उदयपुरः उदयपुरको कटारीस्थित एक होटलको कोठामा सँगै बसेका प्रेमी र प्रेमिकाबिच भएको विवादले युवकको ज्यान गएको छ भने एक युवती घाइते भएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाँईका अनुसार उदयपुरको कटारी बजारमा रहेको हिमगंगा होटलको कोठाभित्र सँगै बसेका प्रेमी (युवक)को कोठाभित्रै झुण्डिएर मृत्यु भएको हो भने प्रेमिका (युवती) को झुण्डिएकै अवस्थामा उद्वार गरिएको छ । 

सिन्धुलीको दुधौली नगरपालिका–११ घर भएका २८ वर्षीय युवक सिपिन कुमारको हिमगंगा होटलको कोठाभित्रै झुण्डिएको अवस्थामा मृत फेला परेका छन् भने युवती २८ वर्षीया सविना मगर घाइते अवस्थामा फेला परेकी छिन् ।

चापागाँईले भने, ुहिजो दिउँसो होटल प्रवेश गरेका उनीहरूबिच कोठाभित्रै विवाद भएपछि केटाले केटीकै सलको पासोले पंखामा झुण्डिएर आत्महत्या गरेछन् । अनि पछि त्यही सलले केटीले पनि आत्महत्याको प्रयास गर्दा होटलका अन्य मान्छेले थाहा पाएपछि प्रहरीलाई खवर गरेका थिए । झुण्डिएकै अवस्थामा युवतीको उद्वार गरी उपचारको लागि अस्पताल पठाएको र अहिले अस्पतालबाट डिस्चार्ज गरेर इलाका प्रहरी कार्यालय कटारीमा राखिएको छ ।ु

घटनापछि सविनाले मृतक सिपिन बचाउने प्रयास गरे पनि सफल हुन नसकेपछि उनी स्वयंले पनि सोही सल प्रयोग गरी आत्महत्या प्रयास गरेको प्रहरीको भनाइ छ ।कोठाबाट अस्वाभाविक आवाज आएपछि होटल सञ्चालकले ढोका खोलेर हेर्दा सविना अचेत अवस्थामा फेला परेकी थिइन् । त्यसपछि तत्काल प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरीले सिपिनको शव पोस्टमार्टमका लागि कटारी अस्पताल पठाएको छ । प्रारम्भिक बयान अनुसार मृतक सिपिनका दुई श्रीमती रहेको रहस्य खुलेको छ ।सविनाको पारिवारिक तथा व्यक्तिगत विवरणबारे थप अनुसन्धान भइरहेको र घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान तीव्र बनाइएको प्रहरी उपरीक्षक चापागाईले जानकारी दिए । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।