प्रेम बास्तोला

इटहरीः आज भदौ २३ गते । भ्रष्टाचार, बेथिति र सुशासनको माग गर्दै जेनजी पुस्ताले देशव्यापी आन्दोलनको सुरुवात गरेको दिन । तत्कालीन राजनीतिक नेतृत्वप्रति व्यापक असन्तुष्टि व्यक्त गर्दै सुरु भएको उक्त आन्दोलनले छोटो समयमै देशका विभिन्न शहरलाई प्रभावित बनायो । काठमाडौंसहित देशका प्रमुख शहरमा आन्दोलन चर्किएसँगै इटहरी पनि त्यसबाट अछुतो रहन सकेन ।


जेनजी आन्दोलन सुरु भएको एक वर्ष पूरा हुँदै गर्दा त्यस दिन इटहरीमा भएको घटनाले अझै पनि धेरैलाई झस्काउँछ । आन्दोलनका क्रममा प्रहरीको गोली लागेर दुई युवाले ज्यान गुमाएका थिए भने अन्य केही घाइते भएका थिए । सरकारी तथा राजनीतिक दलका कार्यालयदेखि सवारीसाधनसम्म तोडफोड र आगजनी भएका थिए ।


आन्दोलनको केन्द्रमा इटहरी


आन्दोलन चर्किँदै जाँदा इटहरीको मुख्य बजार क्षेत्र तनावग्रस्त बनेको थियो । जेनजी पुस्ताका युवासँगै विभिन्न क्षेत्रका नागरिक पनि आन्दोलनमा सहभागी भएका थिए । आन्दोलनकारीले भ्रष्टाचारको अन्त्य, सुशासन, जवाफदेहिता र राजनीतिक नेतृत्वमा परिवर्तनको माग गरिरहेका थिए ।

aandolan_itahari

आन्दोलनका क्रममा इटहरी उपमहानगरपालिका परिसर, इलाका प्रहरी कार्यालय, आन्तरिक राजस्व कार्यालय, यातायात व्यवस्था कार्यालय, केही वडा कार्यालय नेकपा एमालेको पार्टी कार्यालय तथा नेपाली कांग्रेसको कार्यालय,मेयर हेमकर्ण पौडेलको घर लगायतका स्थानमा तोडफोड र आगजनी भएको थियो ।


दर्जनौँ सरकारी तथा निजी सवारीसाधनमा समेत तोडफोड तथा आगजनी भएको थियो । केही सरकारी कार्यालय र सार्वजनिक संरचनामा भएको क्षतिले आन्दोलनको स्वरूप शान्तिपूर्ण प्रदर्शनबाट उग्र बन्दै गएको संकेत गरेको थियो ।


गोली चल्यो, दुई युवाको ज्यान गयो


इटहरीमा जेनजी आन्दोलनको सबैभन्दा पीडादायी पक्ष भनेको दुई युवाको मृत्यु थियो ।


आन्दोलनका अधिकांश कार्यक्रम सकिन लागेका बेला इटहरी उपमहानगरपालिका परिसरमा रहेका प्रहरीले गोली चलाएको र त्यस क्रममा मोहन सरदार र अभिषेक श्रेष्ठको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो । घटनामा सन्तनु ढकालसहित अन्य व्यक्तिहरू घाइते भएका थिए ।


मोहन सरदार निर्माणसम्बन्धी काम गरेर परिवारको गुजारा चलाउँदै आएका श्रमिक युवा थिए । काम गर्ने क्रममा हातमा चोट लागेपछि इटहरी उपमहानगरपालिका अगाडि रहेको सामुदायिक अस्पतालमा उपचार गराएका उनी उपचारपछि साइकलमा घर फर्किँदै थिए । त्यही क्रममा गोली लागेर उनको मृत्यु भएको परिवार तथा स्थानीयको भनाइ छ ।

itahari-aandolan-2-1024x576


अर्का मृतक अभिषेक श्रेष्ठ भने साथीहरूसँगै इटहरीको जनता स्कुल प्रवेशमार्ग अगाडि आन्दोलनको दृश्य हेरिरहेका थिए । त्यही क्रममा गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको थियो । मावली घरकी हजुरआमाले सानै देखि बसेका श्रेष्ठ वैदेशिक रोजगारमा जाने तयारी अघि इटहरीकै बर्गर हाउसमा फोटो ग्राफरकमा रुपमा समेत काम गर्दथे । 

आन्दोलनमा सहभागी हुनुभन्दा पनि घटनास्थलको अवस्था हेर्न पुगेका नागरिकले समेत ज्यान गुमाउनुपरेपछि इटहरी घटनाले थप गम्भीर प्रश्न जन्माएको थियो ।


