इटहरीः भोटेकोशी र त्रिशूली नदी क्षेत्रका जलविद्युत् परियोजनाका सुरुङमा फसेका अनुमानित पाँच सयभन्दा धेरै मजदुर–कर्मचारीको पाँच दिनसम्म पनि उद्धार हुन सकेको छैन । सरकारले निकै ढिला मात्रै भारतीय र चिनियाँ पक्षलाई पनि उद्धारका लागि अनुमति दिएपछि दुई देशका उद्धारकर्ता आइतबारदेखि मात्रै खटिएका छन् । 


राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इप्पान०को तथ्यांक विश्लेषणमा विभिन्न जलविद्युत् आयोजनामा एक हजारहाराहारी सम्पर्कविहीन छन् । उनीहरू आयोजनाका हेडवक्र्स, पावरहाउस, सुरुङ, कर्मचारी आवासक्षेत्रलगायत ठाउँमा रहेका कामदार, कर्मचारी र इन्जिनियरहरू हुन् । यीमध्ये पाँच सयभन्दा धेरै आयोजनाका सुरुङभित्र छन् । प्राधिकरणका अनुसार ती आयोजनाका २७९ जनाको भने उद्धार भएको छ । बाढीबाट माथिल्लो त्रिशूली १, त्रिशूली ३ ‘ए’, माथिल्लो त्रिशूली ३ ‘बी’, चिलिमे, लाङटाङ र रसुवागढी जलविद्युत् क्षतिग्रस्त भएका छन् । 


माथिल्लो त्रिशूली १ मा ५७६ सम्पर्कविहीन, तीन सयभन्दा बढी सुरुङभित्र

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को तथ्यांकअनुसार माथिल्लो त्रिशूली १ मा ५७६ जना सम्पर्कविहीन छन् जसमध्ये तीन सयभन्दा बढी सुरुङभित्र फसेको अनुमान छ । अरू भने पावरहाउस, आवास क्षेत्रलगायत ठाउँबाट बेपत्ता भएका छन् । 


परियोजनाका प्रोजेक्ट म्यानेजर गिरिराज अधिकारीले ५७६ कर्मचारी सम्पर्कविहीन भएको बताए । ‘यसअघि बाँधलगायत क्षेत्रबाट २५४ जनाको उद्धार भएको हो, तर अझै ५७६ जना सम्पर्कविहीन छन्,’ उनले भने, ‘तीमध्ये तीन सयभन्दा धेरै सुरुङभित्र रहेको अनुमान छ ।’ 


६५ अर्ब लागतको कोरियन लगानीको २१६ मेगावाटको यो परियोजना निर्माणको अन्तिम चरणमा थियो । ८६ प्रतिशत काम सकिएको परियोजना एक वर्षभित्र सञ्चालनमा ल्याउने गरी एक हजारभन्दा बढी कर्मचारी परिचालन गरिएको थियो । बाढीपछि हालसम्म परियोजनाका १० कोरियनसहित २५४ जनाको उद्धार भएको छ । 


परियोजनाको झन्डै १० किलोमिटर लामो सुरुङ ब्रेक थ्रु भइसकेकाले सुरुङभित्र अक्सिजन प्रवाह हुन्छ । जसले सुरुङभित्र जीवन तुलनात्मक रूपमा सहज बनाउँछ । तर, चिनियाँ उद्धार टोलीले बिहीबारदेखि खोजी थालेको छ । 


माथिल्लो त्रिशूली– ३ ‘ए’मा  ४२ कर्मचारी सम्पर्कविहीन, सुरुङभित्र ३५ 

त्रिशूली ३ ‘ए’ मा ४२ जना सम्पर्कविहीन छन्, जसमा ३५ जना सुरुङभित्र रहेको बताइएको छ । सञ्चालनमा आइसकेको यो परियोजना विद्युत् प्राधिकरणकै हो । ४२ कामदार मर्मतसम्भारका लागि परियोजनामा थिए । यहाँ सेनासहित प्राविधिकले उद्धारको प्रयास गरे पनि सुरुङको मुख नै पहिचान गर्न नसकेकामा आइतबार दिउँसो ‘क्राउन हेड’ ९सुरुङको मुख्य भाग०मा पुगेर प्वाल पार्न सफल भएका थिए ।


डोरीको सहायताले उद्धार टोली तल झरेर बोलाउँदा भित्रबाट कुनै प्रतिक्रिया नआएपछि ब्लास्टिङ तथा प्वाल थप फराकिलो पार्ने काम गरिरहेका छन् । टनेल सफा गरिसकेपछि अक्सिजनसहित उद्धारकर्मीलाई टेनेलभित्र पठाउने तयारी छ । उनीहरूको साथमा क्यामेरा हुनेछ ताकि भित्रको वास्तविक अवस्था बाहिरबाट पनि अवलोकन गर्न सकियोस् । पावरहाउसको टर्वाइन मेसिन हलसम्म पुगेपछि भित्र फसेकाहरूको वास्तविक अवस्था, स्थान र सुरक्षास्थितिबारे थप यकिन हुने अपेक्षा गरिएको छ । 


त्यस्तै, उद्धारमा प्रयोग गर्न आइतबार हेलिकोप्टरमार्फत एक्स्काभेटर र डोजर नुवाकोटको बट्टार पु¥याइएको छ । खण्ड–खण्ड गरेर लगिएकोमा परियोजनास्थलमै पुर्‍याएर फिट गरी प्रयोग गर्ने प्राधिकरणले जनाएको छ । 


