धरानः  सरकारी विद्यालयमा शिक्षक नियुक्तिको माग गर्दै आन्दोलनमा रहेका विद्यार्थी नेता रोजन शंकरले आफूले फिनेल सेवन गर्नुको कारण बाहिरी दबाब र इगो भएको बताएका छन्। फिनेल सेवनपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत शंकरले आफूलाई कसले र किन दबाब दिएको भन्ने विषयमा भने तत्काल विस्तृत खुलासा गर्न असमर्थता जनाएका छन्।

धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघाले मंगलबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेर उपचाररत शंकरलाई जुस खुवाउँदै उनको अनशन तोडाएका थिए।

अनशन तोड्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै शंकरले आफूले बाहिरी दबाब र इगोका कारण फिनेल सेवन गरेको बताए। ‘दबाब र इगोका कारण फिनेल पिएको हुँ,’ उनले भने।

सञ्चारकर्मीले आफूलाई कसले दबाब दिएको हो भन्ने प्रश्न गरेपछि शंकरले अहिले नै त्यसबारे विस्तृत रूपमा बताउन नसक्ने बताए। उनले स्वास्थ्य अवस्था सामान्य भएपछि घटनाबारे सबै कुरा सार्वजनिक गर्ने संकेत गरे।

‘पछि निको भएपछि सबै कुरा डिटेल भन्छु, अहिले अति नै गाह्रो छ,’ शंकरले भने।

शंकरले आफूलाई दबाब दिने व्यक्ति वा पक्षको नाम भने तत्काल सार्वजनिक गरेका छैनन्।

शिक्षक नियुक्तिको माग गर्दै आन्दोलन

धरान–११ स्थित ज्ञानोदय माध्यमिक विद्यालय र धरान–६ स्थित सरस्वती माध्यमिक विद्यालयमा रिक्त शिक्षक दरबन्दीमा तत्काल शिक्षक नियुक्ति गर्नुपर्ने माग गर्दै शंकरसहित विद्यार्थीहरू केही समयदेखि आन्दोलनमा थिए।

आन्दोलनकै क्रममा केही दिनअघि धरान उपमहानगरपालिका परिसरमा शंकरले फिनेल सेवन गरेका थिए। फिनेल सेवन गरेपछि उनको स्वास्थ्य अवस्था गम्भीर बनेको भन्दै तत्काल उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।

घटनापछि उनको उपचार प्रतिष्ठानमा भइरहेको थियो भने विद्यार्थीहरूले शिक्षक नियुक्तिको मागसहित आन्दोलनलाई निरन्तरता दिएका थिए।

फिनेल कसले दियो भन्ने विषयमा छानबिन हुने

फिनेल सेवनको घटनापछि त्यसको स्रोतबारे समेत प्रश्न उठेको छ। घटनामा आन्दोलनमा सहभागी विद्यार्थी सौगात विकले आफूलाई फिनेल दिएको स्वीकार गरेको र उनले नगरप्रमुखको कार्यकक्षमा सञ्जिता धमलाले आफूलाई फिनेल दिएको बताएको कार्यवाहक नगर प्रमुख बेघाले बताएका छन्।

बेघाका अनुसार घटनाको सीसीटीभी फुटेज हेरेर सौगातसँग सोधपुछ गर्दा उनले सञ्जिता धमलाबाट फिनेल प्राप्त भएको बताएको भनाइ सार्वजनिक भएको हो। धमलाले भने आफुले फिनेल नदिएको दावी गर्दै आफुलाई फसाउन योजनाबद्ध तरिकाले विद्यार्थीलाई दवावमा राखेर आफ्नो नाम भन्न लगाइएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा अनेक पोष्टहरु निरन्तर गरिरहेकी छन् । 

यद्यपि, फिनेल कसले उपलब्ध गरायो, घटनाको वास्तविक कारण के थियो र त्यसमा कसैको भूमिका वा दबाब थियो कि थिएन भन्ने विषय अझै स्पष्ट हुन बाँकी छ।

कार्यवाहक नगर प्रमुख बेघाले घटनाबारे छानबिन समिति गठन गरेर सत्यतथ्य बाहिर ल्याउने बताएका छन्। उनले घटनासँग जोडिएका विषयलाई अनुसन्धानमार्फत स्पष्ट पारिने बताएका छन्।

यसैबीच, स्वास्थ्यमा सुधार आएपछि शंकरले मंगलबार अनशन तोडेका छन्। कार्यवाहक नगर प्रमुख बेघाले जुस खुवाएपछि उनले अनशन तोडेका हुन्। घटनाबारे शंकरले स्वास्थ्य अवस्था सुधार भएपछि थप विवरण सार्वजनिक गर्ने बताएका छन्।