इटहरी । सुनसरीस्थित बराहक्षेत्र नगरपालिका–१ को सत्र नम्बर झोलुङ्गे पुल क्षेत्रको कोशी नदी किनार, भौगोलिक रूपमा अत्यन्तै विकट र जोखिमपूर्ण मानिन्छ। सुनसरी र उदयपुर जिल्ला जोड्ने झोलुङ्गे पुलभन्दा तलको किनारी क्षेत्रमा रहेको ठाडो भिरालो भूभागमा वर्षायाममा बारम्बार पहिरो जाने गर्दछ। सामान्यतया वस्तु चराउन जानेबाहेक अन्य सर्वसाधारणका लागि त्यहाँ पुग्न निकै कठिन छ।

यही दुर्गम कोशी किनार क्षेत्रबाट राति तथा बिहानको समयमा गाँजा तस्करी हुने गरेको सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरको पीआईटी टोली इन्स्पेक्टर देवानन्द मिश्रको कमाण्डमा जिल्ला प्रहरी कार्यालय सुनसरीसहितको प्रहरी टोली त्यहाँ पुगेको थियो

सत्र नम्बर क्षेत्रदेखि करिब २ किलोमिटर वर रहेको बराहक्षेत्र मन्दिर जाने सडक पहिरोका कारण अवरुद्ध भएपछि कोशी नदीमार्फत ट्युबमा बाँस बाँधेर गाँजा ओसारपसार हुने प्रहरीसँग सूचना थियो। यही सूचनाका आधारमा कोशी नदीको किनारबाटै प्रहरीको संयुक्त टोलीले  गाँजा नियन्त्रणमा लिने ‘अप्रेशनल प्लान’ बनाएको थियो ।

उक्त प्लान अनुसार इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप जनशक्ति बोलाइ सोमबार आइतबार ११ बजेदेखि सत्र नम्बरस्थित पुल आसपासको कोशी किनार क्षेत्रको निगरानीमा प्रहरी खटिएको थियो ।

नभन्दै सोमबार बिहान करिब ३ बजेतिर ट्याक्टरको ट्युबमा हावा भरेर माथिबाट बाँसले बाँधिएको अवस्थामा ९ वटा प्लास्टिकका बोरामा राखिएको १६८ किलोग्राम गाँजा प्रहरीले बरामद गर्यो। तर ट्युबलाई लामो बाँसको सहायताले नदीमा बगाउँदै ल्याइरहेका तस्करहरू भने निकै टाढैबाट फरार भइसकेका थिए।

22222

प्रहरीले गाँजासहित तस्करहरूलाई समेत नियन्त्रणमा लिने योजना बनाएको भए पनि तस्करहरु कोशी किनारमा प्रहरी परिचालन भएको चाल पाएपछि फिल्मी शैलीमा कोशी नदीमै हाम फालेर भाग्न सफल भएका थिए।

“गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरूले प्रहरी परिचालन भएको थाहा पाउनासाथ गाँजा लोड गरिएको ट्युब नै छाडेर कोशी नदीमा हाम फाले,” इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर बिक्रमबहादुर भट्टराईले प्रदेश पोर्टलसँग भने, “त्यसपछि उनीहरूको खोजतलास गरिए पनि आसपास कतै फेला परेनन्।”

उनका अनुसार तस्करहरू पौडीकलामा निकै दक्ष हुन्छन्। “प्रहरीबाट बच्न उनीहरू कोशीको गहिरो पानीमुनि ४–५ मिनेटसम्म सास रोकेर बस्न सक्छन्,” भट्टराईले भने। “हेर्दाहेर्दै उनीहरू कोशी नदी पार गरेर अर्को किनारमा पुगिसकेका थिए।” इन्स्पेक्टर भट्टराईका अनुसार गाँजा बरामद भए पनि तस्करहरू पक्राउ नपर्नुको मुख्य कारण भौगोलिक विकटता हो। “यस पटक तस्करहरू उम्किन सफल भए, तर अब नयाँ रणनीति र योजनाका साथ हामी तस्करीमा संलग्न व्यक्तिहरूलाई रंगेहात पक्राउ गर्ने तयारीमा छौँ,” उनले बताए।

