पश्चिम नवलपरासीः चीनको तिब्बतबाट सुरु भएर नेपालको पहाडी क्षेत्रमा वितण्डा मच्चाएको बाढीमा परेर मृत्यु भएकाको शव भारतसमेत पुगेको पाइएको छ । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा परी मृत्यु भएकाको शव नारायणी नदीमा बग्दै भारतसम्म पुगेपछि नेपाल र भारतका सुरक्षा निकायले सीमावर्ती क्षेत्रमा खोजी तीव्र पारेका छन् ।
भारतीय क्षेत्रमा फेला परेका शव नेपाल ल्याउने क्रम पनि सुरु भएको छ । पछिल्ला तीन दिनमा भारतका विभिन्न स्थानमा फेला परेका नौ वटा शव भारतीय सुरक्षा निकायले नेपाललाई हस्तान्तरण गरेका छन् । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार भदौ १४ गते चार, १५ गते एक र १६ गते चार गरी नौ वटा शव महेशपुर भन्सार नाकाबाट नेपाल ल्याइएको हो । भारतीय सुरक्षा निकायले फेला पारेका शव इलाका प्रहरी कार्यालय महेशपुरमार्फत नेपाल ल्याएर पृथ्वीचन्द्र अस्पताल परासीमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन थापाका अनुसार भारतको महाराजगन्ज र पश्चिम चम्पारण जिल्लाका सुरक्षा निकायसँग समन्वय गरी भारतीय भूभागमा खोजी तथा निगरानी बढाइएको छ ।
प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले सीमावर्ती भारतीय जिल्लाका जिल्ला (डिएम) तथा सुरक्षा निकायसँग निरन्तर समन्वय भइरहेको बताए । उनका अनुसार भारतीय क्षेत्रमा फेला परेका शवलाई सीमासम्म ल्याउने र नेपालले बुझेर आवश्यक प्रक्रिया पूरा गरी व्यवस्थापन गर्ने गरिएको छ । “सुस्ताक्षेत्रमा धेरै शव भेटिन थालेपछि भारततर्फ पनि खोजीका लागि समन्वय गरेका छौँ,” उनले भने, “भारतीय सुरक्षा निकायले उतै खोजी गरी सीमासम्म ल्याउने र हामीले बुझेर शव व्यवस्थापन गरिरहेका छौँ ।”
नारायणी नदीको बहाबसँगै बाढीमा बगेका शव गण्डक बाँधक्षेत्रबाट करिब एक सय किलोमिटर टाढासम्म पुगेका छन् । मङ्गलबार भारतीय सुरक्षा निकायले नेपाललाई बुझाएका चार शव उत्तर प्रदेशको कुशीनगरमा फेला परेका थिए । यसअघि फेला परेका अन्य शव भने महाराजगन्ज जिल्लाका नदी किनारमा भेटिएका थिए । पश्चिम नवलपरासीमा मात्रै मङ्गलबारसम्म १८० वटा शव फेला परिसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तीमध्ये ९८ शवबाट डिएनए नमुना सङ्कलन गरी व्यवस्थापन गरिएको छ । पहिचानका लागि बाँकी शवबाट समेत नमुना सङ्कलन गर्ने काम भइरहेको छ । फेला परेका शवको पहिचान तथा व्यवस्थापनका लागि सुनवल र बर्दघाट क्षेत्रका सामुदायिक वनमा व्यवस्थापन गर्ने व्यवस्था मिलाइएको छ तर ठुलो सङ्ख्यामा शव फेला परेपछि व्यवस्थापनमा चुनौती थपिएको छ । यो खबर आजको गोरखापत्रबाट लिइएको हो ।




















