाइदिने प्रलोभन देखाएर नागरिकता संकलन गरेको खुलेको छ । गाउँघरमा चिनजानकै व्यक्ति भएकाले धेरैले थप सोधपुछ गरेनन् । तर त्यही नागरिकताको प्रतिलिपि र फोटो प्रयोग गरेर बैंक खाता तथा डिजिटल वालेट खोलिएको र लाखौँ रुपैयाँको अवैध कारोबार भएको प्रहरी अनुसन्धानबाट देखिएपछि अहिले गाउँमा त्रास छाएको छ ।
बेलका नगरपालिका– ४ का स्थानीय तथा नेपाली कम्युनिस्ट पार्टीका बेलका नगर इन्चार्ज मनोज तामाङका अनुसार नागरिकता दिने व्यक्तिहरूले नै आफ्नो नाममा अस्वाभाविक कारोबार भएको थाहा पाएपछि घटना सार्वजनिक भएको हो । ‘जसले नागरिकता दिए, उनीहरूले नै अवैध कारोबार भएको थाहा पाएपछि रहस्य खुलेको हो,’ तामाङ भन्छन्, ‘यहाँ नागरिकताको दुरुपयोग भएको देखिन्छ । लाखौँ–लाख कारोबार भएको अहिले खुल्दै गएको छ । मैले प्राप्त गरेको रेकर्डअनुसार २० करोडभन्दा बढी कारोबार भएको देखिन्छ ।’ यद्यपि, प्रहरीले अनुसन्धान पूरा नभएसम्म कारोबारको कुल रकम यकिन गर्न नसकिने जनाएको छ । रितेशले अनलाइन बेटिङ गर्ने गरेकोसमेत खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार पक्राउ परेका बाबुछोरामाथि जिल्ला अदालत उदयपुरमा संगठित अपराध र ठगी तथा आपराधिक लाभमा मुद्दा चलाइएको छ । उनले भने, ‘केही ठुलै संगठन देखिएकाले प्रहरीले सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेको छ । हाल ६० दिन म्याद थपेर अनुसन्धान जारी छ ।’ प्रहरीले नागरिकता दुरुपयोग भएको भन्दै आएका व्यक्तिहरूको नाममा थप बैंक तथा इसेवा खाता नखोल्न नेपाल राष्ट्र बैंक र इसेवालाई पत्राचार गरेको जनाएको छ । उनका अनुसार बेलकामा देखिएको जस्तै प्रकृतिको घटना झापामा पनि देखिएको छ । पक्राउ परेका रितेश पौडेल खत्रीलाई झापासमेत लगेर बयान लिइएको प्रहरीले जनाएको छ । खोटाङमा पनि यस्तै समस्या देखिएको र प्रारम्भिक चरणमै रोक्न सफल भएको प्रहरीको भनाइ छ ।
बेलका नगर प्रमुख अशोक कार्कीले घटनालाई सामान्य ठगीका रूपमा मात्र हेर्न नहुने बताए । ठुलो संख्यामा नागरिकताको विवरण प्रयोग गरी २० करोडभन्दा बढीको कारोबार भएकाले यसको पछाडि संगठित सञ्जाल हुन सक्ने भन्दै वास्तविक योजनाकार र लाभग्राहीसम्म पुग्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘हामीले प्रहरीको साइबरमा समेत खबर गरेका छौँ । धेरै ठुलो संख्यामा नागरिकताको दुरुपयोग भएको देखिन्छ । अब प्रहरीले अनुसन्धान सुरु गरेको छ ।’
नागरिकता दुरुपयोग भएको भन्दै पाँच सयले दिए प्रहरीमा उजुरी
इलाका प्रहरी कार्यालय, रामपुरमा हालसम्म नागरिकता दुरुपयोग भएको भन्दै पाँच सयजनाले ठाडो निवेदन दिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक अश्विन तोलांगेका अनुसार केही व्यक्तिले बैंक खाता खोल्न मात्रै होइन, एटिएम कार्ड र चेकसमेत अरूलाई दिएको देखिएको छ । ‘कसैले बैंक खाता नै खोलेर एटिएम, चेक पनि दिएका छन्,’ तोलांगे भन्छन्, ‘त्यहीबाट कारोबार गर्ने प्रकाश र रितेश पक्राउ परेका छन् । अनुसन्धान जारी छ ।’
