सुनसरी । इटहरीस्थित पाथिभरा अटोलिङले बिक्री गरेको कार तीन वर्षसम्म पास नगरेको पाइएको छ । हुण्डाइ कम्पनीको २०२१ मोडलको सेन्ट्रो स्पोर्टज कार विराटनगरका भोला सुवेदीले २०७९ असोज १२ गते अटोलिङ मार्फत खरिद गरेका थिए । नगद २८ लाख ९० हजार रुपैयाँमा खरिद गरेका सुवेदीले हालसम्म गाडी सोरुमले पास नगर्दा अनावश्यक समस्या झेल्नु परेको बताए ।

गाडी खरिद गरेको एक महिनामै पास गर्ने सोरुम बिच सहमति भए पनि हालसम्म गाडी पास नगर्दा दुर्घटना बिमा दाबी गर्न मुस्किल भएको सुवेदीको भनाई छ । इलाका प्रहरी कार्यालय इटहरीमा २०८१ चैत्र ८ गते सोरुमका प्रतिनिधि र सुवेदीबिच तीन महिना भित्र गाडी पास गर्ने सहमति भएता पनि हालसम्म सोरुमका प्रतिनिधि र सोरुम सञ्चालन गाडी पास गर्न तर्फ गम्भीर नभएको सुवेदीको भनाई छ ।

सुवेदीले चलाएको बा ०१. ०२६ च ४५२२ को कारलाई केही दिन अघि दुर्घटना भएको थियो । दुर्घटनाको बिमा दाबी गर्न आफ्नो नाममा गाडी नभएपछि उनी सोरुम पुगेका थिए । तर सोरुम समेत बन्द भएपछि उनी झन् तनावमा परेका थिए । सोरुमका प्रतिनिधि मिलन खड्का र सञ्चालक भीम पौडेललाई पटक पटक सम्पर्क गर्दा दुवैले अल्झाउने बाहेक केही नगरेको सुवेदीको आरोप छ ।  ‘गाडी आफ्नो नाममा नहुँदा समस्या भइरहेको छ’ सुवेदीले प्रदेश पोर्टलसँग भने ‘बिमा दाबी नहुँदा दुर्घटना भएकै गाडी चलाएर हिँड्न बाध्य छु ।’ 

यता पाथिभरा अटोलिङका प्रतिनिधि मिलन खड्काका अनुसार हाल सोरुम बन्द भएको बताउँदै सोरुम सञ्चालकले बैङ्कमा पैसा डिपोजिट गरेर गाडी पास गर्ने जानकारी दिए ।  ‘म कर्मचारी मात्र हुँ, सञ्चालक भीम पौडेल समक्ष यो विषय पुगेको छ’ खड्काले भने ‘चाडै वहाँको समस्याको समाधान हुन्छ ।’ सुवेदीले भने हाल इलाका प्रहरी कार्यालय इटहरीमा पूनं कर तिरेको पैसा फिर्ता गर्न र सोरुमलाई कानुनी कारबाहीको मागसहित निवेदन दिएका छन् ।