इटहरीः भोटेकोशी बाढीका कारण विद्युत् आयोजना तथा प्रसारण लाइनमा भएको क्षतिका कारण विद्युत् उत्पादनमा मात्रै १६ अर्ब ३४ करोड रुपियाँ बराबरको क्षतिको अनुमान गरिएको छ ।


राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदनले औँल्याए अनुसार विद्युत् उत्पादन र सो उत्पादनपछि प्राप्त हुने रोयल्टीसमेत गुम्न पुग्दा १६ अर्ब ३४ करोड ६९ लाख रुपियाँको क्षति हुने देखिएको हो । 


प्रतिवेदन अनुसार बाढी तथा पहिरोका कारण वार्षिक दुई हजार ७३९.४८ गिगावाट घण्टा विद्युत् उत्पादनमा कमी आउने छ । जलविद्युत्, सौर्य ऊर्जा उत्पादन र ऊर्जा रोयल्टीमा हुने क्षतिसमेत जोड्दा ऊर्जामा यस्तो आर्थिक क्षति हुने प्रारम्भिक मूल्याङ्कन गरिएको हो ।


प्रतिवेदन अनुसार जलविद्युत् उत्पादनतर्फ वार्षिक दुई हजार ५२० गिगावाट घण्टा विद्युत् उत्पादन गुम्ने छ । यसबाट १४ अर्ब ८२ करोड रुपियाँ बराबरको क्षति हुने अनुमान गरिएको छ ।


त्यस्तै सौर्य ऊर्जा उत्पादनमा वार्षिक २१०.४८ गिगावाट घण्टा कमी आउने र त्यसबाट एक अर्ब २३ करोड ८४ लाख रुपियाँ बराबरको क्षति हुने जनाइएको छ । ऊर्जा रोयल्टीतर्फ थप २८ करोड ८५ लाख रुपियाँ क्षति हुने अनुमान छ । 


नेपाल विद्युत् प्राधिकरणको उत्पादन निर्देशनालय प्रमुख उपकार्यकारी निर्देशक किरणकुमार श्रेष्ठका अनुसार वार्षिक ऊर्जा उत्पादनको क्यालेन्डर र आयोजना र प्रसारण लाइनमा भएको क्षतिले प्रभावित हुने उत्पादन हिसाब गर्दा योखाले क्षति भएको हो ।