इटहरी । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले चोरीका सवारी साधन नियन्त्रण लिने विशेष अभियान सञ्चालनमा ल्याएको छ। भारतसहित देशका विभिन्न स्थानबाट चोरी भएका गाडीहरू कोशी प्रदेशमा ल्याएर सञ्चालन भइरहेको पाइएपछि कार्यालयले कडाइका साथ कारबाही प्रक्रिया अघि बढाएको हो। ट्राफिक प्रहरीले साधा पोशाकमा विशेष टोली परिचालन गरी यस्ता सवारी साधनको खोजतलास गरिरहेको छ। यसअघि यही टोलीले पाँचवटा बोलेरो गाडी नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाइसकेको छ।

आइतबार थप दुईवटा चोरीका सवारी साधन नियन्त्रणमा लिई सार्वजनिक गरिएको छ। ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी दीपक गिरीका अनुसार धरानबाट हुण्डाई कम्पनीको कार र इटहरी क्षेत्रबाट महिन्द्रा कम्पनीको बोलेरो गाडी नियन्त्रणमा लिइएको हो। 

नियन्त्रणमा लिइएका सवारी साधनको सम्बन्धित कम्पनीसँग सोधखोज गर्दा दुवै गाडीमा उल्लेख गरिएको इन्जिन नम्बर र चेसिस नम्बर मेल नखाएको एसपी गिरीले बताए। त्यस्तै, गाडीमा राखिएको नम्बर प्लेटको सम्बन्धमा यातायात कार्यालयसँग सोधखोज गर्दा समेत त्यहाँ दर्ता नभएको खुलेको छ।

यी गाडीहरूलाई सुनसरी भन्सार कार्यालय, सेतु बन्ध कोशी ब्यारेजमा बुझाइने एसपी गिरीले जानकारी दिए। एसपी गिरीले चोरीका सवारी साधन नियन्त्रणका लागि विशेष टोली परिचालन गरी काम भइरहेको बताउँदै चारपांग्रे सवारी साधन किनबेच गर्दा गाडीको सम्पूर्ण विवरण र अभिलेख राम्ररी जाँचबुझ गरेर मात्र खरिद गर्न आग्रह गरेका छन्।

ट्राफिक प्रहरीले धरान उपमहानगरपालिका वडा नम्बर १७ बाट बा ८च ९५१९ नम्बरको सिल्भर रङको हुण्डाई कम्पनीको कार र इटहरी उपमहानगरपालिका वडा नम्बर ५ बाट मे १च ३८४६ नम्बरको सेतो रङको महिन्द्रा कम्पनीको बोलेरो पौष ११ र १२ गते नियन्त्रणमा लिइएको थियो।