इटहरीः उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको इतिहासमा पहिलो पटक महिला नेतृत्व स्थापित भएको छ। शनिबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम आइतबार राति सार्वजनिक हुँदा स्वतन्त्र समूहकी उम्मेदवार गायत्री कटुवाल भण्डारी अध्यक्षमा निर्वाचित भएकी हुन्।
भण्डारीले ७५८ मत प्राप्त गर्दै कांग्रेस, एमाले, राप्रपालगायत राजनीतिक दलको समर्थन प्राप्त गरेका प्रतिस्पर्धी नवराज काफ्लेलाई १५ मतको अन्तरले पराजित गरिन्। काफ्लेले ७४३ मत प्राप्त गरेका थिए।
यस विजयसँगै भण्डारी उद्योग वाणिज्य संघ इटहरीको इतिहासमै अध्यक्ष बन्ने पहिलो महिला बनेकी छन्। उनी यसअघि संघकी पूर्व कोषाध्यक्ष तथा रेडिमेड व्यवसायी संघ इटहरीकी संस्थापक अध्यक्षका रूपमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरिसकेकी छन्।

निर्वाचन अभियानका क्रममा भण्डारीले उद्योग वाणिज्य संघलाई व्यवसायीहरूको साझा र स्वतन्त्र संस्था बनाउने, संघमा पारदर्शिता कायम गर्ने, महिला नेतृत्वलाई थप सशक्त बनाउने तथा व्यवसायीमैत्री सुधारका कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी थिइन्। मतदाताले पनि तिनै एजेन्डालाई विश्वास गर्दै उनलाई नेतृत्वको जिम्मेवारी दिएको विश्लेषण गरिएको छ।
यसपटकको निर्वाचनलाई उवासंघ इटहरीको नेतृत्व परिवर्तन मात्र नभई व्यवसायी राजनीतिमा आएको नयाँ संकेतका रूपमा पनि हेरिएको छ। लामो समयदेखि विभिन्न राजनीतिक दल र सीमित व्यवसायिक समूहको प्रभाव रहेको भन्ने चर्चा भइरहेका बेला स्वतन्त्र समूहको विजयले व्यवसायीहरूले दलगत प्रभावभन्दा संस्थागत सुधार र स्वतन्त्र नेतृत्वलाई प्राथमिकता दिएको सन्देश दिएको छ।
निर्वाचनको क्रममा भण्डारीलाई पराजित गर्न विभिन्न राजनीतिक शक्ति र समूह सक्रिय रहेको चर्चा भए पनि अन्ततः मतदाताले आफ्नो विवेक प्रयोग गर्दै स्वतन्त्र नेतृत्वको पक्षमा मतदान गरेको उनका समर्थकहरूको भनाइ छ।

वाणिज्य सदस्यतर्फ जीवनकुमार न्यौपाने सर्वाधिक ९८९ मतसहित निर्वाचित भए। उनीसँगै सञ्जीव खड्का (९८४), बलराम बस्नेत (९६०), सिनेट रिजाल (९५९), सञ्जय शाह (९५७), बलबहादुर न्यौपाने (९४३), सन्नी चौधरी (९१५), दिनेशप्रसाद धमला (९०८) र महेश थापा (८८३) निर्वाचित भए।
अन्य उम्मेदवारमध्ये दुर्गाप्रसाद थापा (५५८), निर्मला श्रेष्ठ (५१३), उषा सेढाई (सत्याल) (४८४) र हर्कबहादुर विक (४२३) मत प्राप्त गरे पनि निर्वाचित हुन सकेनन्।
महिला सदस्यतर्फ मीना आचार्य ढकाल ९५६ मत र सुमित्रा घिमिरे भट्टराई ६८१ मतसहित निर्वाचित भए। पुनम थापा मगरले ६१२ तथा लीलाकुमारी राईले ६१० मत प्राप्त गरे।
उद्योग सदस्यतर्फ अभिषेक बस्नेत (१४४), शिवप्रसाद भट्टराई ‘भूपाल’ (१३४), हरिप्रसाद तिम्सिना (१२१) र किसनकुमार खेडिया (१०१) निर्वाचित भए। सुरज आङ्देम्बेले ८० मत प्राप्त गरे।
निर्वाचन समितिका अनुसार उद्योग वाणिज्य संघ इटहरीमा कुल २ हजार ३६९ मतदाता रहेकामा १ हजार ५४३ मत खसेको थियो।
उवासंघ इटहरीको नयाँ नेतृत्वसँग अब व्यवसायीहरूले पारदर्शी, उत्तरदायी र व्यवसायीहितमै केन्द्रित संस्थागत नेतृत्वको अपेक्षा गरेका छन्। पहिलो महिला अध्यक्षका रूपमा निर्वाचित भण्डारीका लागि इतिहास निर्माणसँगै आफ्ना प्रतिबद्धतालाई व्यवहारमा उतार्ने चुनौती पनि उत्तिकै महत्वपूर्ण रहनेछ।




















