इटहरी:  रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि रिलायबल फुड्स एन्ड बेभरेज प्रा.लि.ले २ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ।


कम्पनीको एक्सट्रेयल इनर्जी ड्रिंक्समार्फत बाढीपीडितका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरिएको कम्पनीका मदन चुडालले जानकारी दिएका छन्। बाढीका कारण ठूलो जनधनको क्षति भएको र सयौँ परिवार प्रभावित बनेको अवस्थामा तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले आर्थिक सहयोग गर्न लागिएको उनले बताए।


कम्पनीले विपद्को यस कठिन समयमा बाढीबाट प्रभावित परिवारको पीडामा साथ दिनु सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्नो दायित्व भएको जनाएको छ। प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने अभियानमा निजी क्षेत्रको समेत महत्वपूर्ण भूमिका रहने भन्दै कम्पनीले आफ्नो तर्फबाट सहयोगको हात अघि बढाएको हो।


रसुवामा आएको भीषण बाढीले मानव बस्ती, जलविद्युत् आयोजना, सडक तथा पुललगायतका भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण कतिपय परिवार विस्थापित भएका छन् भने प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनर्स्थापनाको आवश्यकता अझै रहेको छ।

b4512039-b396-47e1-a14d-b8cf7f36dc97


यस्तो संकटको समयमा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन विभिन्न संघसंस्था, व्यवसायी तथा निजी क्षेत्रबाट सहयोग जुटिरहेको छ। रिलायबल फुड्स एन्ड बेभरेज प्रा.लि.ले पनि मानवीय संवेदनालाई प्राथमिकतामा राख्दै बाढीपीडितको राहतका लागि २ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको जनाएको छ।


कम्पनीका अनुसार उक्त सहयोगले विपद्बाट प्रभावित परिवारलाई आवश्यक राहत तथा सहयोग उपलब्ध गराउने प्रयासमा केही योगदान पुग्ने अपेक्षा गरिएको छ। कम्पनीले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने जनाएको छ।