भोजपुरः उत्पादित अलैंचीले राम्रो मूल्य पाउन थालेपछि भोजपुरका किसान उत्साहित भएका छन् । यस वर्ष अलैंची प्रतिमन(४० किलोग्राम) ९८ हजारसम्ममा कारोबार भइरहेको टेम्केमैयुङ–५ चोलन्तीका कृषक चक्रबहादुर विष्टले जानकारी दिए ।

केही वर्षयता अलैंचीले निरन्तर राम्रो मूल्य पाउँदै आएकोले किसान खेती विस्तारमा झन् सक्रिय बनेको उनको भनाइ छ । यस वर्ष आफूले करिब साढे सात मन अलैंची उत्पादन गरेको उनले बताए ।

टेम्केमैयुङ–५ चोलन्ती अलैंचीको राम्रो उत्पादन हुने क्षेत्रको रूपमा परिचित छ । यहाँका करिब ८०–९० घरधुरीले व्यावसायिक रूपमा अलैंची खेती गर्दै आएका छन् । विगतको वर्षका तुलनामा यो क्षेत्रमा अलैंचीको उत्पादनमासमेत बृद्धि भएको अलैंची व्यावसायी महासंघक भोजपुरका अध्यक्ष राजेश विष्टले बताए । मुल्य बढेसँगै किसानहरु खेती विस्तारमा जुटेको उनले जानकारी दिए ।

‘समग्र अलैंची उत्पादन केही घटेपनि यो क्षेत्रमा भने गत वर्षको तुलनामा उत्पादन बढेको देखिन्छ,’अध्यक्ष विष्टले भने,‘रोग–किराको समस्या केही देखिए पनि किसानको उत्साह कम भएको छैन । मूल्य बढेकै कारण खेती विस्तार गर्नेतर्फ सबैजना लागेको अवस्था छ ।’

कृषि ज्ञान केन्द्र भोजपुरले जिल्लामा अहिले करिब पाँच सय ९७ हेक्टर क्षेत्रमा अलैंची खेती भइरहेको जनाएको छ । यहाँ प्रायः रामशाही, गोलशाही, डम्वरशाही र जिर्मले जातका अलैंचीको खेती हुने गरेको केन्द्रले जनाएको छ ।

जिल्लाको चोलन्ती, दोभाने, कुदाकाउले, साम्पाङ्ग, अन्नपूर्ण, चम्पे, खावा, छिनामखु, किमालुङ, वासिङथर्पु, तिम्मा, हेलौछा, गुप्तेश्वरलगायत स्थानमा अलैंची खेती बढी हुने गरेको छ । यी क्षेत्रका किसानले उत्पादन, भण्डारण तथा बजार व्यवस्थापनमा अनुभव बटुलेका कारण अलैंची प्रमुख नगदेबालीको रूपमा स्थापित हुँदै गएको छ ।

अलैंचीले राम्रो मूल्य पाएका कारण गाउँघरमा आर्थिक गतिविधिसमेत बढेको छ । परिवारको खर्च, स्वास्थ्य उपचार, छोराछोरीको पढाइ तथा अन्य आवश्यकता पूरा गर्न अलैंची मुख्य आधार बनेको स्थानीय किसानहरू बताउँछन् ।

मूल्य बढेपनि अलैंची खेतीमा रोग–किरा, हावापानीको अनियमितता, बजार मूल्यमा हुने उतारचढावलगायतको समस्या भने कायम रहेको किसानको गुनासो छ ।

कृषि ज्ञान केन्द्रका अनुसार रोग रोकथाम, प्रविधिमैत्री खेती, गुणस्तर सुधार र किसानको क्षमतावृद्धिका लागि तालिम तथा सचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन भइरहेका छन् ।यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।