इटहरीः सप्तकोशी नदीमा जलसतह र पानीको बहाव निरन्तर बढेपछि कोशी ब्यारेजका २५ वटा ढोका खोलिएका छन्। सोमबार बिहान २ः१६ बजे गरिएको जलसतह मापनअनुसार ब्यारेजमा प्रतिसेकेन्ड २ लाख १९ हजार ५०५ क्युसेक पानीको प्रवाह भइरहेको छ।
लगातार पानीको बहाव बढ्दै गएपछि ब्यारेजका २५ वटा ढोका खोलिएको हो। सप्तकोशीमा पानीको बहाव बढेसँगै कोशी आसपासका बस्ती तथा तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले स्थानीय प्रशासनले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
कोशी ब्यारेजमा पानीको प्रवाह १ लाख ५० हजार क्युसेक नाघेपछि सर्वसाधारणलाई सचेत गराउन खतराको सङ्केतस्वरूप ब्यारेजको पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ। हाल ब्यारेज क्षेत्रमा पानीको बहाव उक्त सीमाभन्दा धेरै माथि रहेकाले सावधानी अपनाउन आग्रह गरिएको हो।
यद्यपि, हालसम्म सप्तकोशीका कारण सुनसरीलगायत आसपासका क्षेत्रमा डुबानको प्रत्यक्ष जोखिम नरहेको जनाइएको छ। तर आइतबार दिउँसोदेखि नै नदीको जलसतह निरन्तर बढिरहेको भन्दै सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन भनिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले सप्तकोशी आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन तथा जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरेको छ। नदीको बहाव थप बढ्न सक्ने भएकाले तटीय तथा नदी किनार क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन प्रहरीले अनुरोध गरेको छ।
प्रहरीले सप्तकोशी नदीमा माछा मार्ने, दाउरा सङ्कलन गर्ने तथा अन्य प्रयोजनका लागि नदी किनारमा जाने कार्य नगर्नसमेत आग्रह गरेको छ। नदीको बहाव र जलसतहमा आउने परिवर्तनलाई ध्यान दिँदै स्थानीय बासिन्दाले आवश्यक सतर्कता अपनाउनुपर्ने प्रहरीले जनाएको छ।
सम्बन्धित निकायले नदीको जलसतह तथा बहावको नियमित अनुगमन गरिरहेको जनाइएको छ। पानीको बहाव अझै बढेमा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई थप सचेत गराउँदै आवश्यक सुरक्षा तथा उद्धारका उपाय अघि बढाइने बताइएको छ।




















