इटहरीः  नेपालको अग्रणी पूर्ण भिट्रिफाइड टायल ब्रान्ड लामिनारले इटहरीको हलगडामा नयाँ एम्पोरियो डिलर शोरुम सञ्चालनमा ल्याएको छ। कलर हाउस एण्ड सेनेटरीसँगको सहकार्यमा स्थापना गरिएको शोरुमको शुक्रबार उद्घाटन गरिएको हो।


नयाँ शोरुममार्फत ग्राहकलाई टायलको डिजाइनसँगै त्यसको गुणस्तर, टिकाउपन र प्रयोग हुने स्थानका आधारमा छनोट गर्न सहज बनाउने लक्ष्य लिइएको कम्पनीले जनाएको छ।


बर्दियास्थित कारखानामा उत्पादन हुने लामिनारका टायलहरू फुल्ली भिट्रिफाइड टायल्स हुन्। नेपाल स्ट्यान्डर्ड अनुरूपका यी टायलले निकै कम पानी सोस्ने तथा उच्च मजबुती प्रदान गर्ने भएकाले घर, होटल, कार्यालय, व्यावसायिक भवन तथा सार्वजनिक संरचनामा प्रयोगका लागि उपयुक्त रहेको कम्पनीको दाबी छ।


लामिनारका शोरुमहरूमा फुलबडी, एन्टिब्याक्टेरियल सर्फेस र हाइ–ग्लोस टायल्सलगायत ५०० भन्दा बढी डिजाइन उपलब्ध रहेको जनाइएको छ। कम्पनीका अनुसार बर्दियास्थित कारखानाबाट दैनिक १ लाख ४० हजार वर्गफुटभन्दा बढी टायल उत्पादन हुँदै आएको छ।


इटहरीमा पछिल्लो समय आवासीय घर, व्यावसायिक भवन तथा विभिन्न निर्माण आयोजना विस्तार भइरहेका छन्। निर्माण गतिविधि बढेसँगै टायल छनोटमा पनि ग्राहकको प्राथमिकता परिवर्तन हुँदै गएको व्यवसायीहरूको भनाइ छ। पछिल्लो समय ग्राहकले टायलको बाहिरी आकर्षणसँगै त्यसको प्रयोग हुने स्थान, मजबुती, सरसफाइ तथा मर्मतसम्भारको सहजतालाई समेत ध्यान दिन थालेका छन्।


यही आवश्यकतालाई ध्यानमा राखेर एम्पोरियो शोरुमलाई केवल टायल बिक्री गर्ने स्थानका रूपमा नभई ग्राहकलाई आवश्यक परामर्श उपलब्ध गराउने केन्द्रका रूपमा विकास गरिएको कम्पनीले जनाएको छ। शोरुममा ग्राहकले आफ्नो आवश्यकता र प्रयोग हुने स्थानअनुसार उपयुक्त टायल छनोट गर्न परामर्श लिन सक्नेछन्।


लुम्बिनी सेरामिक्सका निर्देशक अभिनव चुरीवालले शोरुममार्फत ग्राहकलाई टायलको गुणस्तर प्रत्यक्ष अवलोकन गरी आवश्यकता र प्रयोगअनुसार छनोट गर्न सहज हुने बताए।


उनले भने, “लामिनारका शोरुमहरूले ग्राहकलाई टायल्स राम्रोसँग हेर्न, गुणस्तर पहिचान गर्न र आफ्नो आवश्यकता अनुसार छनोट गर्न मद्दत गर्दछन्। अब टायलको छनोट डिजाइनका आधारमा मात्र नभई यसको उपयोगिताका आधारमा पनि गर्न सकिन्छ।”


कलर हाउस एण्ड सेनेटरीका सञ्चालक कमल कार्कीले पछिल्लो समय ग्राहकको रोजाइमा समेत परिवर्तन आएको बताए। उनका अनुसार टायल खरिद गर्दा ग्राहकले डिजाइनसँगै टिकाउपन र सरसफाइको सहजतालाई समेत प्राथमिकता दिन थालेका छन्।


“अहिले ग्राहकले टायल किन्दा डिजाइन मात्र हेर्दैनन्। टिकाउ छ कि छैन, सफा गर्न सजिलो छ कि छैन भन्ने कुरा पनि हेर्न थालेका छन्। यो शोरुमले त्यही कुरा बुझाउन सहयोग गर्छ,” कार्कीले भने।


शोरुममा टायल छनोट गर्दा डिजाइनसँगै प्रयोग हुने स्थान, चिप्लिने सम्भावना, टिकाउपन तथा मर्मतसम्भारको सहजताजस्ता पक्षमा समेत परामर्श दिइने कम्पनीले जनाएको छ। घरधनी, ठेकेदार, आर्किटेक्ट तथा संस्थागत ग्राहकलाई लक्षित गरी शोरुम सञ्चालनमा ल्याइएको हो।


उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा इटहरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जीवन पराजुली, घरेलु तथा साना उद्योग कार्यालय इटहरीका प्रमुख राजनकुमार पाण्डे, होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जयप्रकाश उपाध्यायलगायतको उपस्थिति थियो।


लामिनारले देशभर एम्पोरियो शोरुमको सञ्जाल विस्तार गर्दै टायलको गुणस्तर र उपयोगिताबारे ग्राहकलाई थप जानकारी दिने योजना अघि सारेको जनाएको छ। कम्पनीले आगामी दिनमा देशभर १६० भन्दा बढी एम्पोरियो शोरुम विस्तार गर्ने लक्ष्य लिएको छ।