गाँजा तस्करीको रुट : कोशीको जल तथा सडक मार्ग

सुनसरीको बराहक्षेत्रमा पछिल्लो समय कोशी नदीमार्फत ट्युब तथा बाँसको सहायताले गाँजा व्यापक ओसारपसार हुने गर्दछ ।  नदीमार्फत ल्याइएको गाँजा रातिको समयमा सडक सञ्जाल प्रयोग गरी चतरा पुल हुँदै नहडा , चकरघट्टी, बक्लौरी, झुम्का र लौकहीसम्म पुर्‍याइने तथा त्यहाँबाट भारतीय सीमातर्फ तस्करी हुने गरेको छ।

सोमबार कोशी किनारबाट कोशी प्रदेश प्रहरी कार्यालयको पीआईटी टोलीले १६८ किलोग्राम गाँजा बरामद गरेपछि चतरादेखि बराहक्षेत्रसम्मको सुरक्षा जिम्मेवारी सम्हाल्ने इलाका प्रहरी कार्यालय चतरा (ख) को भूमिकामाथि ‘नैतिक प्रश्न’ उठेको छ । आफ्नो मातहत क्षेत्रभित्र हुने गाँजा तस्करी नियन्त्रणका लागि प्रदेश तथा जिल्लाबाट छुट्टै प्रहरी टोली परिचालन गरिनुले चतरास्थित प्रहरी कमाण्डमाथि शंका उत्पन्न भएको प्रहरी स्रोतको दाबी छ।

बारम्बार सोही रुटबाट अत्याधिक गाँजा भित्रिएको सूचना सार्वजनिक हुने गर्दछ । तर चतरा प्रहरीको भूमिकामाथि शंका गर्ने कैयौं आधारहरू भएको स्थानियहरुको दाबी छ । स्थानीयका अनुसार सोही रुट प्रयोग गरी गाँजा तस्करी हुने गरेको सूचना पटक–पटक सार्वजनिक हुँदै आए पनि नियन्त्रणका लागि प्रभावकारी कदम नदेखिएको गुनासो छ।

चतराका एक शिक्षकले नाम नखुलाउने सर्तमा भने, “हामीले राति र मध्य–बिहानको समयमा गाँजा ओसारपसार तथा लोड गरिँदै गरेका सवारीसाधनका तस्बिर र भिडियोहरू पटक–पटक सम्बन्धित निकायसम्म पुर्‍याएका थियौँ। तर त्यसअनुसार प्रभावकारी कारबाही भएको देखिएन।” उनका अनुसार रातिको समयमा चतरा पुलदेखि भण्डारीटार क्षेत्रसम्मको सडक खण्डमा गाँजा विभिन्न सवारीसाधनमा लोड गरिने गरेको छ। “यो विषय सुरक्षा निकायलाई जानकारी नभएको होइन,” उनले दाबी गर्दै भने, “तर अपेक्षाअनुसारको निगरानी र कारबाही हुन सकेको छैन।”

प्रत्यक्षदर्शी तथा केही स्थानीयवासीका अनुसार विगत तीन वर्षदेखि कोशी क्षेत्र हुँदै गाँजा तस्करी व्यापक रूपमा भइरहेको छ। उनीहरूका अनुसार कोशी नदीको जलमार्ग प्रयोग गरी धनकुटाको त्रिवेणी घाट क्षेत्रबाट धनकुटा जिल्लामा उत्पादन भएको अवैध गाँजा विभिन्न माध्यमबाट ओसारपसार हुँदै आएको छ। केही परिमाण उदयपुर हुँदै तस्करी हुने गरे पनि अधिकांश गाँजा सुनसरीको रुट प्रयोग गरी भारतीय सीमातर्फ पुर्‍याइने गरेको स्थानीयहरूको दाबी छ।

कोशी क्षेत्रको जलमार्ग प्रयोग गरी गाँजा तस्करी बढ्दै गएको स्वीकार गर्दै जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशव थेवेले यसको नियन्त्रणका लागि नयाँ रणनीति तयार भइरहेको बताए।

“पछिल्लो समय बाँस तथा अहिले ट्युब प्रयोग गरेर गाँजा तस्करी हुने गरेको देखिएको छ। यसको नियन्त्रणका लागि मातहतका प्रहरी युनिटहरूलाई थप सक्रिय बनाइएको छ,” एसपी थेवेले भने। उनका अनुसार नदी तथा स्थलमार्ग दुवै क्षेत्रमा निगरानी बढाउने, सूचना संकलनलाई प्रभावकारी बनाउने र तस्करीमा संलग्न व्यक्तिहरूमाथि लक्षित कारबाही गर्ने योजना अघि बढाइएको छ।