सुनसरी । इटहरीका म्यानपावर व्यवसायीहरूबीच सम्पन्न दोस्रो “सुब्बा कप” फुटसल प्रतियोगिताको उपाधि टिम एफ (मान बहादुर थापा) ले जितेको छ। शनिबार इटहरी–५ स्थित पाथिभरा फुटसलमा सम्पन्न फाइनल खेलमा टिम एफले दिपक काफ्लेको टिम डिलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि कब्जा गरेको हो। विजेता टिमका लागि बिमल थापा, पर्वत भण्डारी र सुवास तामाङले एक–एक गोल गरे भने उपविजेता टिमका रमेश बिष्टले दुवै गोल फर्काए।
उपाधिसँगै टिम एफले नगद ५० हजार रुपैयाँ र ट्रफी हात पार्यो। उपविजेता टिम डिले भने ३० हजार रुपैयाँ नगदसहित ट्रफीमा चित्त बुझायो। प्रतियोगितामा कुल ६ टिमको सहभागिता रहेको थियो। इटहरीस्थित सगुन ओभरसिज सर्भिसेस र सुनसरी मल्टिपल ट्रेनिङ सेन्टरको आयोजनामा भएको प्रतियोगितामा विजेता तथा उपविजेता टिमलाई इटहरी–४ का वडाध्यक्ष भक्त लामा र सुनसरी वैदेशिक रोजगार हकहित संघका अध्यक्ष चंखमान तामाङले पुरस्कार वितरण गरे।
आयोजक सगुन ओभरसिज सर्भिसेस इटहरी शाखाका प्रबन्धक बिरेन सुब्बाले ट्रफी तथा सम्मान प्रदान गर्दै प्रतियोगिता निरन्तर आयोजना गरिने बताए। म्यानपावर व्यवसायीहरूलाई खेलकुदमार्फत एकताबद्ध गर्ने उद्देश्यले सुरु गरिएको “सुब्बा कप” को यो दोस्रो संस्करण हो।





















