काठमाडौंः भोटेकोशीमा आएको विनाशकारी बाढीको एक साता पुग्नै लाग्दा बाढीपीडितका लागि विदेशबाट धमाधम राहत सामग्री आउन थालेको छ । छिमेकी चीनले मंगलबार दोस्रो खेप राहत सामग्री पठाएको छ भने भारतको सिक्किमबाट पनि राहत सामग्री आइपुगेको छ । अस्ट्रेलिया, पाकिस्तानलगायतका देशले समेत राहत पठाउने तयारी गरेका छन् । जापानले भने छिट्टै राहत सामग्री पठाउने प्रतिबद्धता जनाएको छ ।
चिनियाँ जनमुक्ति सेनाको जहाजमार्फत चीन सहयोगअन्तर्गतको ‘आपत्कालीन राहत सामग्री’को दोस्रो खेप नेपाल आइपुगेको चिनियाँ दूतावासले जनाएको छ । चिनियाँ राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका छन् ।
नेपालले मृत शरीरको व्यवस्थापन तथा संरक्षणका लागि आवश्यक विशेष उपकरणसमेत प्राप्त गरेको छ । नेपालको आवश्यकता र अनुरोधका आधारमा ती सामग्री उपलब्ध गराइएको चिनियाँ दूतावासले जनाएको छ । राहत सामग्रीमा ड्रोन, डिएनए परीक्षण उपकरण तथा रिएजेन्ट, पानी शुद्धीकरण उपकरण र प्रकाश ९लाइटिङ० उपकरणलगायत तत्काल आवश्यक सामग्री समावेश छन् ।
डिएनए विश्लेषणमा विशेषज्ञता हासिल गरेको भारतको १९ सदस्यीय फरेन्सिक टोलीले १२ भदौदेखि नेपालमा सम्बन्धित नेपाली अधिकारीहरूसँग मिलेर काम गरिरहेको छ । चीनबाट चारजनाको फरेन्सिक टोली मंगलबार साँझ आइपुगेको छ । उनीहरू बुधबारदेखि विपत्ग्रस्त क्षेत्रमा खटिनेछन् ।
चीनले प्रभावित क्षेत्रको मुख्य जलवैज्ञानिक तथा मौसमसम्बन्धी तथ्यांक दैनिक रूपमा नेपालको जल तथा मौसम विज्ञान विभागलाई निरन्तर उपलब्ध गराउँदै आएको पनि जनाएको छ । अन्य नेपाली निकायहरूसँग पनि समयमै जलवैज्ञानिक जानकारी उपलब्ध गराइरहेको पनि दूतावासले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार नेपाली सेनासँगको समन्वयमा बाढी प्रभावित जलविद्युत् आयोजना स्थलमा भारतका दुई र चीनको एउटा सुरुङ उद्धार विशेषज्ञ टोलीले काम गरिरहेका छन् । भारतका १२–१२ जनाका दुई टोली छन् भने चीनको नौ सदस्यीय टोली कार्यरत छ । दक्षिण कोरियाली टोली पनि नुवाकोटमा सक्रिय छ । भारतीय सुरुङ उद्धार टोलीले चिलिमे र लाङटाङ जलविद्युत् आयोजना स्थलमा तथा चिनियाँ टोलीले माथिल्लो त्रिशूली ३ ए आयोजना स्थलमा काम गरिरहेको छ ।
सिंगापुरबाट विपत्पीडित पहिचान टोली परिचालनका लागि समन्वय भइरहेको सरकारले जनाएको छ । नेपालले अन्तर्राष्ट्रिय समुदायसँग तत्कालका लागि लिडार, बेलिब्रिज, फ्रिजर, डिएनए परीक्षण किट, लोड क्यारियर, शव राख्ने झोला, उच्च क्षमताका ड्रोन, जिन सिक्वेन्सर र अन्य सामग्रीको आपूर्तिका लागि अनुरोध गरेको छ ।
