इटहरीः लाङटाङ लिरुङ हिमालको उत्तरपट्टिको चुचुरोभन्दा केही तलबाट हिउँको ठुलो हिस्सा चोइटिएर झरेपछि उच्च वेगको हिमबाढी सिर्जना भएको तथ्य वैज्ञानिक अध्ययनले पनि पुष्टि गरेको छ । चीन तथा नेपालका हिम वैज्ञानिकहरूले भूउपग्रह र ड्रोनबाट खिचिएको तस्बिरको अध्ययन विश्लेषणपछि हिमालको हिस्सा चोइटिएर ल्हेन्दे खोलाबाट भोटेकोशीहुँदै विनाशकारी हिमबाढी नेपाल प्रवेश गरेको ठहर गरेका हुन् । उक्त निष्कर्ष राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि स्वीकारेको छ । 


हिमबाढी आएको दिन बुधबार उक्त क्षेत्रबाट दुई करोड घनमिटर बराबरको पानी भोटेकोशीहुँदै चितवनको देवघाट क्षेत्र पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सामान्य बगिरहेको पानीको घनत्व घटाएर उक्त तथ्य निकालिएको नेपालका बाढीविज्ञ विनोद पराजुलीले बताए । बाढी उद्गमस्थलमा बनेको तालको पानी फुट्न सक्ने खतरा अझै उच्च छ । 


बढीविज्ञ विनोद पराजुलीका अनुसार शुक्रबार राति उक्त तालको अत्यधिक पानी ड्यामबाट बाहिरिएको छ । जसले दिउँसोभन्दा बढी बहाब भोटेकोशीमा बढेको छ । चीनतर्फबाट रसुवा प्रहरी कार्यालयमा बाढीको बहाब बढेको खबर आएलगत्तै काठमाडौँ खबर आइपुगेको जानकारी पराजुलीले दिए ।


उनका अनुसार ताल फुटेर बहाब बढेको हो वा बढी पानी बगेकै कारण बहाब बढेको हो भन्ने कुरा राति अबेरसम्म पनि यकिन भएको छैन । त्यसका लागि चिनियाँपक्षसँगको सम्पर्क कायम गरेर जानकारी लिन अबेरसम्म प्रयास जारी राखिएको छ । बहाब बढेकाले त्रिशूली नदी तटीय क्षेत्रदेखि चितवनको मुग्लिङसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । 

ई दिन यता नेपाल–चीन सीमाक्षेत्रस्थित नदीको माथिल्लो भागको नेपालतर्फको सहायक नदीमा हिउँ र चट्टानसहितको हिमपहिरो जाँदा विनाशकारी बाढीको प्रकोप नेपाल र चीन दुवैतर्फ परेको नेपालस्थित चीनको दूतावासले जनाएको छ ।

शुक्रबार वक्तव्य जारी गर्दै दूतावासले भनेको छ, “नेपाल र चीन दुवैतिर उद्धार र आपत्कालीन प्रतिकार्य अहिले अत्यन्तै महìवपूर्ण चरणमा छ, पहिरोले बनाएको तालको तल्लो तटीय क्षेत्रका स्थानीय समुदाय र सम्बन्धित कर्मचारीलाई नदीको पानीको स्तरमा हुने परिवर्तनलाई नजिकबाट निगरानी गर्न जरुरी छ ।” अत्यधिक सतर्क रहन र रोकथामसहित आपत्कालीन प्रतिकार्यका लागि आवश्यक तयारी गर्न पनि दूतावासले आग्रह गरेको छ ।

त्यस्तै नेपाल र चीन दुवैतर्फ समन्वयकारी भूमिका अपनाउँदै परिस्थितिको अनुगमन र जोखिमको मूल्याङ्कन र व्यवस्थापन कार्य भइरहेको पनि चीनको नेपालस्थित दूतावासले प्रस्ट पारेको छ । आमनागरिकलाई आधिकारिक सूचनाको पालना गर्न, अप्रमाणित सूचनाबाट टाढा रहन र अनावश्यक भय सिर्जना नगर्न पनि आग्रह गरिएको छ ।


बगे जलमापन स्टेसन 


भोटेकोशीको बाढीले जल तथा मौसम विज्ञान विभागको पाँच वटा जलमापन स्टेसन बगाएको छ । जसका कारण नदीको जलसतह मापनको वैज्ञानिक सूचना दुई दिनयता ठप्प रहेको छ । पराजुलीका अनुसार विभागले स्थापना गरेको रसुवा, स्याफ्रुबेँसी, लाङटाङ, बेत्रावती र मलेखुको जलमापन स्टेसन बाढीले बगाएको हो । उनले थपे, “यसले बाढीको सतह कति बढ्यो भनेर कसरी जानकारी लिने भन्ने चिन्ता बढाएको छ, शनिबार रसुवामा सिसिटिभी राखेर भए पनि बाढी अनुगमन गर्न सकिने वा नसकिने भन्नेबारेमा अध्ययन गर्न हामी जाँदै छौँ ।”


४५० वर्षपछिको ठुलो हिमबाढी


हिम अध्यता डा. रिजनभक्त कायस्थले नेपालमा महाविपत्ति ल्याउने गरी ४५० वर्षपछि आएको सबैभन्दा ठुलो हिमबाढी हो । यस्तो विपत्ति त्यसअघि एक पटक पोखरा उपत्यकामा आएको थियो । जसले पूरै पोखरा सहर पुरिएको अध्ययनले औँल्याएको जानकारी दिए । दक्षिण एसिया क्षेत्रमै पनि यति ठुलो हिमबाढी आएको पहिलो हुन सक्ने अनुमान अर्का अध्यता डा.सुदीप ठकुरी औँल्याए  । नेपालका हिमालमा चर्को रूपमा पर्दै गएको उच्च तापक्रमको असरका कारण यसरी पग्लेर झर्ने, ताल बन्ने र विस्फोट हुने क्रम तीव्र बन्दै गएको छ । यो खबर आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।