इटहरीः प्रहरीले सुनसरीका विभिन्न स्थानबाट लागूऔषध ब्राउन सुगर सहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित भित्री सडकबाट प्रहरीले ब्राउन सुगर सहित एक जनालाई र भोक्राहा नरसिंह गाँउपालिका, वडा नम्बर ६, ढलान रोडबाट दुई जना गरी तीन जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा हरिनगर गाउँपालिका, वडा नम्बर–५ निवासी ५५ वर्षीय श्रीनारायण मेहता, इलामको देउमाई नगरपालिका वडा नम्बर ६ का २८ वर्षीय मदन सुवेदी र सुनसरीको धरान उप–महानगरपालिका वडा नं ५ का २२ वर्षीय राज राई रहेका छन् । 

प्रहरी उपरीक्षक पुष्पराज मल्लका अनुसार मेहतालाई प्रहरी चौकी घुस्कीहाटबाट खटिएको टोलीले आईतबार भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२–०५८ प ८३७२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलको डिकीमा लुकाइराखेको ६.३३ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।

प्रहरीका अनुसार मेहताको साथबाट नेपाली नगद २५ हजार ४६५ र  ५५० भारतीय रुपियाँ समेत बरामद भएको छ । लागूऔषध, नगद र मोटरसाइकलसहित नियन्त्रणमा लिई मेहतामाथि जिल्ला प्रहरी कार्यालय, सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उता जिल्लाको भोक्राहा नरसिंह गाँउपालिका, वडा नम्बर ६ ढलान रोडबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको प्रहरीले  जनाएको छ । इलाका प्रहरी कार्यालय, लौकही र प्रहरी चौकी नरसिंहटप्पु, सुनसरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले भुटाहाबाट फुलचोकतर्फ आउँदै गरेका पैदल यात्री इलामको देउमाई नगरपालिका वडा नम्बर ६ का २८ वर्षीय मदन सुवेदी र सुनसरीको धरान उप–महानगरपालिका वडा नं  ५ का २२ वर्षीय राज राईलाई शंका लागि चेकजाँच गर्दा मदन सुवेदीको साथबाट पक्राउ गरेको हो ।

सुवेदीका साथबाट लागू औषध ब्राउन सुगर सहित ५ं.१८ ग्राम र राज राईको साथमा समेत मलद्वारभित्र प्लाष्टिकमा पोको पारी लुकाई छिपाई राखेको अवस्थामा लागु औषध ब्राउन सुगर ३.२१ ग्राम फेला परेकाले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर खड्काले जानकारी दिए ।