उनका अनुसार हालसम्म पाँच सयजनाको नागरिकता प्रयोग गरी १९ वटा बैंक खाता खोलिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । इसेवाबाट प्राप्त विवरणअनुसार ४८० नागरिक चेक गर्दा ३०१ वटा इसेवा खाता खोलिएको र तीमध्ये २५७ वटा खातामा कारोबार भएको देखिएको छ । त्यसमा ४४ वटामा कारोबार भएको छैन् भने, १७३ वटा नागरिकता प्रयोग गरेको नदेखिएको तोलाङंगेको भनाइ छ । ‘शून्यदेखि दुई करोड ५८ लाख रुपैयाँसम्म कारोबार भएको देखिन्छ,’ तोलांगे भन्छन्, ‘लाखौँ–लाख रुपैयाँ कारोबार भएको छ । अनुसन्धानमै भएकाले अहिलेसम्म कुल रकम यकिन गरेर निकालिसकेका छैनौँ ।’
प्रहरीले फेला पारेका कारोबार मात्र भएको इसेवाका केही खाताबाट ९७ लाख, ५५ लाख, ५३ लाख, ४० लाख ९१ हजार, ३९ लाख, ३३ लाख, २० लाख ७७ हजार र २० लाख रुपैयाँको कारोबार देखिएको बताएको छ । यो घटनाको पर्दा भने बेलकाकै गुरुङचौरीका भविन पौडेल पक्राउ परेपछि खुल्न थालेको हो । गत असारको पहिलो साता प्रहरीले भविनलाई पक्राउ गरी काठमाडौं लग्यो । भविनकी आमा देवकी खत्री पौडेलका अनुसार उनका छोराको नाममा बैंक खाता प्रकाश र रितेशले नै खोलिदिएका थिए । त्यो खातामा विदेशबाट रकम आएको देखिएपछि अनुसन्धान अघि बढेको उनको भनाइ छ ।
‘छोराको बैंक खाता प्रकाशकै बाउछोराले खोलिदिएका थिए,’ देवकी भन्छिन्, ‘त्यसपछि पैसा थाइल्यान्डबाट आएको भनेर भनिएको रहेछ । छोराले सबै कुरा भनेन । प्रहरीले पक्राउ गरेर काठमाडौं लगेपछि ५१ हजार पाँच सय तिर्नुपरेको थियो । पछि प्रकाशले नै तिर्ने बताएका थिए, तर तिरेनन् ।’ भविन पक्राउ परेपछि मात्रै गाउँमा धेरै नागरिकताको विवरण संकलन गरिएको विषय बाहिर आउन थालेको स्थानीयको भनाइ छ ।
पीडित विष्णु घिमिरे पनि भविन पक्राउ परेपछि मात्रै आफूहरूको नागरिकता दुरुपयोग भएको थाहा पाएको बताउँछन् । ‘भविनलाई पक्राउ गरेपछि गाउँलेलाई प्रहरीले खोजेर खाताको पैसा देखाउन थालेपछि मात्रै थाहा पाइयो,’ उनले भने । प्रहरीका अनुसार अनलाइन बेटिङसँग सम्बन्धित रकम, क्रिप्टोलगायतमा कारोबार भएको विवरण देखिएपछि अनुसन्धानका क्रममा भविन पक्राउ परेका थिए । त्यसपछि नागरिकता दुरुपयोगको विषय पनि बाहिर आएको प्रहरीको भनाइ छ । ‘यहाँ पाँच–सात हजार रुपैयाँ लिएर खाता खोलेर दिनेहरू पनि भेटिएका छन्,’ तोलांगे भन्छन्, ‘चेक, एटिएम सबै दिनेहरू पनि भेटिएका छन् । अहिले अनुसन्धान जारी छ ।’ यो खबर नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।




















