इटहरीः धनकुटाको साँगुरीगढी गाउँपालिका–७ फेदीबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ। कोशी लोकमार्गअन्तर्गत फेदीमा चेकजाँचका क्रममा प्रहरीले  १ हजार २४० किलो ६ सय ग्राम गाँजा बरामद गरेको हो।


मंगलबार राति करिब ११ बजे मुलघाटबाट खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त चेकिङ टोलीले धनकुटाबाट भेडेटारतर्फ जाँदै गरेको ना ४ ख ५२७ नम्बरको ट्रक लाई चेकजाँचका लागि रोक्न खोजेको थियो।


प्रहरीका अनुसार चेकजाँचका लागि ट्रक रोक्ने क्रममा चालकले ट्रकबाट हाम फालेर फरार भएका थिए। चालक फरार भएपछि ट्रक शंकास्पद लागेर सुरक्षाकर्मीले थप चेकजाँच गरेका थिए।


चेकजाँचका क्रममा ट्रकभित्र लुकाइराखेको अवस्थामा ठूलो परिमाणमा गाँजा फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजाको तौल १ हजार २४० किलो ६ सय ग्राम रहेको छ।


गाँजा बरामद भएपछि प्रहरीले ट्रक नियन्त्रणमा लिएको छ भने फरार चालकको खोजी कार्य तीव्र बनाएको जनाएको छ। चालकको पहिचान तथा गाँजा ओसारपसारमा संलग्न अन्य व्यक्तिबारे समेत प्रहरीले अनुसन्धान अघि बढाएको छ।


घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले बरामद गाँजा कहाँबाट ल्याइएको र कहाँ लैजान लागिएको थियो भन्ने विषयमा समेत अनुसन्धान गरिरहेको छ।


कोशी प्रदेशका पहाडी जिल्लाबाट तराईतर्फ ठूलो परिमाणमा गाँजा ओसारपसार हुने गरेको पृष्ठभूमिमा धनकुटामा बरामद भएको यो परिमाणलाई सुरक्षाकर्मीको ठूलो सफलता मानिएको छ।