इटहरी । सुनसरीको दुहबी नगरपालिकामा स्थानीय सरोकारका विषयमा जनप्रतिनिधि र सर्वसाधारणबीच प्रत्यक्ष संवाद कार्यक्रम सम्पन्न भएको छ। समृद्धि नेपाल संस्था सुनसरीको आयोजनामा सोमबार सम्पन्न कार्यक्रममा नगरका विभिन्न क्षेत्रसँग जोडिएका समस्याहरू खुला रूपमा उठाइएका छन्।

कार्यक्रममा दुहबी नगरपालिकाकी उपमेयर मेनुका पोखरेल खतिवडा, प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे, शिक्षा शाखा प्रमुख विकास घिमिरे तथा इलाका प्रहरी कार्यालय दुहबीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। विद्यार्थी, शिक्षक, सामाजिक अगुवा तथा स्थानीय बासिन्दाले नगरको कामकारबाहीबारे सीधा प्रश्न राख्दै जवाफ मागेका थिए।

संवादका क्रममा विशेष गरी शिक्षाको गुणस्तर, उद्योगजन्य वायु प्रदूषण नियन्त्रण, नगर अस्पतालको सेवा सुविधा, भौतिक पूर्वाधार विकास, साथै नगर र वडा कार्यालयमा हुने ढिलासुस्ती तथा सेवाग्राहीमाथिको व्यवहारबारे गम्भीर चासो व्यक्त गरिएको थियो।

उठेका प्रश्नहरूको जवाफ दिँदै उपमेयर तथा प्रमुख प्रशासकीय अधिकृतले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने, देखिएका कमजोरीहरू सुधार गर्ने र जनगुनासोलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाए। वायु प्रदूषण नियन्त्रणका लागि उद्योगहरूसँग समन्वय गरेर काम गर्ने पनि उनीहरूले बताएका छन्।

656938533_2428119060994354_3227022325148155552_nत्यस्तै, इलाका प्रहरी कार्यालय दुहबीका प्रतिनिधिहरूलाई समाजमा शान्ति सुरक्षा अझ सुदृढ बनाउन सक्रिय भूमिका खेल्न सहभागीहरूले सुझाव दिएका थिए।

कार्यक्रमका अध्यक्ष तथा आयोजक संस्था समृद्धि नेपाल सुनसरीका अध्यक्ष शेखर चौधरीले यस्ता संवाद कार्यक्रमलाई निरन्तरता दिँदै हरेक महिना आयोजना गर्ने योजना रहेको जानकारी दिए। उनले केवल गुनासो सुन्ने मात्र नभई व्यवहारमै सुधार देखिनुपर्नेमा जोड दिए।

कार्यक्रममा दुहबी जेसिज, विभिन्न विद्यालय तथा कलेजका विद्यार्थी, शिक्षक, सामाजिक अभियन्ता, क्लब प्रतिनिधि तथा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

656701913_2428118907661036_8549638996608877725_n