काठमाडौँः नेपाल टेलिकमले रसुवास्थित भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपियाँ सहयोग गरेको छ ।
टेलिकमले बुधबार सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिना र सचिव एवम् कम्पनी सञ्चालक समितिका अध्यक्ष राजेन्द्रकुमार पौडेलको उपस्थितिमा उक्त रकमको चेक अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो ।
टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी (अर्याल) ले उक्त रकमको चेक अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गरिन्। सो अवसरमा टेलिकमका प्रमुख सञ्चालन अधिकृत प्रेमप्रसाद सिलवाल, प्रमुख वित्तीय अधिकृत द्वारिकाप्रसाद पौडेल र प्रमुख व्यावसायिक अधिकृत गोपालसिंह केसीलगायतको उपस्थिति थियो ।
यसअघि कम्पनीका कर्मचारीका तर्फबाट दुई करोड दुई लाख २६ हजार ६६ रुपियाँको चेकसमेत अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको थियो । टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका सेवाग्राहीलाई बाढीपछि नै छ करोड रुपियाँ बराबरको निःशुल्क कल, डाटा र एसएमएस सुविधा उपलब्ध गराएको जनाएको छ ।
टेलिकमले विगतदेखि नै बाढी, पहिरो, भूकम्प तथा कोभिड–१९ महामारीलगायतका विपद्का समयमा देश र नागरिकप्रति सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आर्थिक तथा अन्य सहयोग उपलब्ध गराउँदै आएको कम्पनीका प्रवक्ता डा. कमल लामिछानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विपद्का समयमा सञ्चार सेवाको निरन्तरता कायम गर्न तथा राहत, उद्धार र पुनःस्थापनाका कार्यमा सक्दो सहयोग गर्न कम्पनी प्रतिबद्ध रहेको विज्ञप्तिमा भनिएको छ । रासस




















