इटहरी । सुनसरीमा सीमाजन्य तस्करीमा केही कडाइ भए पनि भारतीय माछाको तस्करी भने अझै रोकिएको छैन। सरकारले आयातमा प्रतिबन्ध लगाएको मागुर लगायत विभिन्न प्रजातिका माछा अवैध रूपमा सुनसरी भित्र्याई जिल्लाका हाट-बजार तथा पहाडी जिल्लासम्म निरन्तर तस्करी भइरहेको छ ।
सरकारले सीमामा कडाइ गर्न सुरक्षा निकायलाई निर्देशन दिए पनि सुनसरीका दक्षिणी क्षेत्रबाट माछा तस्करी निरन्तर भइरहेको स्थानीयको भनाइ छ। अमरडुवा, सितागञ्ज, चिमडी, भण्टाबारी, लौकही र घुस्की क्षेत्र हुँदै राति तथा बिहानको समयमा भारतीय माछा सुनसरी भित्र्याइने गरिएको बताइन्छ।
सीमाबाट भित्रिएका अलवा माछा विराटनगरबाट विराटनगर–इटहरी सडकमार्ग प्रयोग गरी अक्सिजनयुक्त ट्यांकी राखिएका पिकअप गाडीमार्फत धरान तथा पहाडी जिल्लासम्म पुर्याइने गरिएको छ। जीवित माछासँगै माछाका भुरा समेत अवैध रूपमा ल्याइने गरिएको बताइन्छ। स्रोतका अनुसार विराटनगरबाट प्रवेश गर्ने यस्ता गाडीले चेकजाँचका क्रममा नक्कली भन्सार जाँचपासका कागजात प्रस्तुत गरेर सुरक्षा जाँच छल्ने गरेका छन्।
सुनसरी क्षेत्रमा भारतीय माछाको तस्करीमा विराटनगरका व्यवसायी दिलीप सहनी सक्रिय छन् ।
सुनसरीमा सानो परिमाणमा तस्करी गरेर माछा ल्याउने व्यापारीको हकमा मात्र माछा नियन्त्रणमा लिइने, तर सहनीको माछा परे छाडिने गरेको आरोप सुरक्षानिकायमाथि लाग्दै आएको छ।
स्रोतहरूका अनुसार हाल सुनसरीमा अन्य अधिकांश तस्करीका गतिविधि कमजोर बने पनि सहनीको लाईनको माछा तस्करी भने निर्बाध रूपमा सञ्चालन भइरहेको छ।
पछिल्लो समय तस्करी गरी भित्र्याइने माछाको ओसारपसारमार्फत लुकाइछिपाइ लागुऔषधसमेत भित्र्याउने गरेको भन्ने गम्भीर सूचना सुरक्षा निकायसम्म पुगेको स्रोतले जनाएको छ।
सुरक्षा निकायको दाबी– ‘कारबाही भइरहेको छ’
ठुलो परिमाणमा माछा तस्करी भइरहँदा सीमामा खटिएका सुरक्षा निकायको भूमिकामाथि प्रश्न उठ्न थालेको छ । तथापी सशस्त्र प्रहरी बलले नियमित रूपमा अवैध माछा नियन्त्रण गरिरहेको जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीका प्रमुख एसपी श्याम कार्कीका अनुसार मासिक ६ देखि ७ लाख रुपैयाँ बराबरका अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिँदै आएको छ।
“खुला सीमाको फाइदा उठाएर विदेशी माछा भित्र्याउने प्रयास भइरहे पनि नियन्त्रणका लागि हाम्रो प्रयास निरन्तर छ,” उनले भने, “सीमामा मात्र होइन, सुनसरीका हाटबजारबाट समेत अवैध रूपमा बिक्री भइरहेका माछा नियन्त्रण गरेका छौं। सीमावर्ती क्षेत्रमा हुने विवाह तथा अन्य सामाजिक कार्यक्रमका लागि भारतबाट माछा ल्याउने चलन छ। केही व्यक्तिले त्यसैको फाइदा उठाएर तस्करी गर्ने गरेको हामीले पाएका छौँ। बाँकी अवैध रूपमा भित्रिने माछा नियन्त्रणमा भने हामी स्पष्ट र सक्रिय छौँ,” एसपी कार्कीले भने।
उनले तस्करीसम्बन्धी सूचना उपलब्ध गराउन सर्वसाधारणलाई समेत आग्रह गरेका छन्।
यता सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जिल्लामा माछासहित अन्य तस्करीजन्य गतिविधि नियन्त्रणमा रहेको दाबी गरेका छन्। “सबै सुरक्षा निकायलाई तस्करी नियन्त्रणमा थप गम्भीर र सक्रिय हुन निर्देशन दिएका छौं,” उनले भने ।
उच्च नाफाले बढाएको तस्करी
माछा व्यवसायसँग सम्बन्धित स्रोतहरूका अनुसार भारतमा अधिकांश प्रजातिका माछा नेपालभन्दा निकै सस्तो मूल्यमा पाइन्छ। भारतमा प्रतिकेजी १२० देखि १३० रुपैयाँमा पाइने माछा नेपाल ल्याएर २७० देखि ३२० रुपैयाँसम्म थोक मूल्यमा बिक्री हुने गरेको छ। खुद्रा बजारमा त्यही माछा ३५० देखि ४०० रुपैयाँसम्म बिक्री हुने गरेको बताइन्छ।
पंकास प्रजातिको माछा भारतमा प्रतिकेजी करिब १५० रुपैयाँमा पाइने भए पनि सुनसरीमा ३२० रुपैयाँसम्ममा बिक्री हुने गरेको व्यवसायीहरू बताउँछन्। यस्तै भारतमा १६० रुपैयाँ प्रतिकेजी पाइने रहु माछा नेपाली बजारमा ३२५ देखि ३५० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। यही मूल्य अन्तरका कारण तस्करहरू आकर्षित हुने गरेका छन्। स्रोतहरूका अनुसार सुनसरी क्षेत्रमा दैनिक करिब २०० देखि ३०० केजीसम्म माछा अवैध रूपमा भित्रिने गरेको अनुमान छ।


















