सुनसरीः सुनसरीको रामधुनी नगरपालिकाले करार सेवामा सहायक कम्प्युटर अपरेटर पदपूर्तिका लागि सञ्चालन गरेको लिखित परीक्षाको नतिजा विवादित बनेपछि स्थानीय आक्रोशित भएका छन् । स्थानीयले मंगलबार नगर प्रमुख शंकरलाल चौधरी र प्रमुख प्रशासकीय अधिकृत तेज नारायण यादवको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
नगरपालिकाले भूमि व्यवस्थापनतर्फ मालपोत कार्यालयको सेवा सञ्चालन गर्ने तयारीसँगै ६ जना सहायक कम्प्युटर अपरेटर नियुक्तिका लागि गत आइतबार लिखित परीक्षा सञ्चालन गरेको थियो । परीक्षाको नतिजा सार्वजनिक भएपछि छनोट प्रक्रियामाथि प्रश्न उठाउँदै स्थानीयले विरोध जनाएका हुन् ।
नतिजामा नाम सार्वजनिक भएकामध्ये अधिकांश जनप्रतिनिधिका आफन्त रहेको भन्दै स्थानीयले परीक्षा तथा छनोट प्रक्रिया निष्पक्ष नभएको आरोप लगाएका छन् । उनीहरूले लिखित परीक्षाको नतिजा तत्काल रद्द गरी पुनः निष्पक्ष प्रक्रिया अपनाउन माग गरेका छन् ।
परीक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै सोमबार नगरपालिका पुगेका स्थानीयसँग नगर उपप्रमुख तारा थापाले परीक्षा रद्द गर्ने प्रतिबद्धता जनाएकी थिइन् । तर परीक्षा रद्द गर्न कार्यपालिका बैठकबाट निर्णय गर्नुपर्ने अवस्था रहे पनि नगर प्रमुख चौधरीले फोन नउठाएको र प्रमुख प्रशासकीय अधिकृत यादव काठमाडौं गएको भन्दै स्थानीयले मंगलबार दुवै जनाको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
स्थानीय भीम लुइँटेलले उपप्रमुखले परीक्षा रद्द गर्ने प्रतिबद्धता जनाए पनि त्यसका लागि आवश्यक कार्यपालिका बैठक बस्न नसकेपछि बाध्य भएर तालाबन्दी गरिएको बताए । उनका अनुसार स्थानीयको मुख्य माग लिखित परीक्षाको नतिजा रद्द गरी निष्पक्ष रूपमा पुनः परीक्षा सञ्चालन गर्नु हो ।
नगर उपप्रमुख तारा थापा भने मंगलबार कार्यालयमै उपस्थित छिन् । समस्या समाधानका लागि आफू कार्यकक्षमै बसेर निरन्तर छलफलमा रहेको उनले बताइन् ।
नगर प्रमुख चौधरी र प्रमुख प्रशासकीय अधिकृत यादव भने मंगलबार कार्यालयमा उपस्थित छैनन् ।
यसैबीच, नगरपालिकाले सोमबार सूचना जारी गर्दै विवादका कारण सहायक कम्प्युटर अपरेटर पदको मौखिक परीक्षा तत्कालका लागि स्थगित गरेको थियो । तर लिखित परीक्षाको नतिजा भने रद्द गरिएको छैन । नतिजा र परीक्षा प्रक्रियालाई लिएर स्थानीयको असन्तुष्टि कायमै रहेकाले विवाद थप चर्किएको छ ।




















