झापाः झापाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान नहुँदा अहिले बजारमै फोहोरको डंगुर थुप्रिएको छ । एक महिनादेखि फोहोर उठ्न नसक्दा बजारदेखि गल्लीसम्म दुर्गन्ध फैलिएको छ ।


बिर्तामोड नगरपालिकाले नौ वर्षदेखि स्थायी ल्यान्डफिल्ड साइटको विकल्प खोज्नुको सट्टा खोला, मैदान तथा निजी जग्गामा फोहोर गाडेर व्यवस्थापन गर्दै आएको थियो । ती अस्थायी ठाउँसमेत भरिएपछि अहिले फोहोर फाल्ने ठाउँको अभावमा बजारमै फोहोर थुप्रिन थालेको हो ।


बिर्तामोड नगरपालिकाका उपमेयर नगेन्द्र संग्रौलाका अनुसार अहिले बिर्तामोडमा करिब दुई सय ट्र्याक्टर फोहोर थुप्रिएको छ । नगरपालिकाबाट दैनिक करिब १६–१७ ट्र्याक्टर फोहोर संकलन हुँदै आएको छ ।


‘बिर्तामोड नगरपालिकाले विगत नौ वर्षदेखि नै खोला, मैदान तथा निजी जग्गामा फोहोर गाड्दै आएको छ । अब गाड्ने ठाउँ पनि सकिएको छ,’ संग्रौलाले भने, ‘त्यही भएर उठ्न नसकेको हो ।’


बिर्तामोडमा फोहोर व्यवस्थापनको जिम्मा निराकार सरसफाइ सेवा प्रालिलाई दिइएको छ । कम्पनीले नगरपालिकाले निर्धारण गरेको दरअनुसार उपभोक्ताबाट फोहोर व्यवस्थापन शुल्क उठाउँदै आएको छ । तर, फोहोर फाल्ने ल्यान्डफिल्ड साइटको व्यवस्थापन भने नगरपालिकाले गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।


कम्पनीसँगको सम्झौता गत वैशाखमै सकिएको छ । वैकल्पिक व्यवस्था नहुँदासम्म कम्पनीलाई नै फोहोर संकलन गर्न दिने निर्णय नगरपालिकाले गरेको छ । कम्पनीले उपभोक्ताबाट अग्रिम शुल्क लिएकाले तत्कालका लागि फोहोर उठाउन दिइएको संग्रौलाको भनाइ छ ।


तर, एक महिनादेखि फोहोर नउठ्दा व्यवसायी तथा स्थानीय समस्यामा परेका छन् । बिर्तामोड उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बलराम कार्कीले फोहोरको शुल्क नियमित उठाइए पनि सेवा नदिइएको बताए । ‘फोहोर नउठेको एक महिना भयो । फोहोरको पैसाचाहिँ उठाइरहेको छ । साउनको उठाइसक्यो, अब भदौको पनि उठाउने वेला भयो,’ उनले भने, ‘फोहोर नउठ्दा बजार क्षेत्रमा दुर्गन्ध फैलिएको छ । हिँड्नै नसक्ने अवस्था बनेको छ ।’


बिर्तामोड– ३ का व्यवसायी राजु साहको पसलअगाडि नै फोहोरको डंगुर छ । फोहोर उठाउने गाडी नआएपछि त्यहाँ फोहोरको मात्रा दिनहुँ बढ्दै गएको उनले बताए । ‘फोहोर गनाएर पसलमा बस्नै नसक्ने अवस्था आउँदै छ । फोहोर व्यवस्थापन गर्नेलाई फोन गर्दा फोन लाग्दैन,’ उनले भने, ‘पैसाचाहिँ नियमित लैजान्छन्, तर फोहोर उठाउन आउँदैनन् ।’


नगरपालिकाले भने अहिले वैकल्पिक ठाउँ खोजेर समस्या समाधानको तयारी भइरहेको जनाएको छ । उपमेयर संग्रौलाका अनुसार ६–७ महिनासम्म फोहोर व्यवस्थापन गर्न सकिने अर्को ठाउँ भेटिएको र स्थानीयका माग सम्बोधन गरेर त्यहाँ फोहोर व्यवस्थापन गर्ने विषयमा छलफल भइरहेको छ । ‘अहिले हामीले ६–७ महिनाका लागि व्यवस्थापन हुने ठाउँ भेट्टाएका छौँ । त्यहाँका जनताका माग पूरा गरेर तत्काललाई त्यहाँ व्यवस्थापन गर्ने गरी छलफल अघि बढेको छ,’ संग्रौलाले भने, ‘केही दिनभित्र नै अहिले थुप्रिएको फोहोर व्यवस्थापन गर्छौँ ।’


तर, अस्थायी ठाउँ खोजेर तत्कालको फोहोर हटाउने तयारीले बिर्तामोडको मूल समस्या समाधान हुने देखिँदैन । नौ वर्षदेखि स्थायी ल्यान्डफिल्ड साइट निर्माण गर्न नसक्दा हरेकपटक फोहोरको संकट दोहोरिँदै आएको छ । अहिलेको फोहोरको डंगुर त्यसैको परिणाम बनेको छ ।


२१ करोडको बायोग्यास प्लान्टबाट उत्पादित ग्यास खेर 

कुहिने फोहोरबाट बायोग्यास उत्पादन गर्ने भन्दै करिब २१ करोड रुपैयाँ लगानीमा बनाइएको प्लान्टमा भने उत्पादित ग्यास खेर गइरहेको छ । बिर्तामोड, कन्काई र अर्जुनधारा नगरपालिकाबाट निस्कने कुहिने फोहोर व्यवस्थापन गरी बायोग्यास उत्पादन गर्ने उद्देश्यले कन्काई नगरपालिका– २ मा कन्काई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोर व्यवस्थापन कम्पनी लिमिटेडले प्लान्ट स्थापना गरेको हो । तीनवटै नगरपालिका, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र कम्पनीको लागतमा निर्माण गरिएको प्लान्टबाट केही वर्षदेखि बायोग्यास उत्पादनसमेत हुँदै आएको छ ।


तर, उत्पादित ग्यास उपभोक्तासम्म पुर्‍याउन पाइपलाइन विस्तार हुन नसक्दा ग्यास खेर गइरहेको छ । अर्कोतर्फ बिर्तामोडमा भने फोहोर फाल्ने ठाउँ नहुँदा बजारमै फोहोरको पहाड बन्न पुगेको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।