‘रमिता हेर्न’ पुगेका दुई युवाको मृत्यु


इटहरीमा मृत्यु भएका दुवै युवाको पृष्ठभूमि आन्दोलनकारीको भन्दा फरक रहेको स्थानीयको भनाइ छ ।


एक जना दैनिक ज्यालादारी तथा निर्माणसम्बन्धी काम गरेर जीवन निर्वाह गर्ने श्रमिक थिए भने अर्का युवा वैदेशिक रोजगारीका लागि साउदी अरब जाने तयारीमा थिए । साउदी अरबको भिसा आएपछि विदेश जाने तयारीमा रहेका श्रेष्ठ आन्दोलनको प्रत्यक्ष नेतृत्व वा अग्रपंक्तिमा नभई साथीहरूसँग घटनास्थलमा पुगेका बेला गोलीको सिकार भएको बताइएको छ ।

IMG_6457-1024x768

यसले आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट भएको बल प्रयोग र सर्वसाधारणको सुरक्षाको विषयलाई अझ गम्भीर बनाएको थियो ।


इटहरीमा पनि ‘इतिहास’ बनेको दिन


जेनजी आन्दोलनले देशको राजनीतिक वातावरणमा ठूलो हलचल ल्याइरहँदा इटहरीमा पनि त्यस दिन अभूतपूर्व दृश्य देखिएको थियो ।


आन्दोलनकारीको भीड बढ्दै गएपछि प्रशासनिक तथा राजनीतिक संरचनामाथि आक्रोश पोखिएको थियो । सरकारी कार्यालय, राजनीतिक दलका कार्यालय तथा सार्वजनिक संरचनामा तोडफोड र आगजनी भयो । लामो समयदेखि राजनीतिक दल तथा सरकारप्रति रहेको असन्तुष्टि सडकमा विस्फोट भएको धेरैको बुझाइ थियो ।

jenz-1024x768


तर आन्दोलनका क्रममा भएको हिंसा, सार्वजनिक सम्पत्तिमा भएको क्षति र सर्वसाधारणको ज्यान गएको घटनाले आन्दोलनको उपलब्धिसँगै त्यसको मानवीय र भौतिक मूल्यबारे पनि प्रश्न उठाएको छ ।


एक वर्षपछि पनि अनुत्तरित प्रश्न


जेनजी आन्दोलनले उठाएका भ्रष्टाचार नियन्त्रण, सुशासन, राजनीतिक जवाफदेहिता र राज्य संयन्त्रको सुधारजस्ता मुद्दा एक वर्षपछि पनि बहसको केन्द्रमै छन् ।


तर इटहरीका लागि भदौ २३ केवल राजनीतिक परिवर्तनको आन्दोलनको सम्झना मात्र होइन । यो दुई परिवारले आफ्ना सदस्य गुमाएको दिन पनि हो ।


मोहन सरदारको परिवारले श्रम गरेर घर चलाउने सदस्य गुमायो । अभिषेक श्रेष्ठको परिवारले वैदेशिक रोजगारीको तयारीमा रहेको युवालाई गुमायो । आन्दोलनमा सहभागी हजारौँ युवाका लागि यो दिन परिवर्तनको आकांक्षाको प्रतीक बने पनि मृतकका परिवारका लागि भने यो पीडा र प्रश्नको दिन बनेर बसेको छ ।

3b83f03d-77ee-4426-a0d3-8750b16113a7


एक वर्षपछि इटहरीले त्यो दिनलाई सम्झिँदा एउटा प्रश्न अझै महत्वपूर्ण देखिन्छ—परिवर्तनका लागि उठेको आन्दोलनमा निर्दोष नागरिकको ज्यान जानुपर्ने अवस्था किन आयो ? 


त्यस दिनको घटनाको निष्पक्ष छानबिन, गोली चलाउनुको आवश्यकता र जिम्मेवारी तथा मृतक र घाइतेका परिवारले पाउनुपर्ने न्यायबारे उठेका प्रश्नको स्पष्ट जवाफ आउन सके मात्रै जेनजी आन्दोलनको मानवीय पक्षले पूर्ण अर्थ पाउनेछ ।


भदौ २३ गते इटहरीको सडकमा देखिएको आक्रोश, धुवाँ र त्रासको त्यो दृश्य अब इतिहासको एउटा अध्याय बनेको छ । तर मोहन सरदार र अभिषेक श्रेष्ठका परिवारका लागि त्यो इतिहास होइन—अझै नसुकेको घाउ हो ।

itahari-aandolan-3-768x1024