इटहरीः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका सबै भूभाग तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहेको छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा भने आंशिक बदली रहेको छ।


कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।


आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।


त्यस्तै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।


सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा बाँकी तराई भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


महाशाखाका अनुसार मधेस, कोशी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका साथै बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।


आज राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।


तराई भूभागका केही स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा रातिको समयमा भारी वर्षा हुने सम्भावना रहेको छ।