इटहरीः धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (हर्क साम्पाङ) र वडा नं १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) ले पदबाट राजीनामा दिएका छन् ।
मेयर साम्पाङले आइतवार साँझ धरान उपमहानगरपालिकाको कार्यालयमा पुगेर उपमेयर आइन्द्रविक्रम बेघालाई राजीनामा बुझाएका हुन् । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा श्रम संस्कृति पार्टीबाट सुनसरी क्षेत्र नं १ बाट उम्मेदवारी दिने निश्चित भएसँगै उनले पदबाट राजीनामा दिएका हुन् । साम्पाङको राजीनामा उपमेयर बेघाले तत्कालै स्वीकृत गरेका छन् ।
यस्तै, धरान–१७ का वडाध्यक्ष भट्टराईले पनि उपमेयर बेघालाई राजीनामा बुझाएका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट उम्मेदवारी दिन उनले वडाध्यक्ष पद छाडेका हुन् । भट्टराईलाई प्रचण्ड नेतृत्वको नेकपाले सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको टिकट दिएको छ ।
दुवै जनाको राजीनामासँगै सुनसरी क्षेत्र नं १ मा रोचक राजनीतिक प्रतिस्पर्धाको वातावरण बनेको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङ र नेकपाका उम्मेदवार भट्टराईसँगै अन्य राजनीतिक दलहरूबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने लगभग निश्चित भएको छ ।
०७९ साल वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा साम्पाङ स्वतन्त्रबाट उम्मेदवारी दिएर मेयर बनेका थिए । भट्टराई भने नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । यो खबर आजको राजधानी दैनिकबाट लिइएको हो ।




















