सिन्धुपाल्चोकः भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले सिन्धुपाल्चोकसहित विभिन्न जिल्लाका व्यवसायीका चार सयभन्दा बढी कन्टेनर बगाएको छ। बाढीमा कन्टेनरसँगै दर्जनौँ चालक तथा मजदुरसमेत सम्पर्कविहीन भएका छन्।

नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडका अध्यक्ष अर्जुनबहादुर सापकोटाका अनुसार बाढीले बगाएका कन्टेनरमध्ये सयभन्दा बढीमा मालवस्तु लोड गरिएको थियो। बाँकी कन्टेनर भने सामान ढुवानीका लागि जाने क्रममा पार्किङ गरेर राखिएका थिए।

बाढीपछि बगेका कन्टेनर, त्यसमा रहेका मालवस्तु तथा चालक र मजदुरको अवस्थाबारे विवरण संकलन भइरहेको सापकोटाले बताए। उनका अनुसार सिन्धुपाल्चोकका व्यापारी–व्यवसायीका मात्र सयौँ कन्टेनर बाढीले बगाएको छ भने अन्य सयौँ कन्टेनरमा समेत क्षति पुगेको छ।

रसुवागढी पुगेका कन्टेनरसमेत बाढीको चपेटामा

तातोपानी नाका अवरुद्ध भएपछि धेरैजसो कन्टेनर सामान ढुवानीका लागि रसुवागढी नाकातर्फ पुगेका थिए। केही कन्टेनर चिनियाँ भूभाग प्रवेश गरिसकेका थिए भने नेपालतर्फ नाकामा रहेका सयौँ कन्टेनर चीन प्रवेशको तयारीमा थिए।

त्यही क्रममा रसुवागढी क्षेत्रमा भोटेकोशीमा आएको बाढीले ठूलो संख्यामा कन्टेनर बगाएको हो। बाढीका कारण चीनतर्फ रोकिएका कन्टेनरलाई वैकल्पिक नाकाबाट नेपाल ल्याउने प्रयास भइरहेको छ।

सापकोटाका अनुसार रसुवागढीबाट करिब २५ किलोमिटर टाढा पुगेका १७९ वटा कन्टेनरलाई कोरोला नाका हुँदै नेपाल ल्याइएको छ। भदौ २१ र २२ गते मात्रै ६८ वटा कन्टेनर कोरोला नाकाबाट नेपाल ल्याइएको थियो। त्यस्तै, नेपाल–चीन सीमा क्षेत्रको लिची हुँदै ३७ वटा कन्टेनर नेपाल ल्याइएको उनले जानकारी दिए।

थप १११ वटा कन्टेनर भने कोरोला नाका हुँदै नेपाल प्रवेश गर्ने प्रक्रियामा रहेको उनले बताए।

चार सय किलोमिटर घुमाएर ल्याउनुपर्ने भएपछि ढुवानी खर्च बढ्यो

रसुवागढी नाका अवरुद्ध भएपछि वैकल्पिक मार्ग प्रयोग गर्नुपर्दा व्यवसायीको ढुवानी खर्च र चालकको पारिश्रमिक दुवै बढेको छ।

केरुङबाट साका र डोङ्बा हुँदै करिब चार सय किलोमिटर दूरी पार गरेर लिची पुग्नुपर्ने अवस्था रहेको सापकोटाले बताए। लामो दूरीका कारण चालकलाई थप पारिश्रमिक दिनुपर्ने भएपछि विपद्मा परेका व्यवसायी थप आर्थिक भारमा परेको उनको भनाइ छ।

त्यस्तै, कोरोला नाकाबाट करिब ४५० किलोमिटर दूरी पार गरेर काठमाडौंसम्म सामान ल्याउनुपर्ने भएकाले ढुवानी खर्च उल्लेख्य रूपमा बढ्ने व्यवसायी बताउँछन्।

व्यवसायीका अनुसार ढुवानी लागत बढ्दा त्यसको प्रत्यक्ष प्रभाव उपभोक्तामा पर्नेछ। हालको अवस्थाले चाडपर्व लक्षित सामानको मूल्य करिब २० प्रतिशतसम्म बढ्न सक्ने उनीहरूको अनुमान छ।

तातोपानी नाका बन्द भएपछि व्यवसायी वैकल्पिक नाकामा निर्भर

रसुवागढी क्षेत्रमा भोटेकोशीमा आएको बाढीपछि उत्पन्न त्रासका कारण चीनले तातोपानी नाका एक्कासि बन्द गरेपछि व्यवसायी थप समस्यामा परेका हुन्।

चाडपर्वका लागि आवश्यक सामान आयात गर्ने समयमै प्रमुख नाका अवरुद्ध भएपछि व्यवसायीले वैकल्पिक रूपमा कोरोला नाकाको प्रयोग गर्नुपरेको छ। तर कोरोला हुँदै सामान ल्याउँदा लामो दूरी पार गर्नुपर्ने भएकाले समय र लागत दुवै बढेको व्यवसायीको भनाइ छ।

एकातर्फ बाढीमा करोडौँ मूल्यका कन्टेनर तथा मालवस्तु गुमाउनुपरेको र अर्कोतर्फ वैकल्पिक नाकाबाट महँगो ढुवानी गर्नुपरेपछि व्यवसायी दोहोरो मारमा परेको उनीहरू बताउँछन्।

क्षतिको विवरण संकलन र राहतका लागि सरकारसँग माग

नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडले बाढीमा हराएका कन्टेनरको खोजी, क्षतिको यकिन विवरण संकलन तथा प्रभावित व्यवसायीलाई राहत उपलब्ध गराउन सरकारले तत्काल पहल गर्नुपर्ने माग गरेको छ।

कन्टेनर व्यवसायी तथा चालक–मजदुरको ठूलो संख्यामा भएको क्षतिलाई सामान्य यातायात अवरोधका रूपमा मात्र नहेरी विपद्का रूपमा सम्बोधन गर्नुपर्ने उनीहरूको माग छ।

यातायात क्षेत्रमा बाढीबाट भएको क्षतिको मूल्याङ्कन, क्षतिपूर्तिको आधार तथा अन्य आवश्यक विषय समेटेर प्रतिवेदन तयार गर्न यातायात व्यवस्था विभागले समेत काम गरिरहेको जनाइएको छ।

बाढीका कारण कन्टेनर व्यवसाय, आयात–निर्यात तथा ढुवानी क्षेत्रमा परेको असर दीर्घकालीन हुन सक्ने भन्दै प्रभावित व्यवसायीले सरकारले तत्काल राहत, क्षतिपूर्ति तथा वैकल्पिक ढुवानी मार्गलाई सहज बनाउन ठोस कदम चाल्नुपर्ने माग गरेका छन्।