इटहरीः निर्वाचन आचारसंंहिता विपरित एमालेका अध्यक्ष केपी शर्मा ओलीको मनोनयन दर्तामा सहभागी भएका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई निर्वाचन आयोगले बुधबार स्पष्टीकरण सोधेको छ। झापा जिल्ला निर्वाचन क्षेत्र नं ५ मा एमाले आध्यक्ष केपी ओलीको मनोनयन दर्तामा सहभागी भएपछि आयोग कानून अधिकृत मोहनराज जोशीले पत्र काटी मुख्यमन्त्री कार्कीसँग स्पष्टीकरण माग गरेका हुन् ।
आयोगका कानून अधिकृत जोशीले काटेको पत्रमा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारको मनोनयन प्रक्रियामा प्रदेश सरकारका मुख्यमन्त्री सहभागी हुनु निर्वाचन आचारसंहिताविपरीत रहेको औंल्याउँदै तीन दिनभित्र जवाफ पेस गर्न भनिएको छ ।

‘प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारको मनोनयन प्रक्रियामा प्रदेश सरकारका मुख्यमन्त्री सहभागी हुने कार्यले निर्वाचन आचारसंहिता, २०८२ को दफा ५ को खण्ड (क)को उल्लंघन हुने देखिएकोले अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचारमा लेखिएजस्तो मनोनयन कार्यक्रममा तपाईं सहभागी हुनु भएको हो वा होइन ? यस पत्र प्राप्त भएको तीन दिनभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न निर्णयानुसार अनुरोध छ,’ आयोगले भनेको छ।



















