काठमाडौँः  जिल्ला प्रशासन कार्यालय काठमाडौँले निजी रूपमा सञ्चालनमा रहेका छात्रावास ९होस्टेल० हरूलाई एक महिनाभित्र सरकारले तोकेका मापदण्ड पूर्ण रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ।

कार्यालयले जारी गरेको सूचनामा काठमाडौँ जिल्लाभित्र सञ्चालित छात्रावासबारे विभिन्न प्रकारका गुनासा प्राप्त भएकाले नियमित तथा आकस्मिक अनुगमनलाई तीव्र बनाइएको जनाएको छ। अनुगमनका क्रममा मापदण्ड उल्लंघन गर्ने केही छात्रावासलाई तीन लाख रुपियाँसम्म जरिवाना गरिनुका साथै सिलसमेत गरिएको प्रशासनले उल्लेख गरेको छ।

सूचनाअनुसार केही छात्रावासमा विद्यार्थीमाथि अमानवीय व्यवहार हुने, तोकिएकोभन्दा बढी शुल्क असुल्ने, कमजोर भौतिक पूर्वाधारमा सञ्चालन हुने, सरसफाइमा ध्यान नदिइएको, खाद्यान्न तथा खानेपानीको गुणस्तर कमजोर रहेको तथा सुरक्षा व्यवस्था अपर्याप्त रहेको पाइएको छ।

त्यस्तै, छात्रावासभित्र लागुऔषध तथा मदिराजन्य पदार्थको दुरुपयोग हुने गरेको, पर्याप्त अध्ययन कक्ष, पुस्तकालय तथा मनोरञ्जन कक्षको व्यवस्था नभएको लगायतका गुनासासमेत आएको प्रशासनले जनाएको छ। केही घटनामा छात्रावासभित्र झुन्डिएर विद्यार्थीको मृत्यु भएको घटनासमेत भएको सूचनामा उल्लेख छ।

जिल्ला प्रशासन कार्यालयले सबै निजी छात्रावास सञ्चालकलाई एक महिनाभित्र आवश्यक सुधार गर्न निर्देशन दिँदै तोकिएका मापदण्ड अनिवार्य रूपमा पालना गर्न चेतावनी दिएको छ।