खोटाङः  खोटाङमा विद्यमान रहेका शान्ति, सुरक्षासम्बन्धी समस्या यथाशीघ्र समाधान गरिदिन माग गर्दै गृहमन्त्री सुधन गुरुङलाई ज्ञापनपत्र बुझाइएको छ । 

श्रम संस्कृति पार्टीका महासचिव समेत रहेका खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य आरेन राईले राईले सुक्रबार  सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर जिल्लाको शान्ति, सुरक्षासम्बन्धी समस्या तत्काल समाधान गरी आम नागरिकको डर त्रासमुक्त भएर बाँच पाउने अधिकार सुनिश्चित गरिदन आग्रह गर्दै गृहमन्त्री गुरुङलाई ज्ञापनपत्र बुझाएका हुन् ।

गृहमन्त्री गुरुङको कार्यकक्षमा पुगेर बुझाइएको ज्ञापनपत्रमा केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारमा सञ्चालित इलाका प्रहरी कार्यालय, छितापोखरी र भडाँरेघाटमा सञ्चालित अस्थायी प्रहरी चौकी भवन निर्माण गरिदिन माग गरिएको छ । 

जिल्लाका सबै अस्थायी प्रहरी चौकीलाई स्थायी गराउन तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका र केपिलासगढी गाउँपालिका–७ सुङ्देलमा स्थायी प्रहरी चौकी स्थापनाका लागि तत्काल पहल गरिदिन माग गरिएको सांसद राईले जानकारी दिए । 

जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी बजारमा सञ्चालित सशस्त्र प्रहरी बलको बेस क्याम्प हटाउने नेपाल सरकारको निर्णयसमेत रोक्न ज्ञापनपत्रमा अनुरोध गरिएको छ । चिसापानीमा सञ्चालित सशस्त्र प्रहरी बलको बेस क्याम्प हटाउने विषयमा अहिलेसम्म कुनै आधिकारिक जानकारी नआएको सशस्त्र प्रहरी बल नेपाल नं ७ गुल्म, हलेसीका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र न्यौपानेले जानकारी दिए ।

नागरिकलाई सबैभन्दा पहिले शान्ति, सुरक्षा प्रत्याभूति दिलाउन गृहमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाइएको सदस्य राईले बताए । “नागरिकले आफू सुरक्षित छु भन्ने महसुस गरेपछि मात्र अन्य विषयको अपेक्षा गरेका हुन्छन् । त्यसैले सबैभन्दा पहिले सुरक्षासँग सम्बन्धित समस्या समाधान गरिदिन गृहमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएको छु । उनले पनि सकारात्मक प्रतिक्रिया दिनुभएको छ”, उनले भने, “अब अरू विषयगत मन्त्रालय पुगेर जिल्लाका सबै समस्या राख्नेछु । पार्टीको नीतिअनुसार ज्ञापनपत्र बुझाउन सुरु गरेको छु । बाँकी मन्त्रालयमा चाँडै ज्ञापनपत्र बुझाउनेछु ।”

प्रधानमन्त्री वालेन्द्र शाहले यही चैत १६ गते सांसदहरूसँग राख्नुभएको छलफलमा श्रम संस्कृति पार्टीका कोही पनि सांसद सहभागी भएका थिएनन् । हर्कराज राई ‘हर्क साम्पाङ’ले नेतृत्व गरेको श्रम संस्कृति पार्टीबाट प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरी सात जना सदस्य निर्वाचित भएका छन् ।

पार्टीको नीतिअनुसार प्रधानमन्त्रीले बोलाउनुभएको सांसदको भेलामा आफूहरू नगएको महासचिव राईले जानकारी दिए । “पार्टीको नीतिअनुसार छुट्टाछुट्टै मन्त्रालय पुगेर ज्ञापन पत्रमार्फत जिल्लाको समस्या राख्छौँ । अरू सांसदले पनि मन्त्रालय पुगेरै आ–आफ्नो जिल्लाका समस्या राख्नेछन्”, उनले भने, “यो प्रक्रिया प्रभावकारी हुन्छ भन्ने हाम्रो पार्टीको ठहर छ । हामी जनताका समस्या समाधानका लागि गम्भीर भएर निरन्तर लागिरहन्छौँ ।”

इलाका प्रहरी कार्यालय बाक्सिला बजार तथा अस्थायी प्रहरी चौकीहरू छितापोखरी र भँडारेघाट जीर्ण भवनमा सञ्चालन हुँदै आएका छन् । दश स्थानीय तह रहेको जिल्लामा एउटा जिल्ला प्रहरी कार्यालय, चारवटा इलाका प्रहरी कार्यालय (क), दुईवटा इलाका प्रहरी कार्यालय ९ख०, १९ वटा स्थायी प्रहरीचौकी र १० वटा अस्थायी प्रहरी चौकी सञ्चालनमा छन् । रासस