उदयपुरः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले डिभिजन वन कार्यालय गाईघाट उदयपुरमा कार्यरत एक वन अधिकृतलाई घुससहित रंगेहात नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले कार्यालयका सातौँ तहका वन अधिकृत तथा सूचना अधिकारी भुवन पौडेललाई नगद १६ हजार २५० रुपैयाँसहित कार्यकक्षबाट बिहीबार नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाका आधारमा अख्तियारको टोलीले बिहीबार दिउँसो पौडेललाई एक सामुदायिक वन उपभोक्ता समूहबाट लिएको रकमसहित नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । अख्तियारको टोलीले कार्यालयमै निगरानी बढाएर रकमसहित उनलाई नियन्त्रणमा लिएको जनाइएको छ ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले डिभिजन वन कार्यालय गाईघाटमा कार्यरत पौडेललाई अख्तियारको टोलीले नगदसहित नियन्त्रणमा लिएको जानकारी दिए ।
पक्राउ परेका पौडेलमाथि एक सामुदायिक वन उपभोक्ता समूहसँग सम्बन्धित काम सहज रूपमा गराइदिने भन्दै रकम मागेको आरोप छ ।
त्रियुगा नगरपालिका– १४ स्थित समूहसँग रकम लिएको भएता पनि सो सामुदायिक वनको नाम खुलाइएको छैन । अख्तियारको टोलीले घटनासँग सम्बन्धित थप विवरण र प्रमाण संकलन गर्ने तथा आवश्यक अनुसन्धान अघि बढाउने जनाएको छ ।
डिभिजन वन कार्यालय गाईघाटका केही कर्मचारीले उपभोक्ता समूह तथा सेवाग्राहीसँग काम सहज बनाइदिने बहानामा रकम माग्ने गरेको गुनासो पछिल्लो केही महिनादेखि चर्चामा थियो । वनसम्बन्धी काममा अनावश्यक झन्झट सिर्जना गरी रकम असुल्ने गरेको आरोपसमेत सेवाग्राहीबाट आउने गरेको छ । घुससहित वन अधिकृत पक्राउ परेपछि डिभिजन वन कार्यालय गाईघाटमा हुने सेवा प्रवाह र कर्मचारीको कार्यशैलीमाथि समेत प्रश्न उठेको छ । पक्राउ परेका पौडेलमाथिको आरोप बारे अख्तियारको विस्तृत अनुसन्धान र कानुनी प्रक्रियाबाट थप तथ्य खुल्ने जिल्ला प्रशासन कार्यालय उदयपुरको भनाइ छ ।




















