इटहरीः सामुदायिक वन उपभोक्ता समितिको काठ लगत समर्थन तथा लिलाम सहमति सिफारिस पत्र दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको अभियोगमा डिभिजन वन कार्यालय, उदयपुरका योजना शाखा प्रमुख (सातौँ तह) भुवन पौडेलविरुद्ध आरोपपत्र दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार पौडेलले काठको लगत समर्थन तथा लिलाम सहमति सिफारिस गरिदिए बापत सेवाग्राहीसँग १५ हजार रुपियाँ घुस माग गरी दुःख दिएका थिए । नियतबस आलटाल गरी बदनियतपूर्ण तवरले १५ हजार रुपियाँ घुसररिसवत लिइसकेको अवस्थामा आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले निजलाई नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका क्रममा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर पुष्टि भएको जनाउँदै आयोगले सोमबार विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको हो । आयोगले पौडेलविरुद्ध १५ हजार रुपियाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क)बमोजिम कैद सजाय र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगोबमोजिम जरिवाना सजायको मागदाबी लिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।




