चीनले नेपाललाई चरणबद्ध रूपमा बेलिब्रिज दिने वचनबद्धता जनाएको छ । तिब्बत स्वशासित क्षेत्रबाट चीनले नेपाललाई बेलिब्रिज पठाउनेछ । ‘हामीले ३० वटा बेलिब्रिज चीनसँग मागेका छौँ, उसले यतिउति दिन्छौँ भनेको छैन, तर नेपालको आवश्यकताअनुसार क्षमताले भ्याएसम्म चरणबद्ध रूपमा बेलिब्रज उपलब्ध गराउने वचन दिएको छ । प्राविधिक टोलीसहित बेलिब्रिजको पहिलो खेप चाँडै नै आउनेछ,’ परराष्ट्रका एक अधिकारीले नयाँ पत्रिकासँग भने । चीनले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३० करोड रुपैयाँ सहयोग गरिसकेको छ ।
भारत सरकारले हालसम्म ६८।५ टन राहत तथा उद्धार सामग्री उपलब्ध गराइसकेको छ । भारतले २२ फिटको रेफ्रिजेरेटेड कन्टेनर ट्रक अस्थायी रूपमा उपलब्ध गराउने तयारी गरेको छ । अर्को दक्षिण एसियाली मुलुक पाकिस्तानले नेपाललाई ८६ टन राहत सामग्री उपलब्ध गराउँदै छ । श्रीलंकाले १० लाख अमेरिकी डलरबराबरको सहयोगको प्रतिबद्धता जनाएको छ । बंगलादेशले पनि राहत सामग्री पठाउने तयारी गरेको छ ।
नेपाललाई अमेरिकाबाट पाँच लाख अमेरिकी डलर र अस्ट्रेलियाबाट एक मिलियन अमेरिकी डलर ९नगद सहयोग०को प्रतिबद्धता आएको छ । युएईले ८३ टन अत्यावश्यक राहत सामग्री उपलब्ध गराइसकेको छ भने १० मिलियन डलरसम्मको सहयोगको प्रतिबद्धता जनाएको छ ।
कतारले पनि राहत सामग्री उपलब्ध गराएको छ । स्विट्जरल्यान्डबाट एक मिलियन स्विस ९संयुक्त राष्ट्र संघबाट खर्च हुने गरी० प्राप्त भएको छ । एसियाली विकास बैंक ९एडिबी०बाट बजेटरी सहयोग ९अनुदान०का लागि पाँच मिलियन अमेरिकी डलर, विश्व बैंकबाट १६७ मिलियन अमेरिकी डलरको सहुलियतपूर्ण कर्जा, एसियाली विकास बैंकबाट प्राविधिक सहायताका लागि एक लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता आएको छ । इयू र संयुक्त राष्ट्र संघका निकायहरूबाट पनि सहयोग प्राप्त भइरहेको सरकारले जनाएको छ ।
प्रधानमन्त्री भन्छन्– जलवायु विपत् प्रतिकार्य विश्वव्यापी जिम्मेवारी
प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तन विश्वव्यापी योगदान भएको उल्लेख गर्दै यसबाट सिर्जित समस्याहरूको प्रतिकार्य जिम्मेवारी पनि विश्वले लिनुपर्नेमा जोड दिएका छन् । उनले मंगलबार साँझ सामाजिक सञ्जालमार्फत यो उल्लेख गरेका छन् ।
‘हिमालय क्षेत्रको तापक्रम १।८ डिग्रीसम्म वृद्धि भइसकेको पुष्टि भएकाले सोही कारण यो विपत्ति आएकामा शंका छैन । जलवायु परिवर्तन विश्वव्यापी योगदान हो र विपत् प्रतिकार्य पनि विश्वव्यापी जिम्मेवारी रहन्छ,’ प्रधानमन्त्रीले भनेका छन्, ‘हामीले विज्ञहरूसँग छलफल गर्दा रसुवाको भोटेकोशी नदीमा आएको बाढी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिमपहिरोबाट सिर्जित यस क्षेत्रकै ठुलो विपत्ति भएको कुरा आएको छ । यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको गम्भीर संकेत गरेको छ । त्यसैले यो क्षेत्र सचेत त हुनैपर्छ ।’
जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपत्को विषयबारे अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो गरी प्रस्तुत हुनुपर्ने समय आएको पनि प्रधानमन्त्रीले उल्लेख गरेका छन् । ‘हिउँचट्टान किन खस्यो रु यति धेरै पानी कसरी आयो रु भन्ने प्रश्नको जवाफ मानव सभ्यतालाई जवाफ दिनैपर्छ । यो हिमनदीभित्र पग्लिएको पानीको कारणले गर्दा हिमनदीको पतनमा बरफ र पानी दुवै मिसिएको हुन सक्छ,’ विज्ञहरूलाई उद्धृत गर्दै प्रधानमन्त्री शाहले भनेका छन्, ‘भोटेकोशी नदीमा आएको बाढी, हिमनदीको एउटा सिंगै भाग ठुलो उचाइबाट खस्दा ठुलो ऊर्जासहित खसेको हुन सक्छ र खसेकै ठाउँमा पग्लिन सुरु गरी निरन्तर पग्लिँदै ठुलो बाढीको रूप लिएको हुन सक्छ । हिमालयको उचाइबाट नेपालतर्फको भूमि ओरालो लाग्दै गएकाले बाढीले थप गति लिँदै सो क्षेत्र क्षतविक्षत पारेको छ ।’
चीनले नेपालमा हिमचट्टान फुटेर बाढी आएको सुरुदेखि बताउँदै आएको छ । तर, नेपालले यसको कारण जलवायु परिवर्तन भएको उल्लेख गरेको छ । नेपालमा हिमचट्टान फुटेर बाढी आएको चिनियाँ भनाइलाई नेपालले वास्ता गरेको छैन ।
नेपाल–जापानका प्रधानमन्त्रीबिच टेलिफोन वार्ता
नेपालका बाढीपीडितका लागि जापानले छिट्टै राहत सामग्री पठाउने जानकारी दिएको छ । प्रधानमन्त्री बालन्द्र शाहसँगको टेलिफोन वार्तामा जापानी समकक्षी ताकाइची सानाएले जापानले नेपाललाई राहत सामग्री पठाउन लागेको जानकारी गराएकी हुन् ।
नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा मंगलबार दुई प्रधानमन्त्रीबिच करिब १० मिनेट टेलिफोन वार्ता भएको थियो । वार्तामा प्रधानमन्त्री शाहले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति तथा राहत र उद्धारका प्रयासबारे जानकारी गराएका थिए ।
प्रधानमन्त्री शाहसँग बाढीबारे कुराकानी गर्ने ताकाइची तेस्री विदेशी समकक्षी हुन् । भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीपछि शाहसँग यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले पनि टेलिफोन वार्ता गरेका थिए ।
जापानी विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह र जापानी समकक्षी ताकाइची सानाएबिच करिब १० मिनेट टेलिफोन वार्ता भएको थियो । वार्ताको सुरुवातमा जापानी प्रधानमन्त्री ताकाइचीले २६ अगस्टमा नेपाल–चीन सिमानानजिकका क्षेत्रमा गएको आकस्मिक बाढी र पहिरोका पीडितप्रति समवेदना व्यक्त गरेकी थिइन् ।
ताकाइचीले बाढीमा बेपत्ता भएका पाँचजना जापानी नागरिकको यथाशीघ्र खोजी तथा उद्धारका लागि प्रधानमन्त्री शाहसँग आग्रहसमेत गरेकी थिइन् । प्रधानमन्त्री शाहले खोजी तथा उद्धारको प्रयास निरन्तर भइरहेको जानकारी गराएका थिए ।
जापानी प्रधानमन्त्रीले जापान सरकारले तत्काल उपलब्ध गराउने निर्णय गरेका त्रिपाल, कम्बललगायत आपत्कालीन राहत सामग्री छिट्टै नेपाल आइपुग्ने जानकारी दिइन् । उनले जापानले अन्तर्राष्ट्रिय संघ–संस्थामार्फत वा जापानी विपत् राहत टोली परिचालन गरी थप सहयोग गर्ने तयारी गरिरहेको पनि बताइन् । यो खबर आजको नयाँपत्रिका दैनिकबाट लिइएको हो ।




















