सुनसरी । इटहरी २० स्थित तरहरामा चोरी तस्करी गरी ल्याइएका ढुङ्गा स्टक गरी बिक्री गरिँदै आएको पाइएको छ । कोशी राजमार्ग अन्तर्गत तरहरा स्थित प्रभु पेट्रोल पम्प नजिक खाली जमिनमा मौजाद (स्टक) प्रमाणित नलिई लामो समयदेखि ढुङ्गा स्टक गरी बिक्री भइरहेको हो ।
तरहरा निवासी ओम खड्का र भीम खड्काले यो ‘धन्दा’ चलाइरहेका हुन । उनीहरूले धरानको सेउती जङ्गलबाट रातको समयमा चोरी तस्करी गरी ल्याइएका ढुङ्गा सडक छेउमा थुपारेर बिक्री गर्ने गरेका छन् । यसरी ढुङ्गा थुपार्न सम्बन्धित स्थानीय सरकारसँग स्टक प्रमाणित गर्नु पर्ने हुन्छ । तर खड्का समूहले स्टक प्रमाणित नै नगरी ‘अवैध’ तरिकाले यो धन्दा लामो समयदेखि चलाइरहेका छन् ।
हाल ढुङ्गा स्टक गरेर राखेको स्थानको मौजाद (स्टक) प्रमाणित उनीहरूले स्थानीय सरकार अर्थात् इटहरी उप-महानगरपालिकासँग लिएका छैनन् । केही महिना अघि इटहरी उप-महानगरपालिकामा खड्का विरुद्ध अवैध तरिकाले ढुङ्गा स्टक गरेको विषयमा उजुरी परेको थियो । उजुरी परेपछि उप-महानगरपालिकाको वातावरण शाखाको टोली स्थलगत अनुगमनमा पुगेको थियो । तर इटहरी २० का वडाध्यक्ष मणि श्रेष्ठले स्टक प्रमाणितका लागि प्रक्रियामा रहेको भन्दै वातावरण शाखाको टोलीलाई फर्काएका थिए । वडाध्यक्ष श्रेष्ठले खड्का समूहको यो अवैध धन्दालाई ढाकछोप गर्न खोजेको आरोप छ ।
अनुगमनमा गएका इटहरी उप-महानगरपालिकाका वन, वातावरण तथा विपत् व्यवस्थापन महाशाखाका प्रमुख पुष्प नारायण चौधारीले ओम खड्कालाई स्टक प्रमाणित गरेर तुरुन्त राजस्व तिर्न निर्देशन दिएका थिए । तर खड्का समूह त्यस समययता सम्पर्कमा नआएको उनको भनाई छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ र १२ अनुसार यसरी स्टक गर्न स्वीकृति पत्र, कुन स्थानमा कति परिमाण, कति समयको लागि भन्ने अनुमति अनिवार्य आवश्यक पर्छ । साथै स्टक गरिएको सामाग्री कानुनी रूपमा उत्खनन गरिएको प्रमाण, ठेक्का, बिल भौचर, रायल्टी रसिद आदी आवश्यक हुन्छ । त्यस्तै स्टकको लागि प्रारम्भिक/पूर्ण वातावरणीय प्रभाव मुल्याङकन अध्ययन आईइइ-ईआइए स्वीकृति लिनुपर्ने हुन्छ र प्रदेश वा स्थानीय सरकारलाई तोकेको कर बुझाउनु पर्ने हुन्छ । यदि अवैध तरिकाले स्टक गरेमा स्टक भएको सम्पूर्ण सामाग्री जफत गर्नुको साथै अवैध भण्डारण मुद्दा, वातावरणीय कसुर र आर्थिक जरिवाना हुने कानुनी प्रावधान छ ।
यद्धपी तरहराका ओम/भीम खड्का समूहले कुनै पनि कानुनी प्रक्रिया नटेरी यो धन्दा चलाइरहेका छन् । त्यसो त, इटहरी उप-महानगरपालिका अनुगमन गएर पनि कारबाही वा सामाग्री जफत नगर्नु शङ्काको रूपमा हेरिएको छ । स्मरण रहोस् दुवै खड्का काँग्रेस निकट हुन र वडाध्यक्षसँगै इटहरीका मेयरसँग अत्यन्त निकट छन् ।
हाल बजारमा प्रति ट्याक्टर ५ हजार र टिपर १३ हजार रुपैयाँमा ढुङ्गा बिक्री हुँदै आएको छ । खड्का समूहले आफ्नै ट्याक्टर मार्फतनै रातको समयमा सेउती लगायत अन्य खोलाबाट ढुङ्गा चोरी गरी राती नै तरहरामा स्टक गर्ने गर्छन् । र दिउसोको समयमा खुलेआम बिक्री गर्ने गरेका छन् । रातको समयमा ढुङ्गा तस्करी हुने गरेको विषय इटहरी प्रहरी र तरहरा सव डिभिजन वन कार्यालय जानकार भए पनि हालसम्म तस्करी भई आउने सवारी साधन नियन्त्रणमा लिएको रेकर्ड छैन ।तस्करीको विषयमा इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालले ढुङ्गा तस्करीको विषयमा आवश्यक अनुसन्धान गर्ने बताए । यस्तै तरहरा सव-डिभिजन वन कार्यालयका प्रमुख बिन्देश्वर साहले सेउती खोलाबाट ढुङ्गा तस्करी भएको विषयमा बुझ्ने प्रदेश पोर्टसँग बताए ।
यता ढुङ्गा कारोबार गर्ने मध्येका ओम खड्काले ढुङ्गाको स्टक प्रमाणित नगरेको स्विकारेका छन् । ‘हामीले स्टक प्रमाणितको लागी प्रक्रियामा गएका छौ’ खड्काले प्रदेश पोर्टलसँग भने ‘केही प्राविधिक कारण ढिला भएको मात्र हो ।’ सेउती क्षेत्रबाट चोरी तस्करी गरी ढुङ्गा ल्याएका भन्ने कुरा गलत भएको दाबी गदै खड्काले लेटाङ र केराबारीबाट बिल काटेर ढुङ्गा ल्याएको जिकिर गरे । तर बिल देखाउन आग्रह गर्दा उनी पन्छिएका थिए ।

















