काठमाडौँः बङ्गालको खाडीमा विकसित हुँदै गरेको चक्रवातको असर नेपालमा पर्ने भएको छ । त्यहाँ शक्तिशाली न्यूनचापीय क्षेत्र थप बलियो हुँदै आउँदो सोमबार चक्रवातमा परिणत हुने नेपाल मौसम विज्ञान विभागले जनाएको छ । उक्त चक्रवातको प्रभावले कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा र हिमपातको सम्भावना औँल्याएको छ ।
यसले सम्भावित बाढी, पहिरो तथा हिमपातजन्य विपत् ल्याउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । उक्त मौसम प्रणालीको विभिन्न मौसमी मोडेलबाट निरन्तर अनुगमन गरिरहेको मौसमविद् डेबिड ढकालले जानकारी दिए । उनले भने, “कात्तिक ११ गते आंशिक प्रभाव पर्ने देखिएको छ, त्यसपछिका दिनका लागि अहिले पर्ख र हेरकै अवस्था हो ।” विभागका अनुसार चक्रवात बनेपछि पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्दै भारतको उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिसा तटबाट जमिनमा प्रवेश गर्ने सम्भावना रहेको छ ।
उक्त मौसम प्रणालीका कारण नेपालमा हुन सक्ने वर्षाको मात्रा, जोखिमको स्तर तथा सम्भावित असरबारे थप विश्लेषण भइरहेको विभागले जनाएको छ । सम्भावित प्रतिकूल मौसमका कारण कृषि तथा पर्यटन क्षेत्रमा असर पर्न सक्ने भएकाले सम्बन्धित सबैलाई सतर्क रहन अनुरोध गरिएको छ । वेबसाइट नचल्दा मौसमी पूर्वसूचना प्रवाहमा असर परेको छ । यस्तो अवस्थामा फेसबुक, म्यासेन्जरलगायतका माध्यमबाट मौसमी सूचना दिइरहेको विभागले जनाएको छ ।




















