बराहक्षेत्र — सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मुसहरीटोलबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार सोमबार साँझ करिब ५ः३० बजे लौकहीबाट प्रकाशपुरतर्फ आउँदै गरेको को ३१ प ८८८५ नम्बरको स्कुटीलाई शंका लागेर चेकजाँच गर्दा लागुऔषध फेला परेको हो।
स्कुटी चालक धरान उपमहानगरपालिका–१७ का करिब २७ वर्षीय हेम राई र स्कुटीमा पछाडि सवार सोही स्थानका करिब ४४ वर्षीय जयबहादुर खड्गीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
खड्गीको साथबाट प्लास्टिकसहित २.२३ मिलिग्राम तथा प्लास्टिकबाहेक १.३८ मिलिग्राम लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।
मधुवन प्रहरी चौकी र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई स्कुटीसहित नियन्त्रणमा लिएको हो। पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको प्रहरीले जनाएको छ।




















