काठमाडौँः रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावितको तत्कालीन मानवीय सहायताकै लागि नेपालले करिब सात अर्ब ५० करोड रुपियाँ खर्च गर्नुपर्ने देखिएको छ ।
संयुक्त राष्ट्रसङ्घको मानवीय सहायतासम्बन्धी संस्था (ओसिएचए)ले रसुवा, नुवाकोट, धादिङ, गोरखासहित बाढी प्रभावित छ जिल्लामा तत्काल मानवीय सहायताका लागि चार करोड ९६ लाख अमेरिकी डलर आवश्यक पर्ने देखाएको हो । ओसिएचले एक प्रतिवेदन सार्वजनिक गर्दै यसका लागि राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय समुदायलाई समेत सहयोगका लागि अपिल गरेको छ ।
गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट ८४ हजार २७० जना प्रभावित भएको अनुमान गर्दै यो परिमाणको सहायता आवश्यक रहेको औँल्याइएको हो । राष्ट्रसङ्घले सत्र स्थानीय तहका १९ हजार २८४ घरपरिवार बाढी प्रभावित रहेको र उनीहरूका लागि चार महिनाको आपत्कालीन राहत व्यवस्थापन गर्न सो रकम आवश्यक पर्ने अनुमान गरेको हो ।
विनाशकारी बाढीबाट घर, सडक, बजार, जलविद्युत् आयोजना, खानेपानी तथा सञ्चार संरचनामा ठुलो क्षति पुगेको छ तर यो प्रतिवेदनले यी पक्षको पुनर्निर्माणको खर्च समेटेको छैन । “भौतिक संरचनामा भएको क्षति र त्यसको पुनर्निर्माणका लागि विस्तृत अध्ययन जरुरी छ,” प्रतिवेदनमा भनिएको छ, “बाढी प्रभावितको जीवनरक्षाका लागि नेपाललाई यस्तो मानवीय सहायता चाहिएको हो ।”अध्ययन अनुसार ठुलो रकम स्वास्थ्य, अस्थायी आवास व्यवस्था, स्वस्थ पानी, पोषण तथा सुरक्षामा खर्च गर्नुपर्ने देखिएको छ ।




