लाङटाङ जलविद्युत्को सुरुङभित्र ४१ जना 

निजी क्षेत्रले निर्माण गरिरहेको २० मेगावाटको लाङटाङ जलविद्युत्को सुरुङमा ४२ जना फसेको बताइएको छ । आइतबार त्यस क्षेत्रमा भारतीय टोलीले हेलिकोप्टरबाट रेकी गरी अवलोकन गरेको थियो । अब सोही टोलीले उद्धार थाल्नेछ । आइतबारै नेपाली सेना परिचालन गरिएकामा कुनै सफलता मिलेन । यही परियोजनामा सुरुङबाहिर रहेका १९ जनाको यसअघि नै उद्धार भइसकेको छ । 


माथिल्लो त्रिशूली–३ ‘बी’का २१३ जना सम्पर्कविहीन

विद्युत् प्राधिकरणले निर्माण गरिरहेको ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ ‘बी’का २१३ कर्मचारी, श्रमिक तथा इन्जिनियर सम्पर्कविहीन छन् । जसमा १२५ जना फेवा कन्स्ट्रक्सनका कर्मचारी हुन् । यीमध्ये कतिलाई बाढीले बगायो र कति सुरुङभित्र छन् भन्ने निश्चित छैन । यो माथिल्लो त्रिशूली ३ ‘ए’कै क्यासकेड परियोजना हो । दुई वर्षभित्र सञ्चालनमा ल्याउने भनिएको परियोजनामा पूर्ण क्षमतामा काम भइरहेको थियो । पावरहाउससहित अधिकांश सिभिल संरचना निर्माणको अन्तिम चरणमा थिए । तर, बाढीले परियोजनाको सुरुङबाहेक पावरहाउसलगायत सबै पूर्वाधार पूर्ण रूपमा बगाएको छ । सुरुङ पनि लेदोले भरिएको छ । नेपाली सेनासहित चीनबाट आएको टोली आइतबार यो परियोजनामा परिचालन भए पनि संरचना रहेको स्थान मात्रै पहिचान गर्न सफल भएको छ । 


चिलिमेको सुरुङमा आठजना अलपत्र

विद्यत् प्राधिकरणकै २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाको भूमिगत सुरुङ तथा विद्युत्गृहमा पनि आठजना फसेका छन् । परियोजना सञ्चालनका लागि उनीहरू त्यहाँ गएका थिए । संरचना रहेको स्थलमा आइतबार भारतीय प्राविधिक टोलीसमेतको सहभागितामा उद्धार सुरु गर्न थालिएको थियो । तर, पुनः आएको बाढीले यसअघि बचेखुचेका बाँध क्षेत्रका संरचना पनि भत्काएपछि उद्धार रोकिएको छ । प्रवद्र्धक चिलिमे जलविद्युत् कम्पनीका अनुसार विद्युत्गृहमा फसेकाहरूको उद्धारका सम्बन्धमा के गर्ने भन्नेबारे सोमबार निर्णय गरिने भएको छ । 


रसुवागढी जलविद्युत्का ९३ जना सम्पर्कविहीन

सञ्चालनमा आइसकेको रसुवागढी जलविद्युत् परियोजनामा नियमित सञ्चालन तथा मर्मतका लागि गगएका ९३ जना सम्पर्कविहीन छन् । यहाँ आइतबार मात्रै उपकरणसहित उद्धार टोली पुगेको छ, तर काम हुन सकेको छैन । हराइरहेकामा कम्पनीका ४९ कर्मचारी, निर्माण कम्पनी शेर्पा हाइड्रो कन्स्ट्रक्सनका ३५ र दुई अन्य ज्यालादारी कर्मचारी छन् । त्यस्तै, सिडब्लुईका चार र भनस कन्स्ट्रक्सनका तीनजना हराइरहेका छन् । 


यसअघि भूमिगत डिसेन्डरमा फसेका ६ जनामध्ये चारजना दुई दिन लगाएर आफैँ बाहिर निस्कन सफल भएपछि सेनाले हेलिकोप्टरबाट उद्धार गरेको थियो । उनीहरू काठमाडौं आइसकेका छन् । त्यस्तै, अन्य तीनजनाले पनि वेलैमा सुरक्षित स्थानमा पुगेर ज्यान जोगाएका थिए । 


अन्य जलविद्युत् आयोजनामा पनि फसेका छन् मान्छे

१२० मेगावाटको रसुवा भोटेकोशी जलविद्युत्का चार र पाँच मेगावाटको मैलुङ खोला जलविद्युत्का सातजना सम्पर्कविहीन छन् । उनीहरूको उद्धार कार्य अझै सुरु हुन सकेको छैन । त्यस्तै, २४ मेगावाटको त्रिशूली जलविद्युत्का दुई, १४।१ मेगावाटको देवीघाट जलविद्युत्का एक र १५।६ मेगावाटको मिडिल त्रिशूलीका दुईजना पनि सम्पर्कमा छैनन् । त्यसैगरी, त्रिशूली ३ ‘बी’ हब सबस्टेसनका १६, चिलिमे त्रिशूली २२० केभी प्रसारणलाइनका दुई र रसुवा वितरण केन्द्रका एकजना सम्पर्कविहीन छन् । यो खबर आजको नयाँपत्रिका दैनिकबाट लिइएको हो ।