इटहरीः राष्ट्रपति रामचन्द्र पौडेलले २०८३ भदौ १० गते हिमनदीको बरफ र चट्टानसहित आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै विपत्तिमा बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्य निरन्तर जारी राख्न सरकारलाई आग्रह गरेका छन्।
राष्ट्रका नाममा २०८३ भदौ २२ गते सम्बोधन गर्दै राष्ट्रपति पौडेलले प्राकृतिक विपत्तिका कारण असङ्ख्य नागरिकले ज्यान गुमाउनुका साथै घरपरिवार, जीविकोपार्जनका आधार, सडक, पुल तथा जलविद्युत् आयोजनालगायत महत्वपूर्ण पूर्वाधारमा ठूलो क्षति पुगेको बताए।
उनले विपत्तिमा परी ज्यान गुमाउने सबै नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता नागरिकहरूको खोजी र उद्धार कार्य यथाशीघ्र सफल होस् भन्ने कामना पनि उनले गरेका छन्।
राष्ट्रपति पौडेलले उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, कर्मचारी, स्वयंसेवक तथा विभिन्न संघसंस्थाको योगदानको प्रशंसा गरेका छन्। जोखिमपूर्ण भौगोलिक अवस्था र क्षतिग्रस्त पूर्वाधारलाई बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्य रोक्ने कारण बनाउन नहुनेमा उनले जोड दिए।
सम्बोधनका क्रममा उनले नेपालमा रहेका विदेशी नागरिकसमेत विपत्तिबाट प्रभावित भएको उल्लेख गर्दै उनीहरूप्रति पनि दुःख व्यक्त गरे। प्रभावित विदेशी नागरिकका परिवार तथा सम्बन्धित देशका सरकार र कूटनीतिक नियोगसँग नेपालले आवश्यक सहकार्य गर्ने उनले बताए।
उद्धार गरिएका नागरिकका लागि खाद्यान्न, स्वच्छ खानेपानी, सुरक्षित आश्रय, औषधोपचार तथा मनोसामाजिक सेवाको सुनिश्चितता गर्नुपर्ने राष्ट्रपति पौडेलको भनाइ छ। बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला तथा विशेष संरक्षण आवश्यक पर्ने नागरिकलाई राहत तथा उद्धारमा प्राथमिकता दिनुपर्ने उनले बताए।
मृतकहरूको पहिचान सावधानी, संवेदनशीलता र जिम्मेवारीका साथ गर्नुपर्ने उल्लेख गर्दै राष्ट्रपति पौडेलले आवश्यकताअनुसार डीएनए नमुना तथा अन्य अभिलेख सुरक्षित राखी पहिचान प्रक्रियालाई विश्वसनीय र व्यवस्थित बनाउनुपर्ने बताए।
विपत्तिका कारण घरबारविहीन, आफन्त गुमाएका, विस्थापित तथा जीविकोपार्जनका आधार गुमाएका नागरिकलाई राज्यको साथ र भरोसा आवश्यक रहेको उनले बताए। पीडितका गुनासा र मागलाई आलोचनाका रूपमा नभई समाधानका लागि महत्वपूर्ण संकेतका रूपमा ग्रहण गर्न सरकार तथा सम्बन्धित निकायलाई उनले आग्रह गरे।
राष्ट्रपति पौडेलले पछिल्लो प्राकृतिक विपत्तिले नेपालको हिमाली पर्यावरणको नाजुक अवस्था र बढ्दो विश्वव्यापी तापक्रमबाट सिर्जित जोखिमलाई पुनः उजागर गरेको बताए। उनले अन्तर्राष्ट्रिय समुदायसँग नेपाललगायत जलवायु परिवर्तनबाट प्रभावित राष्ट्रका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न आह्वान गरे।
उनले विपत्तिको सामना गर्न सम्पूर्ण राजनीतिक दल, निर्वाचित जनप्रतिनिधि, नागरिक समाज, मानवीय सहायता तथा उद्धारमा संलग्न संघसंस्था, निजी क्षेत्र, व्यवसायी समुदाय र आम नागरिकलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरे।
‘यो विभाजन र दोषारोपण गर्ने समय होइन, राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो,’ राष्ट्रपति पौडेलले भने।
विपत्तिपछि पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानसँगै नेपालको विकास मोडेलमाथि समेत पुनर्विचार गर्नुपर्ने आवश्यकता रहेको उनले बताए। अन्त्यमा राष्ट्रपति पौडेलले अप्रत्याशित तथा भयावह विपत्तिबाट पार पाउन सबैलाई शक्ति र साहस मिलोस् भन्ने कामना गर्दै आफ्नो सम्बोधन टुंग्याएका छन्।




















