इटहरीः बिचौलिया व्यवसायी दीपक भट्टसँग सोझो कनेक्सनमा जोडिएका गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छासहितका व्यवसायीको बैंक डुब्नेदेखि अर्थतन्त्र ठप्प पार्नेसम्मको चेतावनीपछि व्यवसायीहरूमाथिको सम्पत्ति शुद्धीकरण अनुसन्धान फितलो बनाइएको खुलेको छ ।
इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल, जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाललगायतका व्यवसायीलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएपछि सम्पत्ति शुद्धीकरण विभाग र सीआईबीका उच्च अधिकारीलाई भेटेर व्यवसायीले बैंक डुब्ने र अर्थतन्त्र धराशायी हुने चेतावनी दिएको पाइएको हो ।
सम्पत्ति शुद्धीकरण अभियोगमा अनुसन्धानको घेरामा रहेका गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छासहितका उच्च घरानाका व्यवसायीले अनुसन्धानकर्तासमक्ष उपस्थित भएर व्यावसायिक घरानाको ठूलो लगानी मात्र होइन, बैंकको ऋणसमेत रहेको भन्दै धरपकड र पक्राउलाई आक्रामक बनाइए यी क्षेत्र डुब्ने भन्दै व्यवसायीमाथि धरपकड नगर्न दबाब बढाएको अनुसन्धान अधिकृतहरू बताउँछन् ।
गोल्छासहितका उद्योगी व्यवसायीको दबाबपछि सम्पत्ति शुद्धीकरण अभियोगमा पक्राउ परेका शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई हिरासतमुक्त गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरका अनुसार बयान सकिएका कारण शंकर ग्रुपका अध्यक्ष रिहा भएका हुन् ।
तर विभागका अनुसन्धान अधिकृतहरू भने गोल्छालगायतका उद्योगीले अर्थतन्त्र ठप्प हुने र बैंकहरु डुब्नसक्नेजस्ता त्रास देखाएर अनुसन्धानलाई प्रभावित गर्न थालेका छन् । यही प्रभावका कारण पक्राउ परेका व्यक्ति छुट्न थालेका हुन् ।
सुलभ अग्रवाललाई पनि सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति माग्दै प्रहरीले अदालत उपस्थित गराएको थियो । अदालतले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
अनुसन्धानलाई प्रभावमा पार्नेगरी दबाब दिएको विषयमा सम्पर्क गर्दा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा सम्पर्कमा आउन चाहेनन् ।
विभाग र सीआईबीले गोल्छाविरुद्ध पनि सम्पत्ति शुद्धीकरण र बिमा अपचलन अभियोगमा एकसाथ अनुसन्धान गरिरहेको छ । नेपाल बिमा प्राधिकरणले हिमालयन रि–इन्स्योरेन्स, नेपाल पुनर्बिमा कम्पनी, एलियन्ट रि–इन्स्योरेन्स ब्रोकर्ससहित विभिन्न कम्पनीलाई जेनजी आन्दोलनमा हिल्टन होटेल जलेको विषयमा भएको बिमामा अपचलन भएको भन्दै कारबाही गर्दै प्रतिकम्पनी २ लाख रुपैयाँका दरले जरिमाना गरेको थियो ।
यो प्रकरणमा गोल्छासमेतको संलग्नता प्रारम्भिक अनुसन्धानले देखाएको सीआईबीका अधिकारीहरू बताउँछन् । भट्टमाथि अनुसन्धान सुरु भएलगत्तै हिमालयन रि–इन्स्योरेन्सको अध्यक्षबाट गोल्छाले राजीनामा दिएका थिए ।
हिमालयन रि–इन्स्योरेन्ससँग सम्बन्धित निर्णय, लगानी संरचना र वित्तीय प्रवाहमा दीपक भट्टको संलग्नता देखिएसँगै गोल्छासँगको कारोबार र सम्बन्धका विषयमा अनुसन्धान सुरु भएको बताइएको छ ।
हिमालयन रि–इन्स्योरेन्सलाई नेपाल बिमा प्राधिकरणले कारबाही गरेपछि गोल्छाले अध्यक्ष पदबाट राजीनामा दिएका थिए । पुनर्बिमा क्षेत्रसँग जोडिएका केही निर्णयमा निजी स्वार्थ र प्रभाव समूहहरूको भूमिका रहेको आशंकामा अनुसन्धान भइरहेको सीआईबीको भनाइ छ ।
गोल्छाविरुद्ध यसअघि पनि मूल्य अभिवृद्धि कर ९भ्याट० छली अभियोगमा पटक पटक अर्थ मन्त्रालयले छानबिन गरेको थियो । २०६७ सालदेखि भ्याट छली अभियोग लाग्दै आएका गोल्छाले राजनीतिक पहुँचका आधारमा यो अभियोगबाट उन्मुक्ति पाउँदै आएका छन् । यो समाचार आजको राजधानी दैनिकबाट लिइएको हो ।




















