इटहरीः इटहरी–धरान सडकखण्डअन्तर्गत नेपाली सेनाको पूर्वी पृतना हेडक्वार्टर अगाडिको सडकमा कालोपत्रेपछि बनेका जोखिमयुक्त ढिस्काढिस्की अन्ततः सम्याइएको छ। यात्रुको ज्यान नै जोखिममा पार्ने गरी सडकमा ठूला–ठूला ढिस्काढिस्की बनेको विषयमा प्रदेश पोर्टल डटकमले केही साताअघि प्राथमिकताका साथ भिडियो समाचार बनाएर पकाशन गरेको थियो । 

समाचार प्रकाशनपछि सडक विभाग इटहरी कार्यालयको ध्यानाकर्षण भएको र मंगलबार उक्त सडकखण्डमा देखिएका ढिस्काढिस्की सम्याउने काम गरिएको हो। कालोपत्रे गर्ने क्रममा ठेकेदार कम्पनीका कामदारले सडकमा रोलर राम्रोसँग नलगाउँदा विभिन्न स्थानमा सडक असमान भई ठूला–ठूला उचाइ–होचाइ बनेका थिए।


WhatsApp Image 2026-09-15 at 17.21.51 1

सडकको सतह असमान हुँदा इटहरी–धरान राजमार्ग हुँदै दैनिक आवतजावत गर्ने सवारीसाधन तथा यात्रुहरू प्रत्यक्ष जोखिममा पर्दै आएका थिए। विशेषगरी रातको समयमा सडकमा रहेका ढिस्काढिस्की स्पष्ट देख्न नसक्दा ती स्थानमा सवारीसाधन अनियन्त्रित हुने तथा दुर्घटनाको जोखिम बढेको यात्रुहरूको गुनासो थियो।


मंगलबार सडक विभाग इटहरीको पहलमा ती जोखिमयुक्त स्थानमा पुनः काम गरी सडकको सतह सम्याइएको छ। ढिस्काढिस्की हटाएर सडक केही सहज बनेपछि इटहरी–धरान आवतजावत गर्ने यात्रुलाई राहत मिल्ने भएको छ।

WhatsApp Image 2026-09-15 at 17.21.28


स्थानीय तथा नियमित यात्रुहरूले सडक कालोपत्रे गर्ने क्रममा नै गुणस्तरीय र मापदण्डअनुसार काम भएको भए यस्तो समस्या नआउने बताएका छन्। उनीहरूले ठेकेदार कम्पनीले काम सम्पन्न गरेपछि सडकको अवस्थाबारे सम्बन्धित निकायले नियमित अनुगमन गर्नुपर्ने मागसमेत गरेका छन्।


धेरै स्थानमा सडकको सतह असमान


इटहरी–धरान सडकखण्डको समस्या पूर्वी पृतना अगाडिको ढिस्काढिस्कीमा मात्रै सीमित छैन। राजमार्गका विभिन्न स्थानमा ठेकेदार कम्पनीले लापरबाहीपूर्ण ढंगले कालोपत्रे गरेको भन्दै स्थानीय तथा यात्रुले गुनासो गर्दै आएका छन्।


सडकका कतिपय स्थानमा कालोपत्रेको सतह एकै लेबलमा नरहेको पाइएको छ। कतै सडक उचो र कतै होचो हुँदा सवारीसाधन चलाउन समस्या हुने गरेको छ। सामान्य वर्षा हुँदा समेत सडकका केही स्थानमा पानी जम्ने गरेको छ।

WhatsApp Image 2026-09-15 at 17.21.30

त्यस्तै, कतिपय स्थानमा कालोपत्रे गरेको केही समयमै सडक उप्किन थालेको देखिन्छ। यसले निर्माणको गुणस्तरमाथि प्रश्न उठाएको छ। सडकको दिगोपनाका लागि आवश्यक मापदण्ड पूरा नगरी काम गरिएको हो कि भन्ने आशंका स्थानीयमा बढेको छ।


इटहरी–धरान सडक कोशी प्रदेशको महत्वपूर्ण राजमार्ग भएकाले यसको निर्माण तथा मर्मतमा हुने सामान्य लापरबाहीले समेत दैनिक हजारौँ यात्रुलाई प्रत्यक्ष असर पार्ने गरेको छ। त्यसैले सडक निर्माणको गुणस्तरमा कडाइ गर्दै ठेकेदार कम्पनीलाई जिम्मेवार बनाउनुपर्ने र सडक विभागले नियमित अनुगमन गर्नुपर्ने आवश्यकता देखिएको छ।


प्रदेश पोर्टल डटकमले यात्रुको सुरक्षासँग जोडिएको उक्त समस्यालाई प्राथमिकताका साथ उठाएपछि सडक विभागले ढिस्काढिस्की सम्याउने काम थालेको हो। सडकको अन्य असमान भाग, पानी जम्ने समस्या र उप्किन थालेको कालोपत्रेतर्फ पनि सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने देखिएको छ।